ललितपुर वैशाख ६ ,
दक्षिण भेगको प्रसिद्ध भैरव जात्रा लोप हुने अवस्थामा पुगेको छ । लेलेस्थित देवल गुठीले सयौं वर्षदेखि सञ्चालन गर्दै आएको जात्रा खर्च अभावमा लोपोन्मुख बनेको हो । गुठी संस्थाले आफ्नो ९ रोपनी जग्गा रैकर बनाएपछि जात्रा सञ्चालनमा थप समस्या भएको हो ।
जात्रा सञ्चालन गर्न गाविसले समेत उचित बजेट छुट्याउन नसकेको देवल गुठीका प्रमुख लक्ष्मीबहादुर श्रेष्ठले बताए । उनले भने, 'जात्रा सञ्चालन गर्न एक/दुई लाख रुपैयाँ आवश्यक पर्छ ।' गाविसले यस वर्ष पन्ध्र हजार रुपैयाँ मात्र उपलब्ध गराएको गुठीले जनायो । खर्च अभावमा जात्रा सञ्चालन गर्न नसकिएको लेले संस्कृति जागरण समिति अध्यक्ष राजकुमार श्रेष्ठले बताए । पूणिर्माका दिन मात्रै होमजप गर्न तीस हजारभन्दा बढी खर्च लाग्ने उनले जनाए ।
विगतदेखि मूल्यांकन गरी दिंदै आएको बजेटमा केही गर्न नसकिने गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले जनाए ।
पाँच दिनसम्म मनाउने जात्रामा पूणिर्माको दिन बुरुन्चुली, लेले र नल्लु खोलाको जल लगेर ध्यम्पोमा राखी विधिपूर्वक पूजाआजापछि बोका बलि दिने गरिन्छ । बोकाको टाउको खरानी नहुन्जेलसम्म होम गरी भैरव प्रतिस्थापन गर्ने चलन छ ।
जात्राको अन्तिम दिन जेलकुमारीको खट, बालकुमारीको खट र भैरवलाई गाउँ परिक्रमा गरी अन्त्यमा तल्लो टोल, माझटोल र माथिल्लो टोलमा सिन्दुर जात्रा गरी सम्पन्न गरिन्छ । यसरी भैरवलाई विधिपूर्वक जात्रा गर्दा समयमा पानी परेर प्रशस्त बालीनाली उब्जाउ हुने जनविश्वास रहेको पुजारी रमेश कर्माचार्यले बताए । (प्रशिक्षार्थी)
बिस्केट सकियो
भक्तपुर- प्रसिद्ध बिस्केट जात्राको अन्तिम दिन शुक्रबार साँझ भैरवको रथ तानेर सम्पन्न भएको छ ।
चैत २७ मा तौमढीबाट सुरु जात्रा गःहिटीमा भैरवको रथ तानेर सम्पन्न गर्ने परम्परा छ । जात्रा नववर्षको चार दिन अघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ मा सम्पन्न गर्ने गरिन्छ ।
काठैकाठले प्यागोडा शैलीमा निर्मित तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन् । रथलाई पाँच मन्दिर अगाडि तौमढीमा लगेर भैरव देवतालाई रथबाट झिकेर मन्दिरमा विराजमान गराएपछि जात्रा सम्पन्न हुन्छ । (प्रसान्ति माली-इकान्तिपुर)