कानून छक्याउने अपराधिहरु धमाधम पक्राउ हुँदै I

दोलखा, वैशाख ६ ,

अदालतले दोषी ठहर्‍याएकोहरुलाई कानुनी दायरामा ल्याउन दोलखा प्रहरीले चलाएको कारवाहीको क्रममा सातामै ५१ जना पक्राउ परेका छन् । अदालतले कैद सजाय र जरिवानाको फैसला सुनाएको चारसय २८ मध्ये ५१ जनालाई पक्राउ गरिसकिएको जनाएको छ । पक्राउमध्ये छ जनालाई कैद भुक्तानका लागि कारागार पठाइएको छ । 

४५ जनालाई तोकिएको जरिबाना तिराउन सफल भएको जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए । अदालतले विसं २०११ साल पुसदेखि फैसला गरेर सजाय दिन नसकेको विवरण जिल्ला प्रहरी कार्यालयमा पठाएपछि कारवाही थालिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । 'साता दिनमै ५१ जना पक्राऊ परे,' उनले फैसला अनुसार पाँच रुपैयादेखि तीन बर्षको कैदको फैसला सुनाइएकाहरुलाई पक्रन सकेको बताए । २०६२ सालदेखि फैसला कार्यन्वयन हुन नसकेको अवस्थामा जवरजस्ती करणी मुद्दामा तीन बर्ष जेल सजाय तोकिएका भीमेश्वर नगर- १२ का हरि शाहलाई पक्राउ गरेर कारागार चलान गरिएको छ । 

प्रहरी अभियानअन्तर्गत जवरजस्ती करणी प्रमाणित भएको फैसलापछि पक्राउ परेका जिरीका गाविन्द परियार नेपालीलाई पनि दुई बर्षका लागि कारागार चलान गरिएको छ । चोरी गरेको अभियोगमा एक बर्ष नौ महिना कैद सजाय तोकिएका घ्याङसुकाठोकरका जयबहादुर कार्कीलाई पनि पक्राऊपछि कारागार पठाइएको छ । ०५७ सालमा कर्तव्य ज्यानमार्ने अभियोग लागेका सुस्पाका कृष्ण थामी पनि ११ महिना १७ दिनका लागि थुनामा गएका छन् । 

०५६ सालमा घ्याङसुकाठोकरका ढालबहादुर कार्की चोरी घटनामा संलग्न ठहर गरिएपछि फरार उनलाई एक महिना छ दिनका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । फरार बहुबिवाह गर्ने जोडी राजु वस्नेत र गोपिनी खड्कालाई दुई बर्षका लागि जेल पठाइएको छ । अदालतबाट दोषी ठहरिएपछि सजाय नभोगी भागेर बसेका र सामान्य जीवन यापनमा रहेकाहरुलाई खोजीपछि जरिवाना तिराउने कार्य पनि तीब्र पारिएको छ । प्रहरीका अनुसार फैसला अनुसार ओमबहादुर केसी र सावित्री तमाङले पाँच रुपैया जरिवाना तिरेका छन् । 

अहिलेसम्म सबैभन्दा बढी जालसाछी मुद्दाका अभियोगी मागापौवाका भरत ढुङ्गेले फैसला अनुसार एक लाख ६५ हजार ४२८ रुपैया तिराइएको छ । दोलखामा फैसला कार्यन्वय गराउँदा करिब सात करोड राजश्व संकलन हुने अनुमान छ । त्यसैगरी करिब पाँच सय बर्ष कैद भुक्तान गराउन बाँकी छ । प्रहरीको यो अभियानले ४० बर्ष अघि अपराध ठहर भएकाहरु पनि कानुनी दायरामा आएका छन भने कतिपयको मृत्यू भैसकेको पाइएको प्रनाउ सुरेशप्रसाद काफ्लेले बताएका छन् । (राजेन्द्र मानन्धर-इकान्तिपुर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com