कविता, नव वर्ष आयो : By, कोमल भट्ट



कविता -नव वर्ष आयो

छायो वसन्त ऋतु लौ जगतै रमायो 
उत्साहले विगतको पिर नै भुलायो 
नौलो खुसी र सपना अव सल्वलायो
बिर्सौं कुभाव सवले नव वर्ष आयो ll १ ll

कर्तव्य के छ जनको यति बुझ्नु होला 
ऐले सुकर्म नगरे पछि चित्त रोला 
सद्बुद्धि लिन्छ जसले उसले सपार्यो 
त्यागौँ मुटाव सवले नव वर्ष आयो ll २ ll

रोयो दुखेर मन हर्दम देश दुख्दा
खप्नै सकिन्न यसरी सुख शान्ति लुक्दा
खोजौं जवाफ कसले गति यो वनायो ? 
राखौँ मिलाप सवले नव वर्ष आयो ll ३ ll

ठूलो र सानु नभनौं अति पर्छ चोट
केको विभेद यिनमा जव छैन खोट ?
त्यो हो विसाल जसले समता जनायो 
मायाँ छरौं न सवले नव वर्ष आयो ll ४ ll

मेरो छ है सकलमा 'शुभकामना' यो 
फ्यालौं विचार ननीका नगरौं ढिला त्यो 
साँच्चै उमङ्ग अनि कोमलता पलायो 
बाँडौ कि प्रेम सवले नव वर्ष आयो ll ५ ll

(वसन्ततिलका छन्द) ८ अक्षरमा विश्राम 

कोमल भट्ट 
पुरानो नैकाप,काठमाडौँ
 हाल:- न्युयोर्क

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com