वासिङ्टन, चैत्र १५ ,
अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार एक अन्तरवार्तामा तनाव कम गर्न रुसले युक्रेनको सीमाबाट सेना फर्काउनुपर्ने बताएका छन् । उनले यसबारे वार्ता सुरु गर्न सुझाव पनि दिएका छन् ।
ओबामाले सीबीएस न्युजलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमामा सेना जम्मा गर्ने निर्णय गरी युक्रेनलाई तर्साउन खोजेको वा आफूसँग अर्को योजना भएको देखाएको आरोप लगाएका छन् ।
युक्रेनको सीमामा प्रशस्तै रुसी सैनिकको आवागमन छ । ओबामाले आफ्नो अन्तरवार्तामा रुसलाई युक्रेनी सरकार तथा अन्तर्राष्ट्रिय समुदायसँग प्रत्यक्ष वार्ता थाल्नुपर्नेमा जोड दिएका छन् ।
सोभियत संघको पतनका कारण आफूभित्र दबेको गुनासो पुटिनले देखाउन चाहेको उनले बताए । ओबामाले शीतयुद्धताका कायम रहेको अभ्यास पुनः गर्न नहुने चेतावनी दिएका छन् । उनले रुसमा राष्ट्रवाद तथा पश्चिमी मुलुकले विगतमा फाइदा लिएको धारणा व्याप्त रहेको बताए ।
पुटिनले पश्चिमा र अमेरिकी विदेश नीतिलाई गलत रूपमा बुझेको ओबामाले भनेका छन् ।
युक्रेनी जनताले आफ्नो बारेमा निर्णय गर्न पाउनुपर्ने बाहेक अमेरिकाको अन्य कुनै अभिरुचि नभएको उनले बताए । अर्कोतिर पुटिन भने आफ्नै अडानमा छन् । उनले शुक्रबार रुसी सशस्त्र सेनालाई मस्कोले क्रिमिया युक्रेनबाट लिँदा निभाएको भूमिकाका लागि बधाइ दिएका छन् ।
उनीहरूले रुसी सेनाको नयाँ क्षमता प्रदर्शन गरेको पुटिनले भनेका छन् । उनले क्रिमियामा हालैका भएका घटना नयाँ परीक्षण भएको र यसले रुसी सेनाको गुण र कर्मचारीमा रहेको उच्च नैतिकताको भावना प्रदर्शन गरेको बताए ।
पुटिनले क्रिमियामा रुसी सेनाको प्रत्यक्ष संलग्नताको पुष्टि गरेका छन् । उनले त्यसमा हजारौं सशस्त्र सैनिक संलग्न भएको बताए ।
उनले पहिले क्रिमियालाई नियन्त्रणमा लिने सेना स्थानीय प्रतिरक्षा सेना भएको दाबी गरेका थिए । पुटिनले कृष्ण सागरको नौसेनामा सेवा गर्ने कमान्डर, अन्य कर्मचारी तथा क्रिमियामा रहेका सेनाका अन्य एकाइलाई उनीहरूको व्यक्तिगत सहासका लागि धन्यवाद व्यक्त गरेका छन् । एपी :