सर्लाही चैत २२,
चूडामणि वाग्ले : पोखरीको पानी राम्रो मानिदैन । किनभने त्यसमा स्वच्छ पानी प्राप्त हुदैन । निकास नहुने भएकाले जमेर वस्ने पानीमा फोहर भरिन्छ । त्यसैले त्यस्तो पानी सेवन नगर्ने मात्र हैन, अन्य प्रयोग गर्नु र पशुहरुलाई प्रयोग गराउनु पनि हानीकारक मानिन्छ ।
माछाले त्यो पानी पचाउछ र उत्पादन दिन्छ भने त्यो राम्रो भयो । तर त्यहा मानिस नै गएर माछा जस्तै सन्सार यही हो भन्न थाल्यो भने त्यो मानिसको अवश्था राम्रो नहोला ।
आम रुपमा गुरुहरु पोखरीका पानी जस्ता होइनन भन्ने भनाई छ । जसरी नदीको शिरमा पानीको मुहान स्वच्छ हुन्छ । शिक्षकको ज्ञान त्यस्तै स्वच्छ, पवित्र र उपयोगी हुन्छ । त्यसैले परम्परा देखि नै ऋषि मुनीहरु सम्मानीत हुदै आए, अनि गुरुकुल देखि अहिलेसम्म पनि शिक्षकहरु सम्मानीत छन ।
उनीहरुले सत्य र न्यायको सहि ज्ञान दिने विश्वासमा लाखौ वालवालिकालाई विद्यालय पठाइन्छ । तर हाम्रोमा त्यस्तो छ कि छैन छ ?
हरेक पेशा व्यवसायमा सवै पक्ष राम्रै राम्रो नहोला । त्यहा राम्रो र नराम्रो पक्ष हुन्छ तर शिक्षण पेशा यस्तो हो जहा शिद्धान्ततः नराम्रा मानिसको अपेक्षा गरिदैन किनभने एउटा कुहिएको आलुले सयौ अरु आलु विगारे झै नराम्रो शिक्षकले सयौ वाललालिकालाई नराम्रो वनाउन सक्छ भन्ने मान्यता हो ।
त्यसेले शिक्षामा यस्तै त हो नि भनेर अन्य पेशा व्यवसायमा झै चित्त वुझाउन सकिदैन ।
यसरी हेर्दा हाम्रा शिक्षक कस्ता होलान । यदि शिक्षकहरुले एसएलसी जस्ता परीक्षामा विद्यार्थीलाई चोरी गर्न सिकाए भने त्यस्ता शिक्षकलाई के भन्न सकिएला ? प्रकारान्तरले आफुले पढाएका सवै विद्यार्थीलाई चोरी गर्न सिकाएर सक्षम चोर वनाउन खोज्ने शिक्षकलाई कस्तो सजाया दिनु पर्ला ?
अनि चोरी गराएको आरोपमा धमाधम परीक्षा केन्द्रवाट निष्कासित हुने हाम्रो देश÷जिल्लाका शिक्षकहरुलाई कसरी सम्मान गर्न सकिएला । उनीहरुले नियुक्ती पत्रमा शिक्षक पद नै उल्लेख गरेर पदवहाली गरिएको होला तर कामको आधारमा दिनु पर्ने पदवी चै के ?
आफु चोरी गराउने अनि अरुलाई पनि चोरी गर्न पाउने अधिकार हो भनेर मुर्खता वाड्ने, माथिल्ला निकायमा धेरै कडाई गर्नुृ हुदैन भनेर धम्की दिने, अभिभावक लाई उकास्ने तर पढाउनु पर्ने वेलामा भने राजनीति गरेर वा जुवा–तास खेलेर, अथवा आफ्नै स्वार्थमा समय विताएका विताएका गुरु वर्गहरुलाई कसरी सम्मान गर्ने ?
जात, वर्ग वा आश्थाको आधारमा शिक्षकलाई नियुक्ती दिन माग गर्नु, पढाई रोकेर सडकमा देखापर्नु, आफुले पढाउने विद्यालयका विद्यार्थीलाई भैसी चराउन पठाएर सदरमुकाम तिर हानिनु, सामुदायिक विद्यालयलाई ठगेर निजी तिर पढाउनु अनि विद्यालयमा भन्दा ट्युशनवाट असुली गर्नु, आफुकहा ट्युशनमा पैसा नवुझाउनेलाई दोश्रो दर्जाको व्यवहार गर्नु, विद्यालयमा जानेको कुरा सिकाउन पनि कप्टीपन देखाउनु तर रकम असुली हुने ट्युशन÷कोचिङमा राम्रै पढाउनु आदि इत्यादी विसंगति भएका मानव शिक्षक हुन कि होइनन ?
चोरि गरेर उतिर्ण गराउने ठेक्का तोक्ने, चोराए वापत रक्सीमासुको अफर गर्ने, राम्रो परिमाणको लागि परीक्षा कैन्द्र प्रमुखले घुस खाने, खुवाउने, आफुले पढाउने गरेको विद्यालयका विद्यार्थीलाई चोरि गर्न छुट दिए आफु ले परीक्षाको जिम्मेवारी लिएको विद्यालयमा पनि मज्जाले चोरी गर्ने वातावरण वनाउने, यस्तो कहि कतै भएको, देखेको, भोगेको अवश्थालाई के भन्ने ? अनि यो सवै व्यवहार शिक्षकलाई सुहाउने कुरा हुन ?
अनि आफुलाई मन नपरेको शैक्षिक सस्थाका विद्यार्थीलाई परीक्षामा व्यवधान गरि मानसिक यातना दिने वा आफुले भने अनुसार विद्यार्थीलाई चोर्न दिइएन भनेर शिक्षकलाई दवाव दिने जस्ता प्रवृत्तीलाई के नाम दिने ?
आफुले १३, १४ वर्ष पढाएका विद्यार्थीलाई सक्षम र आत्मविश्वासी वनाउन नसक्ने कतिपय शैक्षिक सस्थाले परीक्षामा आफु अनुकुल केन्द्र वनाउने, त्यहा गएर चोरीको वातावरण वनाउन लाखौ लगानी गर्ने, दैनिक आफु अनुकुल काम हुदै जादा भोजको बहार वढाउदै जाने यस्ता प्रवृत्तीका शैक्षिक सस्थाका साइनवोर्डमा के को शिक्षा दिने भनेर लेख्नु राम्रो होला ? विद्याको कि चोरीको ?
कठै, हाम्रा केही असल गुरुहरु, जसले शैक्षिक जीन्दगीभर आफ्नो आदर्शमा रहेर शिक्षा दिए, जो अहिले पनि आदर्शवान शिक्षा पस्कीरहेका छन, त्यस्ता होनहार शिक्षासेविहरुलाई पनि अव शिक्षक नै हुन भनेर कसरी भन्ने ? यस्ता सवै प्रपंच गरेर पनि शिक्षककै रुपमा समाजमा आफुलाई प्रस्तुत गर्नेहरुका अगाडी, शिक्षाको सही अर्थ वुझेर ज्ञान वाड्नेहरुलाई पनि शिक्षक नै भन्दा अन्याय हुदैन र ? त्यसको लागि अरु कुनै उपाधी दिएर शिक्षाको मुल आदर्श वचाउने कि ?
गुणस्तरीय शिक्षा दिने भ्र्रममा लाखौ खर्च गरेर सन्ततीलाई हामीले पढाउन पठाउने गरिएका निजी विद्यालयहरु, जसले अहिले विद्यार्थीलाई कस्तो शिक्षा वाडेका होलान ? यसको जवाफ दिन सचेत मानिसलाई अप्ठ्यारो लाग्छ किनभने उसलाई थाहा छ यो लगानी चोरीको लागि खर्च भइरहेको छ । जस्तै उदाहरण हेरौ एउटा ।
केही निजी विद्यालयले अहिले पनि कक्षामा मज्जासग ‘ज्ञान’ वाडिरहेका छन । उनीहरुले विद्यार्थीलाई पहिले पहिले परीक्षामा जति पनि चोरी गराउन सकिने तर अव धेरे कडा भएकाले तिमीहरुले कडा मेहनेत गर्नु पर्ने भयो । त्यसैले राम्ररी पढ्नु भन्दा रहेछन । यस्ता विद्यालयहरुको दृष्टिकोण र हाम्रा विद्यार्थीले सिकेर आउने शिक्षावाट के अपेक्षा राख्ने ? चोरी खुल्ला भएमा चै पढ्नु नपर्ने हो ?
