बझाङ जेष्ठ १९,
एकसाता अगाडि सुत्केरी भएकी एक अपांग महिला जिल्ला अस्पतालमा अलपत्र परेकी छन्। माझिगाउँ गाविस ८ घर भएकी सुत्केरी किमा कुमारी रोकायालाई माइती र घरका कसैले नलगेपछि अलपत्र परेकी हुन्।
जिल्ला अस्पतालको बेडमा रहेकी किमाले नत पोसिलो खान पाएकी छन् नत हेरचाह गर्ने मानिस नै छन्।
विवाह नगर्दै किमाले सोही गाउँका रुपष रोकायाको गर्भ बोकेकीले केटा पक्षले गर्भ नस्विकारेपछि उनी घर न घाटकी भएकी छन्।
सुत्केरी व्यथा लागेपछि छिमेकीले स्टेचरमा बोकेर जिल्ला अस्पताल पुर्याएकी किमाले छोरा पाएकी छन्। ‘आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था ठिक छ,’ अस्पतालका डा. इन्द्र पौड्यालले भने,’किमा अस्ती नै घर जानुपर्ने हो तर उनलाई लग्ने मान्छे नआएकाले अस्पतालमा नै राख्नुपर्ने बाध्यता छ।’
किमाले गर्भ रहेको ८ महिनामा सदरमुकाम चैनपुरमा आएर न्यायका लागि जिल्ला प्रहरी कार्यालय, मानव अधिकार र महिला अधिकार मञ्चमा निवेदन दिएकी थिइन। किमाको निवेदनको बिषयलाई लिएर प्रहरीको रोहबरमा केटा पक्ष र केटी पक्षको सहमती अनुसार किमाले बच्चा नपाउँन्जेल आमाले पाल्ने र बच्चा पाइसकेपछि केटा पक्षले लग्ने सहमती भएको थियो।
६ दिनसम्म अस्पतालको बेडमा पेटभरी खान समेत नपाएकी किमाले रुदै भनिन्, ‘आफुलाई केटा पक्षले नस्विकारेपछि आमाको घरमा जानुभन्दा मर्नु बेस जस्तो भएको छ।
छोराको न्वारान गर्ने बेला भइसक्यो, कसरी गर्ने?’ केटाले आफ्नो गर्भ हो भनि स्विकारेको तर केटाका अभिभावकले आफूलाई बुहारी नस्विकारेकाले न्याय दिलाउन पहल गरिदिन हुन उनले आग्रह गरेकी छन्। केटाका बुवा वर्क रोकाया तथा आमा भुजी देवि रोकायाले छोराको उमेर १४ बर्षमात्र भएका कारण डिएनए परिक्षण गरेर मात्र स्विकार्ने बताउँदै आएका छन्। १८ बर्षिया अपांग किमाको कम्मर तलको भाग चल्दैन।
अरुको साहारा बिना हिँडडुल गर्न सक्दिनन्।
दुबै पक्षको सहमतिअनुसार किमालाई बच्चा पाएपछि केटा पक्षले घरमा लैजानु पर्ने हो तर घरमा नलगेर अलपत्र छोडे कानुन अनुसार कारबाही गर्ने प्रहरी निरिक्षक वीरबहादुर थापाले बताए। अन्नपूर्ण :