काठमान्डू चैत २३,
प्युठानको स्वास्थ्य सेवामा आजकाल खोलासमेत धाउँछ । बिरामीहरू खोज्दै जानुपर्दैन, डा. लेखराज सुवेदी नै कोही रोगी छ कि भन्दै गाउँघर चहार्छन् । र, ‘मलहम लगाउँछन् आर्तहरूको चहराइरहेको घाऊमा’– निःशूल्क ।
जिल्लामा डाक्टर भेटिन्नन् । दुर्गमका अस्पतालमा डाक्टर बस्दैनन् । स्वास्थ्य केन्द्र चिकित्सकविहिन । डाक्टर अभावले बिरामीको ज्यान गयो । डाक्टर नहुँदा पोस्र्टमार्टम हुन पाएन । हाम्रा अखबारहरूमा ‘सयौं दिन मनाइसकेका’ बहुचर्चित हेडलाइनहरू हुन् यी । बामे सर्दै गरेको नेपालको ग्रामीण पत्रकारिता (रुरल जर्नालिजम्) ले उधिनेका दुःखहरू हुन् यी ।
स्वभाविकै हो, गाउँमा भनेको बेला अहेब त भेटिन्नन्, डाक्टर कसरी पाइयोस् ?
तर, क्षितिज खुल्दैछ । कालो बादलमा चाँदीको घेरा देखिइसकेको छ । प्रमाण हुन्– डाक्टर लेखराज सुवेदी, जो ९ वर्षदेखि दुर्गम प्युठानमा सेवारत छन्, त्योपनि खाइपाइ आएको राजधानीको सुविधासम्पन्न अस्पतालको जागिर छोडेर । स्थापित ‘मान्यता’ लाई उनले दिएको चुनौती यो एउटा मात्र होइन । हामीकहाँ उखान छ– खोला धाउँदैन, तिर्खा धाउनुपर्छ । तर डा. सुवेदीले त्यो मान्यताको पनि विनिर्माण गरिदिएका छन् । हो, प्युठानको स्वास्थ्य सेवामा आजकाल खोलासमेत धाउँछ ।
बिरामीहरू खोज्दै जानुपर्दैन, डा. सुवेदी नै कोही रोगी छ कि भन्दै गाउँघर चहार्छन् । र, ‘मलहम लगाउँछन् आर्तहरूको चहराइरहेको घाउमा’– निःशूल्क ।
योग्यता र क्षमताअनुसार उनले सहरमा क्लिनिक खोलेर बसेका भए, फरकै छैन, जचाउन अग्रिम नाम लेखाउनुपथ्र्यो, त्यो पनि मोटो रकम तिरेर । तर प्युठानका अधिकांश गाविस र वरपरका जिल्लाका गाउँलेहरूको भाग्य– दुखीहरूको पाउ समाउनुमै उनलाई लाख छ ।
५६ वर्षको चढ्दो उमेरमा पनि उनी बिहानै झिसमिसेदेखि राती अबेरसम्म बिरामीकै खोजी र उपचारमा बिताउँछन् ।
आमा अपा बिजुवार गाविसस्थित टारीको पुरानो माटोको घरमा उनलाई खाना कुरेर बस्छिन्, धिपधिपे बत्तिको उज्यालोमा । तर बिरामीको सेवामा कहिलेकाहीँ डा. सुवेदीको रात अन्तै बित्छ, ८९ वर्षिया आमा भोकै सुत्छिन् । अपितु आमा अपालाई यसमा कुनै चिन्ता छैन, उनलाई थाहा छ, छोरा कुनै चिया पसलमा गफ चुटिरहेका वा भट्टीमा बरालिइरहेका हुदैन ।
डाक्टर सुवेदीको जन्म निम्नवर्गिय परिवारमा भएको हो । बुबा मुकुन्दराज न्यायालयका कर्मचारी थिए । परिवारका माइला छोरा सुवेदीले गाउँको संस्कृत पाठशालाबाट पढाइ थाले ।
स्थानीय मुक्ति माध्यमिक विद्यालय रातामाटाबाट एएसएलसी गरेपछि उनी उच्च शिक्षाका लागि राजधानी हानिए । र, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज (आइओएम) बाट हेल्थ असिस्टेन्ट (एचए) अध्ययन गरे । एचए बनेपछि उनले पाल्पा तानसेनस्थित मिसन अस्पतालमा गएर करिव ४ वर्ष काम गरे । पाल्पामा बस्दा विदेशी चिकित्सकहरू हाडीङ्ग, जोन र नेपाली चिकित्सक गोबिन्द भट्टसँग धेरै सिक्ने मौका पाए ।
त्यतिबेला निश्चित संख्यामा एचएहरूलाई पनि एबिबिएस पढ्न दिइन्थ्यो । उनलाई आइओएममै उक्त अवसर मिल्यो । एमबिबिएसपछि उनले करिव ८ वर्ष शिक्षण अस्पताल महाराजगञ्जमा सहप्राध्यापकका रूपमा अध्यापन गराउनुकासाथै हाडजोर्नी, फिजियोलोजी आदि बिभागमा रहेर काम गरे ।
