नौ महिलालाई नरदेवी सम्मान Photo Feature , , ,

-मीना शर्मा
सेलिब्रेटिङ वुमनहुडले २० फागुनमा विभिन्न क्षेत्रमा अगुवाई गरिरहेका नौ महिलालाई ‘सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मान २०७०’ बाट सम्मानित गर्‍यो । सामाजिक, राजनीतिक र आर्थिक पक्षमा सकारात्मक नतीजा ल्याउने महिलालाई सम्मान गरेको सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मानकी संयोजक एवम् अवधारणाकार श्रृजनासिंह योञ्जनले बताइन् ।

सम्मानित हुनेमा नन्दादेवी कुँवर, बन्दना दनुवार, ऋतु ग्याम्दन, ईश्वरी बानियाँ, मीना खरेल, कल्पना कार्की, लक्ष्मी भुषाल, केशरी थापा र पार्वती डगौरा छन् । उनीहरुले आ–आफ्नो क्षेत्रमा अनुकरणीय योगदान पुर्‍याएका छन् ।

नन्दादेवी कुँवर :

कैलालीकी कुँवर बन संरक्षणविद् हुन् । स्थानीय वनको संरक्षण र सदुपयोग गर्ने विषयलाई राष्ट्रिय तहमा ल्याउन उनले महत्वपूर्ण योगदान दिएकी छन् । कैलालीको मधुमालती सामुदायिक बन संरक्षणको बेलामा उनीमाथि काठतस्करहरुले आक्रमण गरेका थिए । तर, अझै पनि उनी बन संरक्षणमा क्रियाशील छन् ।

बन्दना दनुवार :

रेडियो उदयपुरकी स्टेशन मेनेजर हुन्, बन्दना । महिलाहरुद्वारा संचालित रेडियो उदयपुरमा ३०वर्षभन्दा कम उमेरका कार्यक्रम उत्पादक तथा प्रशारकहरु छन् ।

ऋतु ग्याम्दान :

रसुवाको दुर्गम गाउँ लहुरेपौवा–१ मा जन्मेर हुर्किएकी ऋतु र्‍याफ्टिङ तथा ट्रेकिङ गाइड हुन् । उनले तीन दिदीबहिनीसँग मिलेर हिमालयन एड्भेञ्चर गल्र्स कम्पनी पनि खोलेकी छन् । उनले र्‍याफ्टिङ गाइड तालिम पनि दिइरहेकी छन् ।

ईश्वरी बानियाँ :

एचआईभी संक्रमित तथा प्रभावित महिलाहरुको संस्था हो, मकवानपुर महिला समूह । यो समूहकी अगुवा हुन्, ईश्वरी । २०५९ सालदेखि उनी एचआईभी संक्रमितको पक्षमा निरन्तर क्रियाशील छिन् ।

मीना खरेल :

चितवनमा महिलाको पक्षमा आन्दोलनको शुरुवात गर्नेमध्येकी एक हुन्, मीना । उनले स्थापना गरेको नारी विकास केन्द्रले महिलालाई संगठित गर्ने र महिलाको पक्षमा काम गर्छ । उनले हिंसा खेपेर बसेका धेरै महिलालाई प्रशासनसम्म लगी पीडकलाई कठघरमा उभ्याउने सेतुको रुपमा काम गर्दै आएकी छन् ।

कल्पना कार्की :

सिन्धुपाल्चोकमा विपन्न परिवारमा जन्मिएकी कल्पनाले जमिनमाथि महिलाको स्वामित्व स्थापित गर्न नेतृत्व गरिन् । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रमार्फत् उनले सम्पत्तिमाथि महिलाको पहुँच र नियन्त्रण कायम गर्ने अभियान चलाइरहेकी छन् । उनको अभियानकै प्रभावले सरकारले संयुक्त जग्गा धनीपूर्जा बनाउँदा एक सय रुपैंया मात्रै राजश्व तिर्नुपर्ने नीति ल्यायो ।

लक्ष्मी भुषाल :

भुषालले आफ्नो जीवनको ५५ वर्ष रेडियो नाटकको माध्यमबाट कलाकारितामा बिताइसकेकी छन् । रेडियो नेपालमा कृषि कार्यक्रमकी ‘बुढीआमै’को रुपमा पहिचान बनाएकी उनले नाटकमार्फत् नेपाली समाजलाई योगदान दिएकी छन् ।

केशरी थापा :

दृष्टिविहिन बालबालिकालाई शिक्षा बाड्ने अभियानको अगुवा हुन्, थापा । उनले २१ वर्षदेखि पूर्वाञ्चल ज्ञानचच्क्षु विद्यालयमार्फत् दृष्टिविहिन बालबालिकालाई शिक्षा दिँदै आएकी छन् ।

पार्वती डगौरा :

उनी सानैदेखि कमलरी थिइन् । तर, उनी कमलरी नबस्ने मात्र होइन मुक्त कमैया आन्दोलनमा लागिन् । कञ्चनपुर भूमि अधिकार मञ्चको अध्यक्ष उनी भूमिहीनहरुका आवाज बोल्ने अभियानकर्ता हुन् ।

तस्वीरहरुः देबकी विष्ट (हिमाल खबर बाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com