विभिन्न कारणले विद्यार्थीलाई प्रभावित वनाएर अत्यधिक नम्वर ल्याउने अवश्था श्रृजना गरेका हुन्छन विद्यालयले ।
अनि एसएलसीमा छोरा छोरीले विशिष्ट वा प्रथम श्रेणी ल्याएपछि भौतारिएर घर जग्गा वेचेर प्राविधिक जस्ता महंगा विषय पढाउन वाध्य हुन्छन अभिभावक तर उसको पढाइएको स्तर फराकिलो नभएकाले त्यहा असफल हुने त्यो असफलताले अभिभावकको सम्पति गुम्ने र विद्यार्थीको जीवनप्रति नै मोह भंग हुने परिस्थितीवनाउने वातावरण वनाउने क्रम जारी छ । यस्ता शिक्षालयलाई के भन्ने अव सचेत अभिभावकले ?
आफुले मागेकै स्थानमा परीक्षा केन्द्र हुनु पर्ने, नभए सडक वन्द हुने, तोडफोड हुने, त्यसरी विरोध भए पनि स्थानीय प्रशासक लगायत सवैले हो मा हो मिलाउने, त्यहा त्यस्तै वातावरण वनाइदिने, कहि कहि गएर साराका सारा विद्यार्थीलाई निष्कासन गर्ने कहि छाडा प्रकारको परीक्षा चल्दा पनि मौनता साध्ने, यस्ता प्रवृत्ती पनि त हाम्रै समाजका उपज हुन नि ।
वर्षौ देखि विगारेको वातावरण, अनि आफ्नै गुरुहरुले चोरी गर, कोही आए भने हामी भन्छौ भनेर परिवन्धमा चोरी गराइएको विद्यार्थीको भविष्य वर्वात पार्ने कि चोराउने शिक्षकलाई ठिक गर्ने ? स्थानीय प्रशासक र शिक्षा अधिकारीले मनन गरुन ।
यस्ता धेरै विसंगति छन जुन लेखेर साध्य छैन । एउटा चलनचल्तीको कथा र हाम्रा गुरुवर्गको अवश्था सम्झदा एउटै झल्को आउछ ।
पहिले पहिले सानैमा विवाह हुने प्रचलन थियो । यस्तै वाख्रा चराउन गएकी सानी वुहारी अर्थात वालिकाको अवश्था वुझ्न ससुरा गए । वाख्रा चराउने ठाउँमा रहेकी वालिकालाई एकाएक ससुरा आएको देखेर लज्जा अनुभूति भयो । पहिले पहिले भित्री कपडा लाउने चलन पनि थिएन ।
आफैले लगाएको घाघर माथि उचालेर उनले मुख छोपिन । वालिका÷वुहारीले मुख छोपेर आफ्नो लाज त ढाकिन अव ससुरा भने त्यहा लाजले वस्न सकेनन । आफै त्यहावाट फनक्क घरतिर फर्किए ।
अव वालिका÷वुहारीलाई लाज हुनवाट वचाएर आफु पनि सम्मानजनक रुपमा वस्ने कि भागेर हिड्ने ? सवैले मनन गरौ ।
अन्तिम कुरा, चोरी गर्नु गराउनु पनि वुद्धि भएकैले गर्ने हो, चोरी गराएर रिजेल्ट सुधार्न यत्रो खुराफाती काम गर्न सक्षम गुरु वर्गहरुले चाहे भने शिक्षा क्षेत्रलाई पनि सुधार गर्न सक्ने तश्वीर प्रष्ट देखिएको छ । अव यस्तो नकारात्मक सोच सकारात्मक रुपमा प्रयोग गरौ । चोर हैन योग्य नागरिक उत्पादन गर्ने प्रण गरौ ।
(नव परिचर्चा)