एउटा कथा I

कुनै एउटा गाउँमा एकजना किसान गाईभैंसीको दुध बेचेर जीवन निर्वाह गर्ने गर्थ्यो । उसले दुधमा पानी नमिसाई जस्ताको त्यस्तै बेच्ने भएकोले प्राय शहर तिरको सबै जसोले उसलाई मनपराउँथे र उसै संग दुध लिने गर्थे । एक दिन उसको गाईभैंसीले दुध कम दिएछ ।

सबैलाई पुर्याउन अप्ठ्यारो भएकोले होस् न त भनेर उसले त्यो दिन दुधमा पानी मिसाएर लगेछ ! सबैले विश्वास गर्ने भएकोले ग्राहक कसैले पत्तै पाएनन् । त्यो देखेर उसको मनमा कसो कसो पाप पलाएछ र भोलिपल्ट देखि पानी मिसाएर लाने गरेछ ।

बचेको दुधमा पनि फेरी पानी मिसाएर बेच्न थाल्यो । महिना मरेपछि सबै घरबाट पैसा उठाएर उ हरेक दिन जस्तै गाउँ पस्ने खोलाको किनारमा एक छिन आराम गर्न बस्यो र झोलाबाट सबै पैसा निकालेर गन्यो । उसको आम्दानी दोब्बर भएको रहेछ । मनमनै खुसि हुँदै अब संधै यसै गर्ने बिचार गर्यो र पैसाको बिटो झोलामा हालेर त्यहि किनारको घाँसमा पल्टियो ।

एकछिन मै भुसुक्क निंदाएछ । निन्द्रा खुलेपछि घर जान हिंड्दा संगै राखेको झोला पाएन । आत्तिएर चारैतिर हेर्दा छेवैको ठुलो रूखको टुप्पोमा एउटा बाँदरले झोला खोतल्दै गरेको देख्यो । बाँदरले खानेकुराको खोजीमा झोलाबाट एउटा एउटा नोट निकाल्दै फाल्दै गर्न थाल्यो । उ आत्तिएर बाँदर धपाउन बिर्सेर झरेको नोट बटुल्न थाल्यो ।

कतिपय नोट बगरमा खस्यो भने कतिपय हावाले उडाएर खोलाको भेलले बगाएछ ! सबै नोट फालेर पनि आफुले खोजेको खानेकुरा केहि नपाएपछी बाँदर झोला फालेर अर्को रुख तिर लाग्यो । यता बगरमा परेको जत्ति सबै नोट बटुलेर गन्दा आधा जति नोट खोलाले बगाएको उसले थाहा पायो ।

टाउको समातेर थुचुक्क बस्यो र भन्यो "हे भगवान । मैले पानीबाट कमाएको पैसा सबै पानी मै गएछ । तिमीले मलाइ सिकाएको यो पाठ अब म जिन्दगीभर बिर्सने छैन ।" त्यसदिन देखि उसले फेरी दुधमा पानी मिसाउन छोड्यो । यसरि लोभले लाभ, लाभले बिलाप । हामीपनि यो कथाबाट केहि सिक्ने हो कि ? 

सुनिल अधिकारि 
काठमान्डू  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com