जनकपुरधाम जेष्ठ २९,
जनचेतनाको अभाव तथा असुरक्षित यौन सम्पर्कको कारण भारतबाट गाजर मूला झै एचआइभी सङ्क्रमित भित्रिने गरेका छन् । स्पर्स नेपालद्वारा सेभ द चिल्ड्रेन तथा ग्लोबल फन्डको सहयोगमा आज जनकपुरमा आयोजित क्षति न्यूनीकरण कार्यक्रममा सहभागी वक्ताले भारतमा काम गर्ने ८० प्रतिशत नेपाली एचआइभी सङ्क्रमित भएको बताए ।
उनीहरुले खासगरी भारतको मुम्बई, दिल्ली, पन्जाब, लुधियानालगायतका ठाउँबाट काम गरी फर्किने ८० प्रतिशत नेपाली एचआइभी सङ्क्रमित भएको पाइएको चर्चा गरे ।
त्यसैगरी, वैदेशिक रोजगारको क्रममा खाडी मुलुक, अरब, कतार र मलेसिया जाने युवा घर फर्किंदा कोसेलीको रुपमा एचआइभी÷एड्स रोग लिएर फर्किने गरेको पाइएको छ । सो कार्यक्रममा उपलब्ध गराइएको तथ्याङ्कअनुसार १८४ जना सम्पर्कमा आएको एचआइभी सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क २०६९ वैशाखदेखि २०७१ जेठसम्मको हो । सो संस्थाको सम्पर्कमा अहिले ३० जना एचआइभी सङ्क्रमित रहेका छन् ।
पछिल्लो दुई महिनाको अभिलेख हेर्दा धनुषामा ३८२ पुरुष र ३६८ महिला एचआइभी सङ्क्रमित छन् । त्यसमा सात जना समलिङ्गी पनि छन् । धनुषामा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ५०३ रहेको छ भने १९ जनाको रगत परीक्षण गर्दा पाँच जनामा हेपाइटाइटिस–बी फेला परेको छ ।
जनकपुरमा लागु औषध सेवनकर्ताको लागि सुधारगृह नभएको र बाहिरबाट उपचार गराउन आउने एचआइभी सङ्क्रमित रोगीको बस्ने व्यवस्था नभएको जानकारी गराउँदै संस्थाले त्यसका लागि पहल गरिरहेको बताएको छ । सो कार्यक्रमअन्तर्गत संस्थाले एचआइभी सङ्क्रमित रोगीका १५ जना बालबालिकालाई जनही मासिक रु एक हजारका दरले छात्रवृत्ति दिने गरेको छ । रासस :