दुर्गम जिल्लाको बिकट गाउमा एक निम्न बर्गीय परिबारमा जन्मिएकी थिइन् मिना कान्छो भाई गर्बमा हुदा लाहुर गएका बाउ अझै फर्केका थिएनन । तिन बहिनी मुनी जन्मिएको भाई पनि अहिले पाटी बोकेर स्कुल जान सक्ने भएको थियो ।
दिन भरि साहुको मेलामा मुजुरा गरेर बेलुका घर फर्किदा चोयाको डोको कम्मरमा बार हाते पटुका, खद्दडको सारी, ऊनीको पछ्यौरी, नाम्लो लगाएर बोकेकी तामाको गाग्री, उकाली ओरालीमा छचल्किदै पोखिने त्यो पानि, त्यो डोकाका प्वाल जस्तै भएक ति ढाकाका चोलीका पाटाहरु अनि भिजेको ति कपडा, सुईया सुस्केरा हाल्दै पिँढिमा पानीको गाग्री बिसाँउदा मिनाकी आमा रातको १० बज्ने गर्थ्यो । भाई बहिनि आमाको बाटो हेर्दा हेर्दै भोकै निदाउथे साहुको मेलामा खान दिएको अर्नी सबैका आखा छलेर पटुकीमा लुकाएर ल्याउने गर्थिन मिनाकी आमाले ।
केही घर बारी थियो मुस्किलले ६ महिना खान पुग्थ्यो बाउको कुनै खबर थिएन नत पैसा नै आउथ्यो सा-साना भाई बहिनीको जिम्बेवारी मिनाको काँधमा पनि आउदै थियो । उनि भर्खर १६ औ बसन्त पार गरेकी भएता पनि गरिबी र जिम्मेवारीको बोझले एक परिपक्क छोरी मान्छेको अबस्थामा पुर्याएको थियो । जसो-तसो ५ कक्षा सम्म उतृण भएकी हुदा भाई बहिनीलाई कखरा चिनाउन सजिलो पनि भएको थियो मिनालई । कसरी २/४ पैसा कमाउ र आमा र भाई बहिनीलाई पेट भरि खुवाउन सकिएला भनेर सोची रहन्थिन । यसै क्रममा पल्लो गाउमा एक जना लाहुरे आएको खबर सुनिन कतै आफ्नो बाउको कुनै खबर पो पाइन्छ कि भनेर मन भरी आसाको दियो बाल्दै सोध्न पुगिन कहिले काही मुजुरा (नाँच-गान) गर्न जादा चिनेको मुखिया बाजेको छोरा पो आएको रहेछ बाउको खबर त थिएन तर लाहुर बाट ल्याएको मिठा मिठा खानेकुरा र मरमसला भने मुखिनी बजैले सुटुक्क लुकाएर मिनाको हातमा थमाई दिइन ।
घरमा बोलाउने नाम बिर्खे भए पनि लाहुर गए पछी आफ्नो नाम बिस्वास राखेको रैछ मुखियाको छोराले । गोरो बाटुलो बान्की परेको अनुहार दुबै गालाका पाटा रगत चुहिएलान जस्तै राता-राता थिए भने ठुला ठुला आखा, अनार झैँ मिलेका दातका पंतिहरु, पुस्ट छाति हर्लक्कै बढेको जवानी साच्चै मिना स्वर्गकी परि जस्तै देखिन्थिन बिर्खेको आँखा फक्रदै गरेको मिनाको यौबनमा गएर टक्क अडिए । सर्लक्क परेको सरिर अग्लो राम्रो देखिन्थ्यो बिर्खे पनि लाहुरे जो पर्यो, के कम उ पनि लाहुर तिरका रमाइला कुराहरु सुनाउदै मिनाको मन जित्न थाल्यो केही बात चिज सकिए पछी मिना आफ्नो घर तर्फ लागिन । बिर्खे र मिनाको भेटघाटको क्रम बढ्न थाल्यो उनीहरु एक आपसमा नजिकिदै गए । बिर्खेले इन्डियाको बारेमा रमाइला कुरा गर्दा मिना अचम्म मानेर सुन्न थालिन, बिकट गाउमा जन्मेकी मिना मोटर गाडी बिजुली ठुला ठुला महल भनेको कस्तो हुन्छ, उनलाई पत्तै थिएन ।
बिर्खेले पनि मिठा मिठा सपना देखाउदै मिनाको मन जित्तै गयो यता गरिबीको चपेटामा च्यापिएर बस्दाको उकुस्मुकुस जिन्दगी थियो भने, उता लाहुरमा राम्रो लाउन मिठो खाना पाउने आस देखाएर आफ्नो प्रेम जालमा मिनालाई फसाउदै गयो । लाहुर गएर मिनालाई राम्रो नोकरी लगाई दिने र आफ्ना भाई बहिनिको जिम्मेवारी निभाउदै अलि ठुला भए पछी मात्र बिहे गर्ने बिस्वास दिलाए पछी मीनाले पनि इन्कार गर्न सकिनन् । लाहुर जान पाए कतै बाबा संग पनि भेट हुन सक्ने र २/४ पैसा कमाएर आफ्नो परिबारको मुखमा माड लाग्न सक्ने सम्भावना देखे पछी मन भरि सपना बुन्न थालिन घर चलाउनमा मीनाको अपरिहार्य भूमिका थियो कहिले घर नछोडेकी सोझी मिनालाइ बिर्खेको साथमा पठाउन आमा राजी थिइनन् न त मुखियाको परिवारले नै स्वीकार्ने अवस्था थियो । मिठो लाउने राम्रो खाने सपनामा मिना बिर्खे संग भागेर लाहुर जाने र धेरै पैसा पनि कमाउने आमा र भाई बहिनीलाई सुखी जीवन दिलाउने अठोट गरिन कहिलै घर नछोडेकी मिना एक नौलो संसारमा पाईला राख्दै थिइन् ।
मनमा अनेक संका-उपसंका अनि खुसी, कौतुहलता र आफन्त बाट छुटिनुको पीडाले रातभर निदाउनै सकिनन् । बिहानीको प्रहर कुखुरी बास्नु अगावै मिना घर बाट निस्किन र डाडाको चौतारीमा बिर्खे कुरेर बसेको थियो मिनालाई, दुबै जना भेट भए अनि भन्ज्यांगको बाटो ओराली लागे दिन भरीको हिडाई पछी गोधुली साझको झिस्मिसे उज्यालो रहदै बस चड्ने ठाउ सुर्खेत बजारमा आइपुगे । वोहो ! मिना पहिलो पटक सहरमा आएकी हुदा ति ठुला ठुला घर बजार मोटर गाडी देख्दा छक्क परेर हेरि रहिन कतै लाहुर भनेको यहि त हैन भनेर । बिर्खे उर्फ बिस्वासले मिनालाई जिस्काउदै भन्यो मिनु यही बजारमा तिमीलाई एक्लै छोडेर गए भने कसो गर्छौ नी ? यति सुन्दा मिना डराउदै मलाई कहिले कतै एक्लै छोडेर नजानुस है भनेर बिर्खेलाई चिरिप्प समातिन । हैन हैन ए काली किन डराएकी मैले त हासो पो गरेको नी, भन्दै मिनालाई फकाउन थाल्यो । यत्तिकैमा नेपालगंज जाने बस छुट्नै लागेको थियो दुबै जना बीचको सिटमा बसे जब बस छुट्यो मिना डरले आखा चिम्म पारिन ।
दोहोरि गीत गुन्जिएको थियो बसमा निकै नौलो अनुभूति बटुल्दै मिना झ्याल बाहिर चिहाउन थालिन । उता मीनाको घरमा बिहान मिनालाई नदेखे पछी आमा र भाई बहिनि धेरै चिन्तामा थिए बिर्खे पनि घरमा नभएको कारण दुबै जना भागेको अनुमान लगाएका थिए दुइ परिबार लगाएत गाउले हरुले । नेपालको बोर्डर कटाउन गाह्रो हुने हुँदा बिबाहित जोडी जस्तो भेषमा टिका पोते सिन्दुर र सारी लगाएर बोर्डर कटायो मिनालाई । भारतमा जता सुकै झिलिमिली सहर रेलमा चढेर गरेको यात्रा स्वर्ग भन्दा कम लागेको थिएँन मिनालाई निकै खुसि थिन । माटोको कपमा तातो तातो चियाको चुस्की लिदै गन्तब्य स्थानको कल्पनामा हराउदै गर्दा कति छिटो बम्बै शहर पनि आइ पुगेछ । बिहानको ५ बजे रेल स्टेसनमा उत्रिदा खेरि मान्छे नै मान्छेको भिडमा खुट्टा राख्ने ठाउ कतै छैन । न त आफ्नो भाषा न भेष कता कता नौलो र एक्लोपनको आभास भएको थियो मिनालाई । अब कहाँ जाने के गर्ने भन्ने बारे कुनै मेलो मेसो थिएँन ।
यति बेला आफ्नो गाउँ घरको सम्झनामा आखा रसाएर मिनाले गह भरि आँसु पार्दै बिर्खे संग भनिन, भो नेपाल नै फर्कौ है ? कति खर्च गरेर के कति जाल रचेर ल्याएको थियो बिर्खेले मिठा सपना देखाउदै भन्यो, लाटी के को नेपाल फर्किने नी ! तिम्रो बाबा पनि यहि हुनुहुन्छ । यो त लाहुर हो, अब धेरै पैसा कमाउनु पर्छ, तिम्रो बाबालाई खोज्न जाउ है पहिला भन्दै ट्याक्सीमा चढेर लगभग एक घन्टाको यात्रा गरे, त्यो एक घण्टा बिर्खे फोनमा कुरा गर्दै थियो, हिन्दी भाषा हुदा मिनाले बुझ्न सकिनन् । निकै उत्साहित मुन्द्रामा गफ गर्दै थियो, अब गन्तब्य पनि आइ पुगेछ । दुबै जना ट्याक्सी बाट ओर्लिएर सागुरो गल्लीको बाटो हुदै करिब १५ मिनेटको पैदल यात्रा पछी एउटा घरमा पुगे । एक अधबैसे मोटी महिलाले ढोका खोल्दै भित्र पस्ने अनुमति दिइन् । दुवै जना भित्र पसे मिनालाई त्यो ठाउँ निक्कै अनौठो लागेको थियो । बिर्खे र ति महिला खस्यांग खुसुंग के के कुरा गर्दै थिए । यत्तिकैमा एक महिलाले मुसुक्क हास्दै चिया लिएर अगाडि राखि दिइन, बिर्खेले भन्यो मिनु तिमी चिया पिउदै गर म बाथ रूम गएर आउछु ल ! भन्दै निस्केर हिड्यो ।
धेरै बेर सम्म बिर्खे फर्केर नआए पछि मिना आत्तिदै इसाराको भरमा ति मोटी महिला संग सोधिन म संग आएको मेरो साथी खै त ? जवाफ आउछ, अब उ फर्केर आउदैन तिमीलाई बेचेर गएको हो र यहाँ आउने ग्राहकलाई तिमीले खुसि पार्नु पर्छ । लौ यि कपडाहरु लगाएर तिमी तयार भएर बस भन्दै ति मोटी महिला मुखमा पान चबाउदै बेचिएकी अर्की महिलालाई पुकार्दै मिना लाई तयार पार्न र काम सिकाउन अनुमति दिइन । यस्तो कुरा मिनाले प्रष्ट रुपमा बुझ्न त सकिनन् तर अब बिर्खेले उनलाई अन्जान ठाउमा एक्लै छोडेर गएको कुराले छाँगा बाट खसे जस्तो भएर हतास हुँदै डाँको छोडेर रुन थालिन । ति अर्की महिलाले मिनालाई समातेर अर्को कोठामा लगिन र धेरै सम्झाउने कोसिश गरिन म पनि तिमि जस्तै दुस्ट पापीको फन्दामा परेर बेचिन पुगेकी हु अब जति रोए पनि कराए पनि हाम्रो आवाज सुन्ने कोही हुदैन । कति सपना बोकेर आएकी एक गाउँकी सोझी चेली आज बेस्यालयमा बेचिनु पर्दाको पिडा कस्तो थियो होला त्यो हामी कल्पना पनि गर्न सक्दैनौ ।
हो यो यथार्थ थियो ! मिनालाई त्यहाँ धेरै यातना दिदै अस्मिता लुटिदै गयो अस्विकार गर्दा चुरोटका ठुटाले अंग अंग पोली दिन्थे आफ्नो गाउ सा-साना भाई-बहिनी र आमालाई सम्झेर कति रोइन कति । उनैको सुन्दर भविष्य बनाउने र हराएको बाबा लाई खोजेर घर लैजाने मिठो सपना आज यसरी चकना चुर भएको थियो । अब मिनालाई त्यो नर्कमा जिउने मन पटक्कै थिएन बारम्बार मर्नु भन्दा एकै पटक मर्न चाहन्थिन तर खोजेको बेला कालले पनि साथ नदिने रहेछ पंखा मा झुन्दिएर् मर्न खोज्दा उनको सल च्यातियो लडेर भुइमा झरिन । झ्याल बाट हाम फाल्न नखोजेकी पनि हैनन, तर सबै बन्द थिए खोल्न सकिनन् ।
एउटा बन्द कोठामा कठै ति हाम्री नेपाली चेली काललाइ गुहार्दै उत्तरबाट बग्ने हावा संग अनुरोध गर्छिन, ए मेरो नेपाल बाट बहदै गरेको पवन मलाई मृत्यू पठाई दे न ! यहाँ यि दरिन्द्रहरुले लुछेर पटक पटक मर्नु भन्दा म एकै पटक मर्न चाहन्छु । हे भगवान ! मलाई काल पठाई देउ न, मेरो सोझोपनको फाइदा उठाउने त्यो पापी दुष्ट बिर्खेलाई किरा परोस् भन्दै सराप्दै आफ्नो भाग्यलाई धिक्कार्दै रुदै कराउदै छटपट्टिदै जिउदो लास बनेर बाच्न बाध्य छिन् हाम्री नेपाल कि चेली मिना बम्बैको त्यो कालो कोठरीमा ।
(लेखिका बैदेशिक रोजगारीको सिलसिलामा हाल इजरायलमा कार्यरत हुनुहुन्छ )
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल: इजरायल