बलात्कारबाट जन्मिएका बालबालिका, रुवान्डाका जातिहत्यामा भुलिएका पीडित I

किगाली चैत २२,

रुवान्डाका उन्नाइस वर्षीय डेविडलाई उसका आमाबाबुका विषयमा सोधियो भने ऊ यसको उत्तर दिँदैन । सन् १९९४ मा यहाँ भएको जातिहत्याका समयमा बलात्कारका कारण जन्मिएका हजारौँ बालबालिकाको अवस्था यस्तै छ । 

‘‘मेरा बाबु छैन, म भनिदिन्छु’’, डेविड भन्छन् । जातिहत्याको समयमा कति महिला बलात्कृत भए भन्ने कुरा सही रूपमा बताउन सम्भव छैन । यसरी बलात्कारमा परेकामध्ये धेरैको त्यस्तो घटनापछि तत्कालै हत्या भएको थियो भने जसले पीडा भोगे र बाँचेका छन् उनीहरू यस विषयमा बोल्न चाहँदैनन् । जाति हत्याको २० वर्षपछि वास्तवमा कति बालबालिका यस्ता बलात्कारबाट जन्मिए भन्ने कुरा अनुमान गर्न उत्तिकै कठिन छ । उक्त घटनामा करिब आठ लाख व्यक्तिको मृत्युभएको अनुमान गरिएको छ र मर्नेमा प्रायः तुत्सी थिए । वास्तवमा यस्ता विषयमा कुरा गर्नु अझै पनि बर्जित मानिन्छ । 

संयुक्त राष्ट्र सङ्घको मानव अधिकार आयोगको प्रतिवदन, सन् १९९६ मा त्यस समयमा बलात्कार नै नियम बनेको र त्यस्तो नभएको घटना अपवाद मानिने गरिएको उल्लेख गरिएको छ । बलात्कारको तथ्याङ्क नभएको र आमहत्या गर्ने अपराधीले यसलाई प्रणालीगत हतियारको रूपमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आफ्नो प्रारम्भिक विस्मय र क्रोधपछि डेविडले आफू बलात्कारबाट जन्मेको व्यक्ति भएको कुरा स्वीकार गर्नुवाहेक अन्य कुनै विकल्प नभएको बताए । उनले आफूले यस विषयमा थप जान्न चाहेको उल्लेख गरे । ‘‘मेरी आमा निकै गोरी छिन् र म कालो छु । उ कस्तो देखिन्थ्यो भन्ने म थाहा पाउन चाहन्छु’’ डेविडले आफ्ना बाबुका विषयमा भने । ‘‘उसलाई यस विषयमा विस्तृत रूपमा थाहा छैन र उसले प्रश्न सोध्न छोडिदिएको छ’’, उसकी आमा इस्टरले बताइन् । ‘‘मेरो छोरो धेरै बोल्दैन । ऊ वास्तवमै के सोचिरहेको छ भन्ने कुरा थाहा पाउन निकै कठिन छ ।’’ 

सन् १९९४ को अप्रिल ७ मा बहुसङ्ख्यक हुतुले जातिहत्या आरम्भ गर्दा तुत्सी जातिका इस्टर किगालीबाट भागेकी थिइन् । एक महिला समूहसँग प्रजातान्त्रिक गणतन्त्र कङ्गोतर्फ भाग्न खोज्दा सीमावर्ती स्यान्गुगु नगरमा एक लडाकूले उनलाई बलात्कार गरेका थिए । ‘‘एक महिलाले हामीलाई एक घरमा लुक्न भनिन् र उनले हामीलाई झुक्याएर स्थानीय लडाकू नेतालाई बेलाइदिइन्’’, उनले उक्त घटनाको सम्झना गरिन् । ‘‘हामीले त्यो रात नर्कमा वितायौँ’’ । जब उनले आफू गर्भवती भएको थाहा पाइन उनले यस विषयमा आफ्नी बहिनीलाई मात्र बताएकी थिएन । ‘‘जब मेरो छोरो जन्मियो तब उसलाई मायाँ गर्नुभन्दा मसँग कुनै विकल्प थिएन’’ उनले भनिन् । उनले आफूलाई बलात्कार गर्नेले आफूलाई एचआईभी सङ्क्रमित गरिदिएको पछि मात्र थाहा पाइन् र उनले यस विषयमा आफ्नो छोरालाई बताइन् । 

