मान्छे कहिले काहीँ देखेर पनि चुप लाग्नु पर्ने रहेछ ,
समयले न त पर्खिन्छ न त यसलाई रोक्न सकिन्छ !
यो त आफ्नै गतिमा अघि बढी रहन्छ . . . र हामी पछ्याई रहन्छौ . . . .
जीवनमा आफ्नो लागि मात्रै सोच्दा सोच्दै, गर्दा गर्दै अनि आफ्नै सपना टाल्दा टाल्दै बित्ने रहेछ । अरुको बारेमा सोच्न त कहिले फुर्सद नै भएन । सायद यो सामाजिक संरचनाको असर पनि होला । इमान्दारितापूर्वक भन्नु पर्दा बैदेशिक रोजगारको सिलसिलामा यो मध्यपूर्वमा रहेको सुन्दर देश इजरायल आएको थाहै नपाइ ८ साल बितेछ । कहिले काहीं यास्तो लाग्छ चड्दो उमेर सँगै बुनिएका ती हजार सपना अधिकांस अधुरा छन् ।
लाग्छ केहि गर्न सकिएको रहेनछ, मात्र आफ्नै स्वार्थ पूर्ण गर्न मरिमेटीएछ । प्रसंग मोड्दै _३० साल पहिले मैले पढेको बिद्यालय र आजको अबस्थालाई दाँजी हेर्दा. .... मैले गरेको अनुभव , म काम गर्ने वरिपरी ३ वटा स्कुल छन मैले कहिल्यै त्यता ध्यान दीएको रहेनछु आज यसो बाहिर हिड्दै गर्दा स्कुलमा मेरा नजर हुत्तिए र नजिकैको एउटा सफ्साल (फलैचा) मा बसेर त्यो स्कुल अबलोकन गरे । त्यहाँ बालबच्चाहरु एयर कन्डिसनमा आनन्द सँग पढिरहेका थिए । भौतिक रुपमा बिद्यालय सम्पन्न थियो ।
म मेरो नेपाल को अबस्था लाई र मेरो बाल्यकाल सँग जोडेर हेरे। अहिले नेपाल मा सरकारी बिद्यालयको अबस्था हेर्दा ३० साल पहिले मैले पढ्दा र अहिले खास अन्तर छैन । सायद पढाइको स्तरीयता केहि बढ्यो होला तर अझै पनि दुर्गम क्षेत्रमा स्थिति उस्तै नै छ । पढ्ने एक पुस्तक छैन र पढाउँनलाई एक राम्रो, व्यवस्थित स्कुल छैन । अझ कति ठाउँमा त स्याउला बारेर भुइमा नै पढाइन्छ । हो, यो अबस्था अझै छ । अब हामी यहाँ तुलना गरेर भन्न सक्छौ यसरि व्यवस्थित, आधुनिक तरिकाले पढाइएको बिद्यार्थी र त्यो हाम्रो दुर्गम गाउँको स्याउला बिछ्याई पढाइएका बिद्यार्थी बाट उस्तै अपेक्ष कसरि गर्न सकिन्छ ? समाज र देशको प्रगति उन्नतिको पहिलो खुट्किलो शिक्षाको ज्योति नै हो । यसै बेला, उत्तिनैखेर मलाइ मनमा च्वास्स लाग्यो हामी यत्ति व्यवस्थित गर्न नसकुँला तर पहिले भन्दा अलिकति स्तरीयता बढाउँन त सकिन्छ नि ! यहीं सोचले मेरो मन, मस्तिष्क का खालि पन्नाले कोल्टे फेरे ।
अब आफ्नो कमाइको केहि प्रतिशत छुट्याएर ती शिक्षाको उज्यालो ज्योति बाट बिल्कुल टाडा रहेका बालबालिका तथा असहायहरुको लागि सेवा गर्न मन समर्पित भो र अरु मित्रजनलाइ पनि यसमा प्रेरित/जागृत गर्ने । तपाई हामी आफै मुल्यांकन गरौँ , सोचौं हिजो जुन अबस्था बाट आयौं ? आज कहाँ छौं ? हो, पक्कै केहि भिन्नता छ , अन्तर छ तसर्थ परोपकारी पवित्र कार्यको लागि आफ्नो कमाइको थोरै प्रतिशत छुट्याएर ती स्याउलाको छहारिमुनी पढिरहेका विद्यार्थी भाइ बहिनीको लागि छानो छाइदियौ भने कति राम्रो ती भाइ बहिनीहरुले पढ्न नि पाए र हामीलाई प्राप्त हुने असीम आत्म सन्तुष्टि !।
तपाइँ हाम्रो सानो सहयोगले यति राम्रो कार्य सफल हुन सक्छ भने किन नगर्ने ? सार्थक जीवन सेवामा नै हुन्छ , जिउनु मात्रै त परजीविले पनि जिएको हुन्छ तर समर्पित भएर जिउनुको स्वाद सेवा र सहयोग मा छ तसर्थ यस सकारात्मक सोचलाई आत्मा साथ् गरि अघि बढौं ढिलासुस्ती नगरी । जय होस् हामी सबैको अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ! हाम्रो अभियान शिक्षाको लागि , आउनुहोस प्रयास त गरि हेरौं ।
नबराज आचार्य
काठमान्डू, हाल इज़रायल