दाङ बैशाख २१,
एसएलसी उत्तरपुस्तिका जाँच्न कम्तीमा मावि तहको शिक्षक हुनुपर्ने नियम उल्लंघन गर्दै यहाँ तल्लो तहका शिक्षकले पनि जाँचिरहेका छन्। परीक्षा नियन्त्रण कार्यालयले पुस्तिका परीक्षणसम्बन्धी निर्देशिकामा उल्लेख गरेका सामान्य प्रक्रियासमेत जिल्ला शिक्षा कार्यालयले पालना गराएको छैन।
निमावि तथा प्रावि तहका शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न दिनुलाई त्रुटि भन्न नमिल्ने जिशिका बताउँछ।
दरबन्दी तह जुनसुकै भए पनि मावि कक्षा पढाएका शिक्षकलाई सहभागी गराइएको तर्क उसको छ। पनिकाले एसएलसीको कापी जाँच्न कम्तीमा मावि तहकै शिक्षक हुनुपर्ने व्यवस्था तोकेको छ।
उत्तरपुस्तिका जिम्मा लगाउनुअघि शिक्षकलाई परीक्षणबारे सामान्य ज्ञानसमेत दिइएको छैन। पनिकाले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षणसम्बन्धी ज्ञान अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ।
निर्देशिकाले जाँचकी शिक्षकलाई परीक्षणक्रममा हुन सक्ने त्रुटि, पारदर्शितालगायत विषयमा पाँच दिनसम्म तालिम र प्रयोगात्मक अभ्यास गराउनुपर्ने प्रावधान तोकेको छ।
‘मैले कपी जाँच्न थालेको चार वर्ष भइसक्यो, अहिलेसम्म एकपटक पनि जिशिकाले उत्तरपुस्तिका परीक्षणबारे पूर्वजानकारी गराएको छैन,' परीक्षणमा सहभागी मावि तेघराका शिक्षक अमरक्षितिज भण्डारीले भने। उनले एसएलसी उत्तरपुस्तिका परीक्षणमा सहभागी आफ्नो विद्यालयका ५ शिक्षक कसैले पनि तालिम नलिएको बताए। जानकारीबिनै परीक्षणमा बस्नुपर्दा शिक्षकलाई पनि अन्योल छ।
जिल्ला शिक्षा कार्यालय भने शिक्षकले परीक्षण गरेको कापी पुनःपरीक्षणका लागि समपरीक्षक तोकिएकाले खासै असर नपर्ने बताउँछ।
‘शिक्षकहरूले गरेको कमजोरी सच्याउन समपरीक्षक सरहरू हुनुहुन्छ, त्यसैले फरक पर्दैन,' जिशिकाका परीक्षा शाखा अधिकृत शेरबहादुर विष्टले भने, ‘नत्र केही असहज हुन सक्थ्यो।' शिक्षकहरूले तालिम नपाएको बताए पनि जिल्ला शिक्षा कार्यालय भने परीक्षणमा सहभागी सबै शिक्षक तालिमप्राप्त रहेको दाबी गर्छ।
‘सबै शिक्षक तालिमप्राप्त हुनुहुन्छ, जिशिकाले सबैलाई उत्तरपुस्तिका परीक्षणसम्बन्धी तालिम दिएको छ,' विष्टले भने। उनले यस वर्षको उत्तरपुस्तिका परीक्षणका लागि २० शिक्षकलाई तालिम दिइएको बताए। अन्यलाई किन नदिइएको भन्ने प्रश्नमा उनले भने, ‘२० जना नयाँ हुन्।
बाँकी त पुराना हुनुहुन्छ, गत वर्षै तालिम लिइसक्नुभयो।'
परिसरमै पुस्तिका परीक्षण भइरहे पनि परीक्षक कति छन् र कुन तहका छन् भन्नेमा जिशिका नै बेखबरझैं छ। परीक्षण कति वा कसरी भइरहेछ भन्नेबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिन्छ। ‘हामीले अनुगमन गर्न सकेका छैनौं,' विष्टले भने, ‘सरहरू आउनुहुन्छ, जानुहुन्छ, हामीलाई यति मात्रै थाहा छ।'
उत्तरपुस्तिका परीक्षणका लागि संयोजनको जिम्मा दिइएका चेतनशील लम्साल नै आफूलाई पुस्तिका परीक्षणबारे कुनै जानकारी नभएको बताउँछन्। ‘नयाँ भएकाले मलाई जानकारी छैन,' उनले भने, ‘कस्तो भइराछ, मभन्दा अरू सरहरूलाई नै सोध्दा राम्रो।' पनिकाले पठाएको निर्देशिकाकै बारे आफू जानकार नरहेको प्रतिक्रिया उनले दिए।
जिल्ला शिक्षा कार्यालयले निगरानी नराख्ने भएकै कारण केही पुस्तिका घर लगेर पनि परीक्षण गरिएको स्रोत बताउँछ। बढी पुस्तिका जाँचेपछि रकम बढी आउने भएकाले केही शिक्षकले घरमै लैजाने गरेको बताइन्छ। एउटा उत्तरपुस्तिका परीक्षणबापत शिक्षकले १५ रुपैयाँ पाउने व्यवस्था छ।
पनिकाले एसएलसीको उत्तरपुस्तिका शिक्षा कार्यालयमा मात्रै परीक्षण गर्न निर्देशन गरेको छ। तर केही शिक्षकले घर लगेर पनि कापी परीक्षण गरेको हुन सक्ने जिशिका हाकाहाकी बताउँछ। ‘हामीले निगरानी गरेका छैनौं,' परीक्षा शाखा अधिकृत विष्ट भन्छन्, ‘केही शिक्षकले त्यस्तो गर्नुभएको पनि होला, लुकाई–छिपाई लैजानेलाई के भन्ने? उहाँहरू आफैंले जान्ने कुरा हो।'
जिशिका कार्यालयकै कामकारबाहीका कारण उत्तरपुस्तिका परीक्षणमा अनुगमन गर्न नसकेको बताउँछ। जिशिकाले अनुगमन नगरेपछि एसएलसीको उत्तरपुस्तिका जिशिकाले तोकेका समपरीक्षककै नेतृत्वमा परीक्षण भइरहेका छन्। सम्पूर्ण जिम्मा उनीहरूकै छ। जिशिकाको बेवास्ताका शिक्षकहरूले मनोमानी रूपमा उत्तरपुस्तिका परीक्षण गरिरहेका छन्। कार्यालयका अनुसार सहभागी शिक्षकलाई सुरुमा १४ वटा उत्तरपुस्तिका परीक्षण गर्न लगाउने र त्यो हेरेर पुनः परीक्षणमा बस्न दिने वा नदिने निर्णय गर्न सकिने नियम पनिकाले तोकेको छ।
तर, यहाँका समपरीक्षकले नयाँ शिक्षकलाई पनि सुरुमै उत्तरपुस्तिकाको बोरा नै थमाइदिएको जिशिका स्विकार्छ।
यस वर्ष जिल्लामा ७ हजार ५ सय विद्यार्थीको उत्तरपुस्तिका आएको छ। कार्यालयका अनुसार जेठ १५ सम्म उत्तरपुस्तिका परीक्षण गरेर पनिकामा पठाइसक्नुपर्छ। उत्तरपुस्तिका परीक्षणमा यहाँका एक सयबढी शिक्षक सहभागी भएको जिशिकाले जनाएको छ। (देवेन्द्र बस्नेत-nagarik)