खुद्रा पसल जस्तै प्राथमिक स्वास्थ्य केन्द्र I

बाजुराआषाढ १६,

पहिरोपछि विस्थापित भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीको भवन अझै सञ्चालन गर्न नसकिएपछि एकै कोठामा खुद्रा पसल सञ्चालन गरेजस्तो गरी सञ्चालन गर्नुपर्ने बाध्यता आएको छ । 

कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र गत जेठ २४ गते पहिरोले पुरिएपछि गाविसको कार्यालयमा सञ्चालन भइरहेको स्वास्थ्य केन्द्रमा सबै सेवा एकै कोठामा दिनुपर्दा निकै मुस्किल भएको छ । प्रसूति, पखालाका बिरामी र अन्य बिरामीको उपचार र स्वास्थ्यसेवा एकै कोठामा दिनुपर्दा निकै असहज र गोप्य अङ्गको जाँच गर्न झन् समस्या भएको अनमी देउमा धामीले बताए । 

निमित्त क्षेत्रीय निर्देशक परशुराम श्रेष्ठले कोल्टीको प्राथमिक स्वास्थ्य केन्द्रको भवन भएको ठाउँ सुरक्षित नभएको रिपोर्ट प्राविधिकहरुले दिएकाले अब अर्को ठाउँमा जग्गा खोज्नुको विकल्प नभएको बताए । पहिरोबाट कोल्टीमा रु आठ करोड ११ लाख ९५ हजारभन्दा बढीको क्षति भएको विवरण सङ्कलन भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता हिक्मतबहादुर बोहोराका अनुसार कोल्टीको पहिरोको क्षति विवरण सङ्कलनका लागि सर्वपक्षीय क्षति विवरण सङ्कलन टोली गठन गरिएको छ । पहिरोबाट जेठ २४ गते तीनजनाको मृत्यु भएको थियो भने दर्जनौँ परिवार विस्थापित र पीडित भएका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com