कविता, ' खाँचो ' By, बज्र कुमार थुलुङ्ग राई



यो
नितान्त
निर्जन
जीवनको जर्जरता
कसरी पार गरुँ!
यतिबेला मलाई
तिम्रो आदर्श प्रेमको खाँचो परेको छ प्रिय!

एकपटक,
तनमन खुम्च्याएरै
भाग्यलाई धिक्कारेरै
मिक्ष्रित भैदेउ-
म र मभित्रका
असीमित चाहनाहरुसँग।

म 
तिम्रो कृपालु साथले
फैलिन चाहन्छु]
झाँगिन चाहन्छु
मौलाउन चाहन्छु
जिन्दगीको नांगो पहाडभरी।

म भित्र
अटसमटस
बिषाप्त विवशताहरुको ज्वालामुखि फूटेर
बग्न चाहन्छु-
रगत, आँशु र पसिनाको
समुद्र भएर
त्यो फेरी फेरी,
नफुट्ने 
नटुट्ने
नबग्ने गरी
आफूभित्रभित्रै।

हेर न प्रिय!
म र मेरा गतिशील पाइलाहरु
बाध्यताका चरम पहाडहरुले
थुम्काथुम्की, घुम्ति र अनगिन्ती मोडहरुले
छेकिरहेछन् \ रोकिरहेछन् \ अन्मलाइरहेछन्

एक निमेष नै सही,
मेरो दृष्टिको सम्मुख
हाम्रो त्यो स्वप्निल हिमचुली
कुल्चन चाहन्छु प्रिय!
कतै मेरा पाइलाहरुसँग
तिमी नहिंडेर पो हो कि!
या तिमीभित्र मलाई
तिमीले
मेटेर \ च्यातेर \ फालेर पो हो कि!
म नासिंदै छु
भासिंदै छु
विक्षिप्त मनभित्रभित्रै।
यतिबेला मलाई
तिम्रो आदर्श प्रेमको खाँचो परेको छ प्रिय!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com