गाउँमा जन्मिहुर्केर पाल्पामा समेत काम गरेका उनलाई ग्रामीण क्षेत्रका बिरामीले भोग्नु परेको पीडाबारे जानकारी नहुने कुरै भएन । त्यसलाई उनले जानकारीमा मात्र सिमित गरेनन्, सेवामा बदल्ने प्रण गरे । उनलाई जन्मस्थानका बासिन्दाहरूको सेवा गर्ने भावना जागृत भयो । अनि उनलाई आइओएममा प्राध्यापक बन्ने अवसरले मात्र राजधानीमा अड्याउन सकेन । गाउँ फर्किए ।
‘बिरामी गाउँमा छन्, म सहरमा बसेर के गनु,’ उनी भन्छन्, ‘म बिरामी खोज्दै गाउँमा छु ।’
सँगै पढेका अधिकांश साथीका सुविधा सम्पन्न ठाउँमा अस्पताल, क्लिनिक र महलहरू खडा भैइसके । कतिपय नेपालमै छैनन् । त्यस्ता भौतिक विलासिताले कति सन्तुष्टि दिन सकेको छ, त्यो छुट्टै बहसको विषय हो । तर, दिनरात विपन्नको सेवामा खटिने यी डाक्टरले भने मानसिक सन्तुष्टि पाएको बताए । हुन पनि, झोलामा औषधि बोकेर झुपडी चहार्दा मिल्ने आत्मसन्तुष्टि विदेशिनेहरूको जीवनमा सायदै मिल्ला ।
गाउँमा न भौतिक सुविधा छ, न उपकरण र अन्य परीक्षण सेवा । तर पनि यी डाक्टरले एक दशक बिताइसके । भन्छन्, ‘ठूलो अस्पतालसँग ग्रामीण परिवेसको तुलनै गर्न मिल्दैन ।’
अध्ययनपछि चिकित्सकले थोरै समय भएपनि दुर्गममा बसेर काम गरिदिए मुलुकको स्वास्थ्य समस्या न्यून हुँदै जाने उनको धारणा छ ।
गाउँगाउँ डुल्ने अभियानसँगै उनले बिजुवारमा एउटा सानो कोेठामा क्लिनिकसमेत खोलेका छन् । ‘तर कमाउनका लागि हैन,’ उनी प्रष्ट पार्छन् । बिरामीका लागि डाक्टरसँग भेट हुने निश्चित ठाउँ पनि उपलब्ध होस भनेर क्लिनिक खोलेको हो । क्लिनिक सञ्चालन गरेको कोठा भाडा तिर्न र सहयोगीका लागि भनेर हुनेसँग मात्रै उनले ५० रुपैंया लिने गरेका छन् ।
उनी क्लिनिकमा मात्रै बिरामी कुरेर भने बस्दैनन् । झोलामा औषधि बोकेरै उनले विभिन्न गाविसका ५० भन्दा बढी स्थानमा निःशूल्क स्वास्थ्य शिविर गरिसके । प्यूठानका ४९ मध्ये ४४ गाविसमा उनले सेवा दिइसकेका छन् ।
उनलाई खोज्दै आउनेको संख्या दिनदिनै थपिदैँछ । छिमेकी जिल्लाहरू बाग्लुङ, गुल्मी, अर्घाखाँची र रोल्पाबाटसमेत सेवा लिन आइपुग्छन् । ती जिल्लाका गाउँमा पनि छिट्टै जाने उनको सोचाइ छ ।
यातायातको सुबिधा राम्रो नभएकाले प्युठानका गाउँहरू पुग्न सजिलो छैन । कतिपय गाउँ पुग्न त दुई दिनसम्म लाग्छ । उनी गाउँमा पुगेपछि स्वास्थ्य सेवा लिनेहरूको भीड लाग्छ । एक्लै व्यवस्थापन गर्नै सक्दैनन् । त्यसैले जिल्लाका विभिन्न सामाजिक संस्थाहरूसँग मिलेर पनि उनले काम गर्ने गरेका छन् ।
सुरुका दिनमा राजधानी छाडेर गाउँ छिरेकोमा धेरैले उनलाई गल्ती गरिस् भने । अहिले उनीहरू नै स्यावासी दिइरहेका छन् । त्यसो त उनले अरूलाई देखाउन यो बाटो रोजेका पनि हैनन् ।
भन्छन्, ‘सँधै मेरो ख्याल गरिरहने वृद्ध आमा खुसी देखेपछि मलाई कहिल्यै गलत गरेँ भन्ने नै लाग्दैन ।’
डाक्टर सुवेदीबारे थप एउटा व्यक्तिगत कुरा, उनले विहे गरेका छैनन् । ‘सुरुमा पढाई र पछि सेवाको बेफुर्सदीले विहेबारे सोच नै जन्मिन दिएन,’ उनको प्रष्टिकरण छ । अझै पनि उनलाई विवाहका लागि दबाब दिनेहरू कम छैनन् । अहिले डा. सुवेदी ‘सेवा’को अर्को नाम बनेका छन् । ‘सेवा मानव हितका निम्ति गरिन्छ । सेवामा स्वार्थ हुनुहुदैन, सद्भावका साथ गरिने सतकर्म नै सेवा हो,’ उनी भन्छन्, ‘सेवामा प्रेम, आनन्द र आत्मसन्तुष्टि हुन्छ । त्यो प्यूठानमा पाएको छु ।’ (बासुदेव न्यौपाने-स्वास्थ्य खबर)