कविता , 'कृष्ण र कुरुक्षेत्र ' By, दाजु गुरुङ ,


कविता _ कृष्ण र कुरुक्षेत्र

हरेक हस्तिनापुरहरुमा
धृतराष्टहरु राजा हुन्छ
राजाहरु धृतराष्ट हुन्छन्
र त नयाँ नयाँ फर्मान जारी गर्न खप्पिस हुन्छन्
हुक्के , वैठके ,चमरे , ढोके द्वरेहरु

हस्तिनापुरमा तिलस्मी जादु हुन्छ
दरवार पसेका धृतराष्टहरुमा
दरवार वाहिर संसारको कुनै हेक्का नै रहदैन
र त कर्णहरुले जिन्दगी भर आफ्नो पहिचान पउदैनन्
एकलब्यहरुले गुरु दक्षिणामा सधै वुढी औला चढाईरहनु पर्छ
गान्धारीहरुले आजीवन आँखामा पट्टी वाध्नु पर्छ
धृतराष्टहरु कै आडमा शकुनीहरु पासा बुन्छन्
कंस दुर्योधन दुशासनहरु चिरहरणमा कहिले थाक्दैनन्
अनि निरीह प्रजाहरु
हरेक काल खण्डहरुमा
कृष्णलाई पर्खनु पर्छ /गुहार्नु पर्छ
आफू भित्रको कृष्णलाई बिर्सिए पछि ।

निसस्त्र उभिरहेछु
निर्वस्त्र उभिरहेछु
धृतराष्टहरुको आँखा नपुगेको संसारमा
र एउटा आह्वान गरिरहेछु
म भित्रको कृष्णलाई
तिमी भित्रको कृष्णलाई
हामी भित्रको कृष्णलाई
फेरी अर्को महाभारतको तयारीको लागि
बुद्ध र बुद्धत्वमा रुपान्तरणको लागि
यो कुरुक्षेत्रको मैदानमा

 दाजु गुरुङ , हङकङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com