बेलायतको ३ विश्वविद्यालय र ५७ निजी क्याम्पसमा विदेशी भर्ना बन्‍देज I

लन्डन आषाढ १२,

बेलायतका तीनवटा विश्वविद्यालय र ५७ निजी क्याम्पसले नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रायोजन (स्पन्सर) गर्न नपाउने भएका छन्। विदेशी विद्यार्थीका लागि आवश्यक अंग्रेजी भाषा परीक्षाको नक्कली प्रमाणपत्र स्वीकार गरेकोमा ती क्याम्पसलाई निलम्बन गरिएको जानकारी बेलायतका अध्यागमनमन्त्री जेम्स ब्रोकेनसायरले दिएका छन्। 

उनले मंगलबार हाउस अफ कमन्समा सम्बोधनका क्रममा विद्यार्थीको प्रवेशाज्ञा बढाउन अवैध गतिविधि भइरहेकोमा चिन्ता प्रकट गर्दै क्याम्पसहरूमाथि कडा कारबाही गरिने बताए। ५० हजारभन्दा बढी विद्यार्थीले बुझाएको अंग्रेजी भाषासम्बन्धी प्रमाणपत्र शंकास्पद रहेको उनले जानकारी दिए। 

हाउस अफ कमन्समा बुझाइएको वक्तव्यमा भनिएको छ, 'प्रवेशाज्ञाका लागि विद्यार्थीले पेस गरेको अवैध प्रमाणपत्रबारे गहन रूपमा छानबिन भइरहेको छ।' गत फेब्रुअरी महिनामा बीबीसी पनोरामाले एजुकेसनल टेस्टिङ सर्भिस (ईटीएस) बाट नक्कली प्रमाणपत्र उपलब्ध गराउने अपराधबारे खुलासा गरेपछि बेलायतले यस विषयमा गम्भीर भई छानबिन गरेको हो। 

मन्त्री जेम्स ब्रोकेनसायरले भने, 'छानबिनका क्रममा २९ हजार प्रमाणपत्र अवैध र १९ हजार शंकास्पद भएको पाइएको छ। नक्कली प्रमाणपत्र बुझाउने संख्या अझ उच्च हुनसक्ने अनुमान छ। यो एक गम्भीर अपराध हो।' उनले नर्थ वेल्सस्थित ग्लाइन्डर युनिभर्सिटी पनि निलम्बनमा परेको जानकारी दिए। निकै लोकप्रिय यस युनिभर्सिटीले युरोपेली संघबाहिरका विद्यार्थीहरूको प्रवेशाज्ञाका लागि स्पन्सर गर्ने गर्दछ। यहाँ पढ्ने करिब दुई सय ३० विद्यार्थीलाई ईटीएसले उपलब्ध गराएको अंग्रेजी प्रमाणपत्र अवैध भएको पाइयो। 

अझ बढी विद्यार्थीको प्रमाणपत्र शंकास्पद हुनाले अवैध संख्या साढे तीन सय नाघ्ने अनुमान छ। यस्तै गरी बेडफोर्डसायर र वेस्ट लन्डन युनिभर्सिटीलाई पनि नयाँ विद्यार्थी स्पन्सर नगर्न निर्देशन दिइएको छ। अध्यागमन मन्त्री जेम्स ब्रोकेनसायरले भनेका छन्, 'हामीले ५७ निजी क्याम्पसको विदेशी विद्यार्थी भर्ना गर्ने लाइसेन्स निलम्बन गरेका छौं।' आधिकारिक सूचीअनुसार यसमा लन्डन स्कुल अफ बिजनेस एन्ड फाइनान्सजस्तो प्रतिष्ठित क्याम्पसको पनि नाम छ। 

ग्लाइन्डरका प्रवक्ताले भने, 'स्पन्सर गर्ने लाइसेन्स निलम्बन भएकोमा हामी निकै दु:खी छौं, तर हामी यसको छानबिनमा अध्यागमन विभागलाई पूरा सहयोग गर्नेछौं।' बेलायतका यी क्याम्पसमा हजारौं नेपाली पनि अध्ययनरत छन्। यसबाहेक नियम मिचेर धेरै काम गर्ने विद्यार्थीबारे पनि छानबिन भइरहेको छ। बेलायतमा विदेशी विद्यार्थीले सातामा २० घन्टाभन्दा बढी समय काम गर्न नपाउने नियम भए पनि वर्षमा २० हजार पाउन्डभन्दा बढी कमाइरहेको बताइएको छ। -एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com