कालाजार यसरि फैलदै I

काठमाडौं बैशाख १९,

ओखलढुंगा थाप्ले ९ जाक्माकी स्वास्थ्य स्वयंसेविका ३६ वर्षीया मनमाया लिम्बू (नाम परिवर्तन) ले अरूलाई रोगबारे जानकारी दिँदै स्वस्थ जीवन जिउन प्रेरित गर्ने काममा धेरै समय खर्चिन्। गाउँका महिलालाई सुत्केरी व्यथाले च्यापेपछि तत्काल स्वास्थ्य संस्था पु:याउन हतार हुने उनलाई आफ्नै ६ वर्षीय छोरालाई रोगले च्यापेको थाहा पाउन भने धेरै समय लाग्यो।

ज्वरो आउने, पेट सुन्निने, काम्नेजस्ता समस्या बढ्दै गएपछि मात्रै ओखलढुंगा सामुदायिक अस्पताल पुर्याइएका उनका छोरालाई कालाजार भएको पुष्टि भयो। त्यसपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो। कठिन उपचारपछि मात्रै ती बालकलाई बचाउन सफल भएको प्रतिष्ठानअन्तर्गतको ट्रपिकल एन्ड इनफेक्सियस डिजिज सेन्टरमा कार्यरत महामारी रोगविशेषज्ञ सुरेन्द्र उरावले बताए।

छोरो निको भएको केही दिन नबित्दै मनमाया बिरामी भइन्। उनलाई पनि कालाजार भएको पत्ता लाग्यो। ओखलढुंगाकै मानेभन्ज्याङ ६ का २३ वर्षीय भीमबहादुर शेर्पा (नाम परिवर्तन) लाई पनि छिनछिनमा ज्वरो आउने समस्या देखियो। उनी सानोतिनो समस्या भन्दै सिटामोल खाएर बसे। तर तौल घटेर शरीर कालो हुँदै गएपछि भने उनी तर्सिएर अस्पताल पुगे। उनलाई पनि कालाजार भएको पुष्टि भयो। परीक्षणका क्रममा उनको परिवारका अरू सदस्यलाई पनि कालाजार देखियो। एकदुईपटक मात्रै तराई झरेको उनीहरूको परिवार तराईमा मात्रै सीमित देखिँदै आएको कालाजारबाट प्रभावित भयो।

बाजुरा दहकोटका ६४ वर्षीय होमबहादुर बिष्ट पनि कालाजार भएपछि लामो समय थला परे। उनलाई बाजुराबाट जम्मा तीनपटक तराई गएको सम्झना छ। धनगढी आएर लामो समय उपचार गराएपछि उनी बल्लतल्ल उठ्न सक्ने भएका छन्।

तराईका विभिन्न १२ जिल्लाका विपन्न परिवारमा सीमित कालाजार रोग पछिल्लो समय पहाडका बासिन्दामा पनि देखिने क्रम बढेको छ। प्रत्येक १० हजार जनसंख्यामा एकभन्दा कममा कालाजार देखिएको भन्दै आगामी वर्षभित्र निवारण घोषणा गर्ने तयारी गरिरहेको सरकारलाई पहाडमा कालाजारका बिरामी भेटिनुले चुनौती थपिएको छ।

पूर्वी पहाडी ओखलढुंगा, खोटाङ, धनकुटा, भोजपुर, सुदूरपश्चिमका बाजुरा, बैतडी, अछाम, पश्चिमका पाल्पा, बागलुङ, लमजुङ, मध्यपश्चिमका दैलेख, सुर्खेत, प्युठानलगायत जिल्लामा कालाजारको संक्रमण देखिन थालेको छ।

एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने कालाजारबाट पहाडी क्षेत्रका कतिपय जिल्लाका दुई वर्ष उमेर नपुगेका बालबालिकासमेत प्रभावित भएको चिकित्सकले बताए। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको ट्रपिकल एन्ड इन्फेसियस डिजिज सेन्टरका प्रमुख डा. सुमन रिजालको टोलीले पछिल्लो समय ओखलढुंगालगायत पहाडी जिल्लामा गरेको अध्ययनले पनि सोही तथ्य प्रमाणित गरेको छ।

अध्ययनमा संलग्न चिकित्सकका अनुसार तराईमा मात्रै पाइने उक्त भुसुना अहिले पहाडमा पनि देखिएको छ। तापक्रम वृद्धिका कारण पहाड पुगेका भुसुनाको टोकाइबाट कालाजार संक्रमण फैलिने क्रम पनि बढेको छ। सरकारी तथ्यांकअनुसार हाल पहाडी २२ जिल्लामा वर्षमा ७० देखि ८० जना नयाँ कालाजारका बिरामी भेटिने गरेका छन्। पाँच वर्षपहिले यो संख्या आधा थियो। गत वर्ष मात्रै तीन सय ५० जना कालाजारका नयाँ बिरामी भेटिएका थिए।

विश्व स्वास्थ्य संगठनका मेडिकल अफिसर केशवकुमार योगीले तापक्रम वृद्धिसँगै भुसुनाको बानी परिवर्तन भएकाले कालाजार देखिएको हुनसक्ने बताए। कालाजारबाट यसअघि झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र उदयपुरका बासिन्दा प्रभावित थिए। पछिल्लो समय काठमाडौं उपत्यकामा समेत कालजारका बिरामी देखा पर्न थालेका छन्।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरु वारोग अस्पतालमा गत चैतमा कालाजारका तीनजना बिरामी उपचारका लागि भर्ना भएका थिए। महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, 'पहाडमा देखिएको कालाजार नियन्त्रणका लागि नयाँ रणनीतिका साथ अगाडि बढ्दैछौं।'

कालाजारको परजीवीले सबैभन्दा बढी शरीरका महत्त्वपूर्ण र संवेदनशील अंगमा प्रभाव पार्छ। रोगीलाई टोकेको भुसुनाले स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्छ। यस्ताखाले भुसुना गोबरमाटोले लिपेर ओसिलो भएको घरको भित्ताका चिरा र प्वालमा बस्ने गर्छन्। गाईभैंसीको गोठ, फोहोरमैला थुप्रिएको ठाउँ, दाउरा राख्ने ठाउँ, मुसाको दुलो आदिमा यस्ता भुसुनाले फुल पार्छ। (अन्नपूर्ण)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com