बुटवल जेष्ठ १९,
गाँउमा एम्बुलेन्स छैन । सिकिस्त बिरामीलाई अस्पताल पु¥याउन समस्या छ । त्यो गाँउमा एम्बुलेन्स सञ्चालन गर्न के गर्नुपर्ला ? त्यसका लागि ठूलो रकम चाहिन्छ । त्यो रकम कहाँबाट जुटाउने ? यस्तै समस्याबाट गुज्रिएका रुपन्देहीको दयानगरवासीले अहिले एम्बुलेन्स चलाउने नयाँ जुक्ति निकालेका छन् ।
त्यो हो एक रुपैयाँ संकलन अभियान ।
माघबाट सुरु एक रुपैयाँ अभियानबाट एम्बुलेन्स किनिसककेका उनीहरुले अहिले गाँउमा एम्बुलेन्स चलाउने तयारी थालेका छन् ।
एम्बुलेन्स नहुँदा सिकिस्त बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन समस्या भएपछि स्थानीय युवाले एक व्यक्ति एक रुपैयाँ संकलन थालेका हुन् ।
व्यक्तिले मात्रै यो काम सम्भव नहुने भएपछि उनीहरुले सर्वांगीण ग्रामीण विकासका निम्ति स्वावलम्बी नामक समुह बनाए । यसको अगुवाई पनि यही संस्थाले गरेको हो । जसमा दयानगरकै १९ जना युवा सहभागी छन् । एम्बुलेन्स सञ्चालनको चाह राखेका युवा सुरुवातमा विद्यार्थीमाझ गए ।
विद्यार्थीबाट एक रुपैयाँ संकलन अभियान सुरु गरे । अभियानबाट छपियावासी प्रभावित भए र सक्दो आर्थिक सहयोग गरे । जसबाट १० लाख ५० हजार संकलन भएको सचिव भानुभक्त अधिकारीले बताए ।कान्तिपुर: