पहिरोले स्वास्थ्य चौकी बग्दा बालबालिका खोपलिन बाट बन्चित I

बाजुराजेष्ठ २९,

जिल्लाकोे पूर्वीत्तर ११ गाविसका चार हजारभन्दा बढी बालबालिकाले जेठ महिनामा पाउनुपर्ने खोप सेवाबाट वञ्चित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराबाट सम्पूर्ण गाविसका लागि पठाएको खोप (भ्याक्सिन) कोल्टी प्राथमिक केन्द्रमा राखिएको थियो । 

जेठ २४ गते परेका पानीले स्वास्थ्य केन्द्र पूर्णरुपले क्षति हुँदा त्यहाँ रहेका औषधि बगेकोे हो । यस क्षेत्रका बिच्छ्याँ, रुगिन, बाँधु, जगन्नाथ, गोत्री, वाई, जुकोट, साप्पाटा, कोल्टी, कोटिला, पाण्डुसैन, गाविसका बालबालिका प्रत्यक्ष रुपमा खोप सेवाबाट वञ्चित हुनुका साथै अन्य बिरामीले पाउने औषधिसमेत जान नपाउँदै पहिरोले बगाएको थियो । सरकारले पाँच वर्षमुनिका बालबालिका अनिवार्य रुपमा नियमित खोप लगाउनुपर्ने मापदण्ड बनाएको छ । 

समयमा खोप नपाउने हो भने त्यसपछिको समयमा खोप लगाउन नमिल्ने हुन्छ । यस उमेरका बालबालिकालाई डिपिटी, बिसिजी, पोलियो, दादुरालगायतका खोप र भिटामिन खुुवाउनुपर्ने थियो तर सबै खोप बगाएको केन्द्रकी अनमी देउमा धामीले बताउनुभयो । भौगोलिक रुपले जिल्लाको सदरमुकामबाट ४० कोष टाढा छ । “कोल्टीसम्म आउनसमेत तीन दिन लाग्छ । इन्चार्ज साबले औषधि बोकेर ल्याउनु भनेर पठाएका हुन् । आफँै पनि धन्न बाँचियो । अब मैले औषधि माग्न आउनेलाई के भन्ने”–बिच्छ्याँ स्वास्थ्यचौकीका कार्यालय सहयोगी जगत थापाले पीडा सुनाए । 

जिल्ला स्वास्थ्य कार्यालय बाजुराले वितरण गर्ने त्यस क्षेत्रका सबै स्वास्थ्य संस्थाको औषधि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट वितरण गर्ने गरिएको थियो । त्यहाँ भएको अरू गाविसको औषधिसमेत पहिरोले बगाएको छ । गर्मीका कारण बिरामीको सङ्ख्या बढेको छ । हामीले औषधि कसरी पाउने आपत्कालीन व्यवस्था गरिनुपर्छ । नत्र अर्को विकल्प नभए हामीलाई गाह्रो हुने भयो । जगन्नाथ स्वास्थ्य चौकीका इन्चार्ज पारश शाहीले जानकारी दिए । 

दुई वर्षअघिको बाढीपहिरोले समेत प्राथमिक स्वास्थ्य केन्द्रमा क्षति गराएको थियो । त्यसको पुनः स्थापन गर्न नसक्दा तीन महिनासम्म बालबालिकाले खोप सेवाबाट वञ्चित हुनु परेको थियो । यस वर्षमा समेत कति समय लाग्ने हो पत्तो छैन जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले बताए । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रवक्ता रामचन्द्र यादव भन्छन् –“अहिले स्वास्थ्य केन्द्र पूर्ण रुपमा क्षति भएको छ । 

मन्त्रालयले समयमा सोचिदिने हो र व्यवस्था गर्नका लागि बजेटको विकल्प बनाएका एक महिनाभित्र खोप सेवा सुरु हुनेछ । नत्र समय लाग्ने छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्र अरू कुनै ठाउँमा सञ्चालन गर्ने ठाउँ नभएकाले कोल्टीमा रहेका नागरिक उड्डयन प्राधिकरणको क्वार्टरमा सञ्चालन गरेका छौँ । हामीलाई पनि गाह्रो छ बिरामीलाई गाह्रो भएको छ ।” रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com