‘‘बलात्कारका विषयमा अझै पनि खुलेर बोल्न सकिन्न .... तर मानिसहरू यस विषयमा कुरा गर्न थालेका छन् । यस विषयमा अझै धेरै प्रगति गर्न बाँकी भए पनि परिस्थिति परिवर्तन भइरहेको छ,’’ सर्भाइभर फन्ड नामक गैरसरकारी संस्थाका स्यामुएल मुन्डेरेरेले बताए । यस संस्थाले बलात्कार पीडित व्यक्ति र परिवारलाई सहयोग गर्छ । ‘‘धेरै बालबालिकालाई आफ्नो विगतका विषयमा थाहा छैन र उनका आमाहरू यस विषयमा कुरा गर्न अस्वीकार गर्छन्’’, मुन्डेरेरेले बताए । उन्नाइस वर्षीया निरामविजाले आफ्नी आमालाई यस विषयमा प्रश्न गर्दा उनी पीडित हुने गरेकाले आफूले यस विषयमा प्रश्न नगर्ने निर्णय गरेको बताइन् । ‘‘मैले आठ वर्ष अगाडि उनका विषयमा प्रश्न गर्दा मेरी आमा रुन थालिन्’’, उनले भनिन । 

उनी किगालीको एउटा सानो माटोले जाडिएको इँटको घरमा बस्छिन् । पछि उनले प्रश्न दोहो¥याउँदा ऊ आमहत्यामा मारिएको उनकी आमाले बताइन् । ‘‘मैले सबै कथा बताएकी छैन किनकी म उनलाई दिक्क पार्न चाहन्न’’, ४२ वर्षीया अगस्टाइनले बताइन् । जाति हत्या आरम्भ हुनुअगाडि निरामविजाको जन्म भएको थियो । उनका पिता हुतु पसले थिए र उसले उसकी आमालाई यौनदासीको रूपमा सन् १९९३ देखि राखेका थिए । अगस्टाइनमाथि आमहत्याको समयमा दोस्रो पटक बलात्कार भयो । उनलाई त्यस समयमा धेरै व्यक्तिले धेरै दिन बलात्कार गरे । यसपछि उनले दोस्रो शिशु बालक जन्म दिइन् । जातिहत्यामा अगस्टाइनले आफ्नो सम्पूर्ण परिवार गुमाएकी थिएन र उनले आफूले सबै र आफैँलाई समेत घृणा गर्न थालेको बताइन् । 

उनले आफ्ना बालबालिकालाई पनि माया नगरेको र उनीहरूलाई देख्दा आफूले भोगेको कुरा सम्झने गरेको बताइन् । उनले पनि आफूलाई एचआईभी भएको पछि थाहा पाइन् । उनले छोरीमा एचआईभी नभएको र छोराले यसको परीक्षण गर्न अस्वीकार गरेको बताएन् । उनले छोराको पढाइ नराम्रो भएको र ऊ निकै रिसाहा भएको बताइन् । सर्फमा यस्ता घटनाको मानसिक अवस्थाका विषयमा परामर्शदाता एमिलिन काम्बिबीले अगस्टाइनका दुई बालबालिकाले वास्तविकता स्वीकार गर्न अस्वीकार गरेको बताइन् । आफ्नी आमाको मानसिक अवस्था र समुदायले गरेको अस्वीकारका कारण बलात्कारबाट जन्मिएका बालबालिकाले आफ्नो विगतका विषयमा हरेक दिन सम्झनुपर्छ । उक्त जातिहत्या भएको यसै महिना २० वर्ष नाघ्छ ।

स्यामुएल मुन्डेरेरेले धेरै महिलाले आफ्ना विगतका बारेमा बताउन अस्वीकार गर्ने भएकाले धेरै बालबालिका लाई यस विषयमा जानकारी नै छैन । गासासा नाम गरेको स्थानीय स्तरको न्यायाधीकरणले सन् २००१ देखि २०१० सम्म करिब २० लाख बलात्कारीलाई कारवाही गरेपछि यो कुरा भुल्न अझै कठिन भएको छ । यस प्रक्रियामा पीडितले लुकाएर राखेका धेरै घटना सार्वजनिक भएका थिए । पूर्वपीडितको सङ्घका प्रमुख इबुकाले यस्ता बालबालिकालाई आमा तथा बाबुका परिवार दुबैले अस्वीकार गर्ने गरेको बताउनुभयो । 

सन् १९९४ को डिसेम्बर ३१ पछि जन्मिएकाले बलात्कारबाट जन्मिएका बालबालिकालाई पीडितको रूपमा पनि हेर्ने गरिन्न । यसैले उनीहरूलाई सरकारले पनि सहयोग गर्न सक्दैन । सरकारले सहयोग आवश्यक पर्ने आमहत्याका पीडितका लागि राष्ट्रिय सहायता कोषमार्फत उपलब्ध गराएको अध्ययन सहयोग पनि उनीहरूले पाउन सक्दैनन् । रासस/एएफपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com