गर्मीको सुरुवात सँगै सहज पहिरन I

काठमान्डू बैशाख १३,

पहिरनको काम सुन्दर देखाउनु, छाला छोप्नु एवं शरीरलाई घामपानीबाट जोगाउनु हो। पहिरनको अर्काे आधारभूत काम लाज छोप्नु पनि हो। मौसमअनुकूल पहिरन लगाउनु मानिसको आवश्यकता हो। 

गर्मी मौसम सुरु भएसँगै बजारमा गर्मीका पहिरन देखिन थालेका छन्। गर्मीमा प्रायः मानिस स्वस्थ तथा आरामदायक पहिरन लगाउन चाहन्छन्। यतिबेला नपोल्ने र पसिनाले रंग नजाने खालका पहिरन नै सबैको रोजाइमा हुन्छ। अहिले सहज एवं आरामदायक पहिरन छानी-छानी किन्न सक्ने अवस्था सिर्जना भैसकेको छ। 

पहिले-पहिले नेपाली पोसाक सीमित थिए, औंलामा गन्न सकिने। कुन गर्मी मौसमका लागि र कुन जाडोका लागि भन्ने थिएन। स्याँगा र पाँगा नामका पोसाक उबेलाका चलेका पहिरन हुन्। पाँगा लुङ्गीजस्तै हुन्थ्यो। सिस्नु र त्यस्तै जातका वनस्पतिको रेसाबाट खादी कपडा, भांग्रा आदि बुनिन्थ्यो। खादीलाई माटो वा रूखका बोक्राले रंगाएर पाँगा बनाइन्थ्यो। पृथ्वीनारायण शाहको दिव्योपदेशमा समेत पाँगालाई स्वास्नीमान्छेले लगाउने घरबुना पहिरन भनिएको छ, तर अहिले युवती तथा महिलाले लगाउने पहिरनको सूची लामै हुन्छ। यसले नेपाली बजारमा महिलाको तयारी पोसाकको माग र फेसनले ठूलो फड्को मारिसकेको कुरालाई पुष्टि गर्छ। 

युवतीले गर्मीमा कुर्ती, पाइन्ट, वानपिस, आउटर, अलादिनजस्ता समर ड्रेस नै बढी रुचाउने ललितपुर कुमारीपाटीस्थित भिर्गाे फन फिल्टी एन्ड फेसनकी सञ्चालक नीलम गौतम बताउँछिन्। बजारमा देखिने गर्मी मौसमका पहिरन नेपालका प्रायः सबै युवतीको रोजाइमा पर्ने गौतमले बताइन्। सामान्यतः ८ सयदेखि ३ हजार रुपैयाँसम्मका पहिरन नेपाली बजारमा बढी खपत हुन्छन्। काठमाडौं खिंचापोखरीस्थित पिपुल प्लाजाका व्यवसायी रमेश भण्डारीका अनुसार गर्मीमा युवतीले लगाउने गाउन, टिसर्ट, हाफपाइन्ट, वानपिस आदि बढी बिक्री हुन्छन्। 

जुनसुकै पहिरन भए पनि फेसनेबल पहिरन आवश्यक भएको बताउँछिन्, गर्मी मौसमका पहिरन किन्न न्युरोड पुगेकी काठमाडौं, डिल्लीबजारकी अञ्जना आचार्य। सुतीका पहिरन लगाउँदा घामले नपोल्ने र गर्मीमा वानपिस, सुतीका टिसर्ट, क्वाटर पाइन्ट तथा आउटर लगाउन मन पराउने आचार्यले बताइन्। एमएकी विद्यार्थी आचार्यले १ हजारदेखि २ हजार रुपैयाँसम्मका पहिरन किन्ने गरेकी छिन्। बढी गर्मीमा सेतो, पहेंलो तथा हल्का रंगका पहिरन आवश्यक हुने र व्यवसायीले पनि सोही प्रकारका पहिरन आयात गर्नुपर्ने उनको राय छ। 

काठमाडौं कालोपुलकी प्रतिमा गौतम आफूले वर्षैपिच्छे गर्मीका पहिरन किन्ने गरेको र व्यवसायीहरूले पनि उपभोक्ताहरूको मागबमोजिमका पहिरन उपलब्ध गराउनुपर्ने सुझाव दिन्छिन्। अरूले लगाएजस्तो पहिरन आफूलाई लगाउन मन नलाग्ने र फेसनेबल पहिरन लगाउने नशा नै भएको उनले बताइन्। देखाउनभन्दा पनि आफूले चाहेको पहिरन लगाउँदा मनै आनन्दित एवं स्वस्थ अनुभूति हुने अञ्जनाको तर्क छ। 

कहाँबाट आउँछन् ?

नेपालमै उत्पादित पोसाकले तयारी पोसाकको माग धान्न नसक्ने अवस्था छ। नेपालको तयारी पोसाकको मागलाई चीन, थाइल्यान्ड, पाकिस्तानजस्ता देशका उत्पादनले धान्दै आएको व्यवसायीहरू बताउँछन्। आर्थिक वर्ष ०६९/७० मा लत्ताकपडासहित सबै प्रकारका पहिरन मात्र ९ अर्ब रुपैयाँ बराबरको आयात भएको तथा नेपालका गार्मेन्ट उद्योगबाट ४ अर्ब रुपैयाँ बराबरको तयारी पोसाक निर्यात भएको नेपाल तयारी पोसाक उद्योग संघका महानिर्देशक राजेश लामिछानेले बताए। 

 सरस्वती कटुवाल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com