नेपालगन्ज आषाढ ३,
नेपाल परिवार नियोजन सङ्घ, परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवाको अभियानमा बाँके जिल्लाका किशोरकिशोरीको सहभागिता बढेको छ ।
प्रजनन स्वास्थ्यमा किशोरकिशोरीको अधिकारलाई संरक्षण गर्नुका साथै सो विषयमा उनीहरुलाई शिक्षित गर्न सकिएमा यौन तथा प्रजनन स्वास्थ्यमा अहिले देखिएको जटिलता कम गर्न सकिने उद्देश्यका साथ नेपाल परिवार नियोजन सङ्घ, बाँकेले किशोरकिशोरीको सहभागितालाई प्राथमिकतामा राखेपछि उनीहरुको सङ्ख्या बढेको हो ।
विगतमा जिल्लाको जनसङ्ख्या वृद्धिदर ३.१६ बाट २.४५ मा झार्नमा परिवार नियोजन तथा प्रजनन स्वास्थ्य अभियानमा किशोरकिशोरीको सहभागिताले निकै अर्थ राखेको छ भने महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा पनि क्रमिक प्रगति भएको सङ्घको तथ्याङ्कले देखाएको छ । मुस्लिम समुदायको ठूलो जनसङ्ख्या रहेको जिल्लामा परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवा सो समुदायमा सहज बनाउन चुनौती देखिएको अवस्थामा सङ्घले मुिस्लम समुदायका किशोरकिशोरीलाई समेत अभियानमा समेट्ने रणनीति तय गरेको सङ्घका प्रमुख अनिल बस्नेतले बताए ।
मुस्लिम धर्मले परिवार नियोजनको विषयलाई मान्यता नदिएकाले यौन तथा प्रजनन स्वास्थ्य र त्यससँग अन्तरसम्बन्ध गाँसिएको परिवार नियोजनका सकारात्मक पक्षमा सो समुदायलाई परामर्श दिन मुस्लिम किशोरीलाई अभियानमा सहभागी गराइएको हो ।
तथ्याङ्कअनुसार गत वर्ष सङ्घबाट सुरक्षित गर्भपतन सेवा लिनेमा १५ देखि १९ वर्षका १२ जना किशोरी उमेर समूह भएकाले पनि यौन तथा प्रजनन स्वास्थ्यका विषयमा किशोरकिशोरीको व्यापक सहभागिता बढाउनुपर्ने आवश्यकता देखिएको हो । अभियानमा करिब १७५ किशोरकिशोरीको सहभागिता रहेको छ भने २० देखि २४ वर्षका युवाहरुको सहभागिता पनि सोही हाराहारीमा रहेको बताइएको छ । रासस: