सर्लाही जेष्ठ १०,
सर्लाहीको हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा उखु बोकेर शनिबार साँझ स्थानीय इन्दुशंकर चिनी उद्योगतर्फ जाँदै गरेका टायरगाढाको लाम ।
स्थानीय उद्योग सञ्चालनमा भएको ढिलाई एवं रौतहट र महोत्तरीका उद्योगहरुले सर्लाहीबाट उखु लैजान छाडेपछि अझैपनि जिल्लामा लाखौं क्वीन्टल उखु बाँकी रहेको छ । सर्लाहीकै धनकौल स्थित चिनी उद्योगले अपेक्षाकृत उखु क्रसिङ गर्न नसकेपछि र गत विगत वर्षहरुमा झैं छिमेकी जिल्लाका उद्योगहरुले उखु नलगेपछि आफ्नो उद्योगलाई उखु क्रसिङका लागि किसानहरुको अत्याधिक दवाव बढेको इन्दुशंकर चिनी उद्योगका महाप्रबन्धक विजयकान्त झाले बताए ।
उक्त उद्योगले हालसम्म ३० लाख क्वीन्टल हाराहारीमा उखु क्रसिङ गरेको छ । सुरुमा ४० लाख क्वीन्टल उखु सर्भे गरेर सञ्चालनमा आएको इन्दुशंकरले किसानहरुको चाप बढेपछि थप १८ लाख क्वीन्टल सर्भे गरि ५८ लाख क्वीन्टल उखु क्रसिङको लक्ष्य राखेको छ । बढ्दो गर्मीसँगै हुरी बतास चल्न थालेपछि उखुको तौल घट्ने, आगलागीको डर लगायत समस्या बढेको किसानहरुले बताएका छन् ।
पछिल्ला दिनहरुमा निरन्तर रुपमा किसानको खेतमा रहेका लाखौंको उखु आगलागीबाट नष्ट भईरहेको छ । बढ्दो गर्मीसँगै उखु सुकेका कारण त्यस्ता उखु क्रसिङ गर्दा उद्योगलाई समेत चिनीको मात्रा घटेकाले निकै नोक्सान भईरहेको उद्योगका महाप्रबन्धक झाले बताए । (तस्बीर: टंकबहादुर क्षेत्री)