थाइल्याण्डको सेनाका प्रमुख जनरल प्राइओत् जानोत्चाले देशको सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका छन्।
राष्ट्रिय टेलिभिजनमा बोल्दै जनरल प्राइओतले देशमा शान्ति व्यवस्था कायम गर्न र राजनीतिक सुधारहरु गर्ने उद्देश्यले सेनाले देशको शासन लिएको बताए। थाइ सेनाले गत मँगलबार देशमा जङ्गी कानुन लागू गरिएको घोषणा गरेको थियो। तर देशको शासन कसको नियन्त्रणमा छ भन्ने स्पष्ट भएको थिएन। जनरल प्राइओतले प्रतिद्वन्द्वी राजनीतिक समूहहरुलाई छलफलकालागि दुई पटक बोलाएका थिए।
तर त्यसबाट कुनै निकास निस्केन।
तर त्यसबाट कुनै निकास निस्केन।
घोषणा
जङ्गी कानुनको घोषणा गर्दै जनरल प्राइओतले सन् १९१४ को एउटा कानुनको उल्लेख गरेका थिए जसले सेनालाई कुनै संकटका बेला जङ्गी कानुन लगाउने अधिकार दिन्छ।
सन् १९३२ मा सकृय राजतन्त्रको अन्त्य भएयता थाइ सेनाले एघार पटक सत्ता आफ्नो हातमा लिइसकेको छ भने सात पटक सैनिक विद्रोहका प्रयासहरु असफल भएका थिए।
सन् २००६ मा सेनाले लोकप्रिय प्रधानमन्त्री थाक्सिन शिनावाटमाथि भ्रष्टाचार र सत्ता दुरुपयोगको आरोप लगाउँदै सत्ताच्युत गरीदिएको थियो। त्यसको केही समयपछि सेनाले एउटा गैरसैनिक सरकारलाई सत्ता हस्तान्तरण गरेको थियो। तर त्यसयता भूतपूर्व प्रधानमन्त्री थाक्सिनका समर्थक तथा विरोधीहरुबीच चुनावी तथा सडक संघर्षहरु हुँदै आएका छन्।
आदेश
यसै महिनाको शुरुमा एउटा थाइ अदालतले प्रधानमन्त्री यिङलक शिनावाटले आफ्नो अधिकारको दुरुपयोग गरेको भन्दै उनलाई पदत्याग गर्न आदेश दिएको थियो। तर उनको दलले अर्का कार्यवाहक प्रधानमन्त्री चयन गरी सरकार चलाईरहेको थियो। विश्लेषकहरु भन्छन्, पछिल्ला घटनाक्रमहरुले थाइ राजनीतिमा सेनाको अहम भूमिका फेरि प्रष्ट पारीदिएको छ। बिबिसी: