बैशाख २४,
लण्डनस्थित सेभ दि चिल्ड्रेन इन्टरनेशनलले विश्वमा हरेक दिन ८ सय आमा र १८ हजार शिशुको मृत्यु हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सबैभन्दा बढी मृत्यु सोमालियामा हुने गरेको छ ।
‘विश्वका आमाहरुको अवस्था’ नाम दिइएको सो प्रतिवेदनमा जनाइएअनुसार एक तिहाई मृत्यु पश्चिम तथा मध्य अफ्रिकामा र अर्को एक तिहाई मृत्यु दक्षिण एशियामा हुने गरेको पाइएको छ । सामाजिक रुपमा बाहिर परेका समुदायमा मातृ तथा शिशु मृत्युदर बढ्ने गरेको छ । सो संस्थाले विश्वका १७८ देशमा मातृ तथा शिशु मृत्युदर, शिक्षा, महिलाको आयदर र राजनीतिक अवस्थाका बारेमा तुलनात्मक अध्ययन गरेको थियो ।
विश्वको सूचीमा आमा र शिशुका लागि सबैभन्दा खराब देशको सूचीमा सोेमालिया परेको छ । सूचीमा सोमालिया सबैभन्दा पुछारमा परेको छ भने त्यसपछि कंगो, नाइजर, माली र गिनि बिसाउ परेका छन् । तीन वर्षअघि अफगानिस्तान सबैभन्दा पुछारमा परेको थियो भने यसपटक मातृ तथा शिशु मृत्युदरमा आएको कमीका कारण १४६ औं नम्बरमा परेको छ ।
यस्तै, सन् २०११ मा ६५औं नम्बरमा रहेको सिरिया सन् २०१४ मा ११५ औं नम्बरमा परेको छ ।
सिरियमा भएको द्वन्द्वका कारण त्यहाँको स्वास्थ्य प्रणाली नै ध्वस्त हुँदा यस्तो स्थिति आएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार यसवर्ष विश्वभरका ६ करोड महिला तथा बालबालिकालाई मानवीय सहायता आवश्यक छ । हरेक देशले संकटमा परेका आमा तथा शिशुलाई सहयोग गर्न आवश्यक तयारी गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।
आमा तथा शिशुका लागि सर्वोत्तम ठाउँको रुपमा भने फिनल्याण्ड देखिएको छ । त्यसपछि नर्वे, स्वीडेन, आइसल्याण्ड र नेदरल्याण्ड रहेका छन् ।
गैरयुरोपेली देशमा अष्ट्रेलिया नवौं स्थानमा, न्युजिल्याण्ड १७ औं स्थानमा, अमेरिका ३१ औं स्थानमा र चीन ६१ औं स्थानमा परेका छन् । यस्तै, गैरअफ्रिकी देशमा हैटी १६८ औं स्थानमा, पपुआ न्युगिनी १६४ औं र यमन १६२ औं स्थानमा परेका छन् ।
एजेन्सी ।