कविता, "म आगोको लप्का हुँँइेन" By, आचार्य प्रभा


कविता, "म आगोको लप्का हुँँइेन" By, आचार्य प्रभा

आगोको लप्का हुन चाहन्नँ
जता हुरिले हुत्त्यायो उतै हुर्रिएर
सबै सबै जलाएर भष्म बनाउने
त्यसैले......
न,म आगोको लप्का बन्न चाहन्छु,
न'त हुर्हुरी बल्ने ज्वाला नै
बस् म'त आगोको त्यो
भुङ्रो हुन चाहन्छु,
जहाँ फलाम जस्ता कठोर धातुपनि
पगालेर आकार बदल्न सक्ने।
भो....... मलाई कोमल बनाउन
शिफारिस चढाउन पर्दैन
म,कोमलताबाट फुत्किएर
पत्थर कोइेला बनिसकेकी छु
जस्को रूप र तापले
आफ्नै आकार बद्लिइेसकेकी छु
यसो हुन,यसो गर्न
समयले वाध्य तुल्यायो
किनकी....,
म पनि मान्छे थिएँ
कोमलताको पूजारी नै
तर नियतिले मलाई
बत्ती वरिपरि उज्यालोको  लालचमा
झुम्मिने पुतली बनायो
र ...........,
डढायो मेरा कोमल भावहरु ।
म जान्दछु,
सत्य र असत्यको
लक्ष्मण रेखा छुट्ट्याउन,
तर...म जान्दिन
किर्ते बद्ख्वाइें गर्न,
देखेको कुरा संप्रेषण गर्न
अनि...,
लागेको कुराको
प्रश्न उठाउन म हर्दम
तम्तयार छु,
न,म सत्यको बिरोधी हुँँ
न,म असत्यको पक्षधर
म एक प्रश्नकर्ता
जहाँ उत्तरका अभावमा
अल्मलिएका छन् प्रश्नहरु 
हो...,
त्यस्तै अनुत्तरित प्रश्नकर्ताको
केवल संभावक मात्र म ।
बिन्ती!!!!!
नसोंच्नु मेरा पाइेलाहरु
लड्खडाए भनि,
नठान्नु मेरो सोंच डग्मगायो भनि
मनन गर्न सक्छु म'पनि
भावनाका संवेगहरु
सक्छु छुट्ट्याउन म'पनि
नैतिकता र अनैतिकताका
बिभेदहरु,
त्यसैले.......
मेरो याचना यति मात्र
नठान्नु मलाई आगोको लप्का
हावाले नचाउँदैमा
भयानकरुपले सब सखाप गर्ने
बुझ्नु मलाई अब यसरी
म आगोको भुङ्रो भनि
सक्छौ मसँग मिल्न
स्वच्छ र कंचन पानी बनेर
मेरा अनुत्तरित प्रश्नहरुलाई
उत्तरका मीठा अमृतको
बर्षा गरी ........./

रचना- १०- जुलाइे- २०१४  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com