दाइजो लिनेसँग अदालतले ढेड लाख लियो I

राजविराज फाल्गुन २२, 

सप्तरी जिल्ला अदालतले दाइजोबापत नगद र गरगहना लिने यहाँका एक आरोपितसँग एक लाख ५० हजार रुपैयाँ धरौटी लिएको छ । सप्तरीको पत्थरगाढा गाविस–६ का ४५ वर्षीय राजकुमार साहसँग मङ्गलबार अदालतले धरौटी रकम लिएरमात्र पुर्पक्षका लागि रिहा गरेको छ । 

जिल्ला न्यायाधीश पुष्पराज थपलियाको आदेशमा आरोपित साह एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् भने निजका बुबा ६२ वर्षीय विन्दु साह साधारण तारेखमा रिहा भएका छन् । राजकुमारका छोरा सन्तोषकुमार साह भने हालसम्म फरार रहेका छन् । आरोपित राजकुमारले २५ वर्षीय छोरा सन्तोषसँग सिम्राहा सिङ्ग्यौन गाविस–७ का जगतकिशोरकी छोरी २२ वर्षीया आरतीकुमारी साहसँग बिहे गर्न भनी बिहे अगावै दाइजो लिएका थिए । 

दाइजो लिनेहरूविरुद्ध जगतकिशोरले गत जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितद्वयलाई प्रहरीले माघ २४ गते गिरफ्तार गरेको थियो । राजकुमारले राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंकमा आफ्नो नाममा रहेको बचत खाता नम्बर २१८००३३९८३१० मा ०६९ साल चैत २० गते रु एक लाख ५० हजार जम्मा गराउन लगाएका थिए । आरोपितहरूले ०६९ साल चैत २५ गते दाइजोस्वरुप थप रकम, मोटरसाइकल र सुन माग्दै नदिए बिहे हुँदैन भनेर लिएको रकमसमेत फिर्ता नगरेपछि पीडित पक्षले प्रहरीमा मुद्दा चलाएको थियो । रासस : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com