माडी वैशाख १३ ,
सरोज खनाल : माडी
समुदायमा आधारित पूर्व सुचना प्रणाली सम्वन्धि तीन दिने तालिम आज सम्पन्न भएको छ । समुदायमा आधारित विपद जोखिम व्यवस्थापन समिती माडीको आयोजना तथा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम र वृहत्तर विपद जोखिम व्यवस्थापन कार्यक्रमको संयुक्त सहयोगमा माडीको अयोध्यापुरी गाविसमा तालिम संचालन गरिएको थियो ।
तालिममा बाढी तथा डुवानबाट हुने जोखिम व्यवस्थापनका लागी पूर्व सुचना प्रणालीलाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण दिईएको छ । साथै पूर्व सुचनाका विषयमा बाढी तथा डुवानको जोखिममा रहेका माथिल्लो तथा तल्लो तटिय क्षेत्रविचमा समन्वयात्मक भुमिका बनाउने, पूर्व सुचना समितीलाई गतिशिलता प्रदान गर्ने तथा स्वचालित वर्षा मापन केन्द्र स्थापना गरिने लगायतका विषयमा जानकारी गराईएको छ ।
त्यसैगरि तालिममा कसरी विपदबाट बच्ने र विपद न्युनिकरण कसरी गर्ने , पुर्वसुचना कसरी प्राप्त गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । तालिमले माडी क्षेत्रमा हुने विपद जोखिम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नमा सहयोग पुग्ने सहभागिहरुले बताएका छन् । तालिममा जिल्ला विकास समिती चितवनका सम्पर्क व्यक्ति बलराम लुईंटेल, ईन्जिनिएर राजेश कोईराला, विभुति पोख्रेल, प्राक्टिकल एक्सनका परियोजना अधिकृत बुद्धि कुमाल, केयर नेपालका फिल्ड संयोजक मायानाथ घिमिरे लगायतले प्रशिक्षण दिनुभएको थियो ।