अस्थायी शिक्षक पेसाबाट विस्थापन हुने संभावना I

काठमाडौँ  बैशाख ८,

शिक्षा सेवा आयोगले स्थायी पदपूर्तिका लागि नतिजा प्रकाशन गरिरहेका बेला विसं २०६३ यताका अस्थायी शिक्षक पेसाबाट विस्थापन हुने संभावना बढेको छ। आयोगले गत वर्ष माध्यमिक तहका १३ हजार शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दै छ भने यसै साता प्राथमिक तहका शिक्षकको मौखिक (अन्तर्वार्ता) प्रारम्भ हुँदैछ। 

विसं २०६३ यता नियुक्त अस्थायी शिक्षकलाई पनि स्थायीको प्रक्रियामा सामेल गराउँदा अनुभवको अङ्क प्रदान गर्नुपर्ने तथा स्थायी हुन नसके पनि पेसाबाट अलग नगराउने विषयमा सरकार र शिक्षक सङ्गठनबीच विगतमा सहमति भएको थियो। 

सो अवधिभन्दा उता नियुक्त शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउने सहमति भएको थियो। हाल अस्थायी र राहत दरबन्दीमा गरी करिब ५५ हजार शिक्षक कार्यरत छन्। अस्थायी शिक्षकले गत पुसदेखि रत्नपार्कमा रिले अनशन गरिरहेका छन् भने राहत शिक्षकले शिक्षा विभागमा धर्ना दिइरहका छन्। 

अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष लालबहादुर विसी यही वैशाख २० गतेसम्म सो सहमति कार्यान्वयन नभए प्रचारात्मक र क्रियात्मक आन्दोलन गर्ने बताउँछन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव लक्ष्मण शर्मा अस्थायी र राहत शिक्षकलाई पेसाबाट विस्थापन नगर्ने गरी वा 'एक मुस्ट रकम' दिई सम्मानका साथ बिदाइ गर्नेलगायत विकल्पमा सरकार जानुपर्ने माग गर्छन।रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com