"श्रावण"
फेरी आयौ है! श्रावण
झम झम झरी दर्काएर
डाँडा पाखाको यौवन फर्काएर
प्रकृतिको सौन्दर्य लर्काएर आयौ अरे
फेरी आयौ है!श्रावण
दीदी बहिनीका नारि भरी भरी
हरिया राता चुरा बजाउदै आयौ
हत्केला भरी भरी मेहन्दी लगाउँदै आयौ
यसरी नै आयौ अरे श्रावण
मेरो गाँउघरमा
मेरो देशमा
चेलीलाई मायालुको आयु र माया लिएर आयौ अरे
महिनौ सम्म त्यों माया बाड़ी रहन्छौ रे
तिम्रा छाती बाट बर्षेका एक एक थोपा बक्षेताले
हरेक चेलीको मन निथ्रुक पार्छौ होला हगी?
दूर देशको भेड़ी गोठमा यस्तै सोची रहेकी छूl
हो,श्रावण……
तिम्रो आगमनले सबै चेलीहरु कति सजिएका होलान
घरी घरी त यो भारी तन यतै बिसाएर
मेरो गाँउ घरको ख़ुशी चिहाउन पुगेको हुन्छु
किन की……
म संग नाडी छ
छमछम बज्ने चुरा छैन
हत्केला छ
रंग भर्दै उनको नाउ लेख्ने मेहन्दी छैन
झरी त यहाँ पनि दर्किरहेछ
तर उनी सँगको रुझाई छैन
तथापी झीनो आश छ,श्रावण………
तिम्रो आशिस मेरो मायालाई छ
उनको आयुलाई छ
म त्यही बिस्वाशमा छू
किन की,
उनको नाउ मुटुमा कोरेकी छू
जूनी जूनी सम्मलाई ……
होइन भने हेर न………
आज तिम्रो आगमन थाहै थिएन तर ………
कसरी-कसरी?
कलमले हत्केलामा कोरेछु ……
त्यही कोराई भित्र नियाले जब …………
उनकै नाउ लेखिएछ
हो,उनकै नाउ लेखिएछ………
फेरी आयौ है!श्रावण
झम झम झरी दर्काएर
डाँडा पाखाको यौवन फर्काएर
प्रकृतिको सौन्दर्य लर्काएर आयौ अरे
फेरी आयौ है!श्रावण
कल्पना राई"ख़ुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया