काठमान्डू चैत्र २४,
विश्व नारी साहित्य सम्मेलन जेठमा हुने
डा.वानीरा गिरीलाई पाँच लाख रूपियाँको पुरस्कार
त्रिमूर्ति निकेतनबाट गठित 'विश्व नारी नेपाली साहित्य सम्मेलन' आगामी जेठ १५, १६ र १७ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनमा नेपालभित्रका १४ अञ्चल र नेपाल बाहिरका २० राष्ट्रका नारी स्रष्टाहरूले कार्यपत्र मार्फत् आआफ्नो उपस्थिति जनाउने छन् ।
सम्मेलनमा भाग लिने राष्ट्रहरूमा अफ्रिका, अमेरिका, अस्टि्या, अस्ट्रेलिया, इजरायल, ओमान, द.कोरिया, क्यानाडा, चीन, जर्मनी, जापान, नर्बे, पोर्चुगल, फ्रान्स, बहराइन, बेलायत, भारत, भियतनाम, म्यान्मा, स्विट्जरल्यान्ड रहेका छन् ।
सम्मेलन समारोहमा 'नेपाली साहित्यका विश्व नारी रत्न' डा. वानिरा गिरीलाई पाँच लाख रूपियाँ राशिको पुरस्कार सहित 'नेपाली साहित्यका विश्व नारी रत्न' को औपचारिक उपाधि प्रदान गरिने छ ।
सम्मेलनमा सन्ध्या पहाडी र सुनीता कार्की संयोजक र सहसंयोजक रहेको केन्द्रीय स्वागत समितिको पनि गठन गरिएको छ ।
सो सम्मेलन'का अवसरमा १४ वटा पुस्तक प्रकाशन गरिने छन् । जसअनुसार सन्ध्या पहाडी र रजनी ढकालको सम्पादनमा विश्व नारी नेपाली कविता, इन्दिरा शाह र उषा हमालको सम्पादनमा विश्व नारी नेपाली कथा, उषा शेरचन र गीता कार्कीको सम्पादनमा विश्व नारी नेपाली निबन्ध, बाबा बस्नेत र ललिता दोषीको सम्पादनमा विश्व नारी नेपाली नाटक र प्रा.डा.उषा ठाकुर तथा लीला लुइटेलको सम्पादनमा विश्व नारी नेपाली समालोचना प्रकाशित हुनेछन् ।
साथै नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको सम्पादनमा कवितामा वानीरा, वानीरा गिरीको कृतिस्तम्भ, विश्व नारी नेपाली साहित्यको रेखाङ्कन र चौध अञ्चलमा नारी साहित्य नामक ग्रन्थहरू पनि त्यसै सम्मेलनका अवसरमा प्रकाशित हुने भएका छन् ।
त्यसै गरेर रजनी ढकाल, गीता त्रिपाठी र ज्ञानु अधिकारीद्वारा लिखित विश्व नारी नेपाली साहित्यः परम्परा र प्रवृत्ति, प्रा.डा. गार्गी शर्माद्वारा लिखित विश्व नारी नेपाली साहित्य विवेचना, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईद्वारा लिखित विश्व नारी नेपाली स्रष्टा कोश र नरेन्द्रराज प्रसाईद्वारा लिखित नेपाली साहित्यका विश्व नारी रत्न वानीरा गिरी र त्रिनारी रत्न नाउँका कृति पनि प्रकाशित हुने भएका छन् ।
सम्मेलन'मा काठमाडौं उपत्यका बाहिरबाट भाग लिन आउने अञ्चल सम्मेलनका सबै पदाधिकारी, जिल्ला सम्मेलनका अध्यक्षहरू तथा भारतबाट आउने नारी स्रष्टाहरूलाई यातायात खर्च दिइने छ ।
सम्मेलनमा पचास लाख रूपियाँ खर्च हुने अनुमान गरिएको छ ।
(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
त्रिमूर्ति निकेतन