मजार ए सरिफ वैशाख ६ ,
अफगानिस्तानका महिलाको अवस्थामा उल्लेखीय प्र्रगति हुन सकेको छैन । हुन त तालिवान शासनको पतनपछिको एक दशकभन्दा बढीको समयमा तुलनात्मक रूपमा महिलाको स्थितिमा सुधार आएको छ । अझै पनि त्यहाँ बहुसंख्यक महिला दयनीय हालतमा बाँचिरहेका छन् ।
सामाजिक मर्यादा एवं मुस्लिम महिलाका अनुशासनका नाममा उनीहरूले कुटिएर र गाउँलेहरूकै कथित कारबाहीबाट मारिनु परिरहेको छ । अफगानिस्तानको मजार ए सरिफ नगरको कार्पेट कारखानामा करिब दर्जन महिलाले कार्यरत छन् । उनीहरूले जीवन धान्ने यो नै एक मात्र आधार हो ।
'निकै कठिन काम गर्नु परिरहेको छ, गुजारा गर्न सकेका छैनौं,' ५० वर्षीया बार्गिनले भनिन् ।
उनले भनिन्, 'हाम्रो जीवन भनेकै कार्पेट हो, वर्षौंदेखि कार्पेटमा जीवन भरिरहेका छौं । उनले मासिक ५० अमेरिकी डलर आर्जन गर्छिन् । बार्गिनले यही आयबाट ६ जनाको परिवार चलाउँछिन् ।
उनी २० वर्षदेखि यही कार्य गरिरहेकी छन् । उनीसँग भविष्यका लागि कुनै बचत छैन । परिवारका आवश्यकता पुर्याउन पनि उनलाई हम्मे परेको छ । तालिवानहरूले घर भत्काइदिएकाले आफूहरू विस्थापित भएको उनले बताइन् अधिकारकर्मीहरूका अनुसार त्यहाँका महिलालाई बाँच्नै गाह्रो छ ।
महिलाहरूले पालना गर्नुपर्ने असहज रीतिरिवाज र कार्य छन् । तीमध्ये बालविवाह एक ठूलो चुनौती भएको उनीहरूले बताए । उनीहरूले केटा छानेर विवाह गर्न पनि पाउँदैनन् । अभिभावकले जुराइदिएकोसँग उनीहरूले विवाह गर्नुपर्ने बाध्यता छ । विश्वभर कट्टरपन्थी इस्लाम धर्मका प्रचारक बनेको तालिवानलाई जरैदेखि नउखेलेसम्म यो स्थिति कायमै रहने देखिएको छ । एजेन्सी :