कृष्णसागरको मोती क्रिमियाको कथा . . .
आजभन्दा ठीक ६० वर्षअघि सन् १९५४ को २६ अप्रिलका दिन तत्कालीन सोभियत संघको सर्वोच्च सोभियतले रसियाली संघ तथा युक्रेन गणराज्यका सर्वोच्च सोभियतहरूको आकांक्षाअनुसार सोभियत सैनिक शिविर रहेको सेभास्तोपोलबाहेक क्रिमियालाई युक्रेन गणराज्यको मातहतमा प्रदान गर्ने निर्णय लिएको थियो ।
त्यतिखेर युक्रेन सोभियत संघकै एक गणराज्य भएको हुँदा आन्तरिक प्रशासकीय सीमामा हेरफेर गर्ने यस निर्णयप्रति कसैको आपत्ति नहुनु स्वाभाविकै थियो (युक्रेनकै सीमा पनि सोभियत संघको उदयका साथै विस्तार गरिएको थियो) । सोभियत संघ एउटै राष्ट्र रहुञ्जेल क्रिमिया रूस वा युक्रेन जसको मातहतमा रहे पनि कुनै फरक परेको थिएन, तर सन् १९९० मा सोभियत संघ १५ स्वाधीन राष्ट्रमा विभाजित भएपछि रूसी जहाजी बेडा रहेकाले केन्द्रबाटै प्रशासित हुने सेभास्तोपोल नगरबाहेक क्रिमियामा युक्रेनको एकलौटी अधिकार कायम हुन गएको थियो । पछि सन् १९९७ मा रूसका राष्ट्रपति बोरिस एल्चिनको निर्यायअनुसार सेभास्तोपोल पनि युक्रेनको मातहतमा रहने भयो । यसरी सोभियत संघको विघटनपश्चात् मात्र पूरै क्रिमिया वास्तवमा युक्रेनको भूभाग बन्न पुगेको थियो ।
अहिले युक्रेन गणतन्त्रमा सत्ता परिवर्तनको परिप्रेक्ष्यमा क्रिमियाको अप्रत्यासित अवस्थाप्रति सम्पूर्ण विश्वको ध्यान आकृष्ट भएको छ । नेपाली पाठकवृन्दलाई यहाँ म सोभियत कालमा कैयौंपल्ट यात्रा गरिएको क्रिमियाको समान्य परिचय दिन गइरहेको छु ।
कृष्णसागर तथा आजोभ सागरद्वारा परिवेष्ठित पूर्वमा केर्च र पश्चिममा तार्खानकुट प्रायःद्वीप रहेको उत्तर–दक्षिण २०० किलेमिटर चौडा र पूर्व–पश्चिम ३२५ किलोमिटर लामो भई २६ हजार २ सय वर्गकिलोमिटर भूभाग ओगटेर झण्डै चतुष्कोण आकार परेको क्रिमिया प्रायःद्वीप ३३–३७ पूर्वी देशान्तर रेखा र ४४–४६० उत्तरी अक्षाश रेखाभित्र कृष्णसागरको उत्तरी तटमा अवस्थित छ । उत्तरतिर झण्डै ८ किलोमिटर चौडा पेरेकोप भनिने जमीनको सोतोले नजोडेको भए यसलाई टापू भन्न सकिन्थ्यो । यस प्रायःद्वीपको दक्षिणमा रारीच अन्तरीप, पूर्वमा केर्च प्रायःद्वीपमा फोनार अन्तरीप र पश्चिममा तार्खानकुटमा कारा–मारुन अन्तरिप रहेका छन् ।
अधिकांश समुद्री तटले परिवेष्ठित यस प्रायःद्वीपको सीमारेखा २५०० किलोमिटर लामो छ । मानचित्रमा यसको आकारलाई कसैले अंगूरको झुप्पा त कसैले मुटुसंग तुलना गर्ने गरेका छन् । हुन त पखेटा पैmलाएर उडिरहेको चरासंग पनि त्यसलाई दाँज्न नसकिने होइन । चिलीका कवि पाभ्लो नेरुदाले चाहिं त्यसलाई ‘पृथ्वी ग्रहको छातीमा अत्यन्त चम्किलो पदक’ भन्ने उपमा दिएका थिए ।
क्रिमियाको धरातल र वनस्पति जगत् बहुरूपी छ ः कतै स्तपीको फाँट पैmलिएको छ भने कतै कोक्तेबेलको न्यानो पहाडी श्रृङ्खला छ, अनि कतै प्राचीन ज्वालामुखीको लाभा जमेर बनेको कारादाग चट्टान छ भने कतै क्रिमिया पर्वतश्रृङ्खलाको दक्षिणी काखमा समशीतोष्ण जलवायुयुक्त समुद्री तट रहेको छ । यहाँ गुफाहरूभित्र रहेका मन्दिर, पहाडी थुम्कोमा रहेका किल्ला, विभिन्न स्थानमा रहेका प्राचीन बस्तीहरूका खण्डहर, बाख्चीसरायका मिनार (बुर्जा), भव्य दर्वारहरू र हवेलीहरूले क्रिमियाको इतिहासको साक्षी बकिरहेको प्रतीत हुन्छ । यसको इतिहास निकै पुरानो छ ।
प्राचीन कालमा यो ताभ्रिकिया भनिन्थ्यो ।
जलवायुको दृष्टिले मात्र नभई प्राकृतिक सौन्दर्यको दृष्टिले पनि यो प्रायःद्वीप मनोरम छ । हाल यस प्रायःद्वीपको दक्षिणी भेकमा मुख्यतः रुसी (५९–६० प्रतिशत), उत्तरी क्षेत्रमा युक्रेनी (२४–२५ प्रतिशत) र मध्यवर्ती भागमा तातार (१३–१४ प्रतिशत) भाषाभाषी वासिन्दाहरूको बसोवास रहेको छ । यहाँप्राचीन कालमा एकपछि अर्को गरी ताभ्र, किम्मेरी, स्कीफ, सार्मात, गोट्ट, हुण, पेचेनेग, पेलोभेत्स आदि विभिन्न घुमन्ते जातिहरूले बसोवास गरेको पाइन्छ । ग्रीक जातिले यहाँ आफ्नो अमिट छाप छोडेको छ । ई.पू. सातौं शताब्दीमा यहाँ किम्मेर जातिको बसोवास थियो भने पहाडी इलाका र समुद्री तटमा त्यसभन्दा पनि पहिलेदेखि ताभ्र जातिको बसोवास थियो । यिनै जातिहरूको नामबाट यो क्षेत्र किम्मेरिया (क्रिमिया) र ताभ्रिया (ताभ्रिदा) भनिन्थ्यो । ईशापूर्व पाँचौं शताब्दीमा हाल केर्च रहेको स्थानमा बोस्पोर राज्यको राजधानी थियो । यहाँ नै स्कीफ जातिको राजधानी (हाल नेआपोल–स्कीप्mस्की) पनि रहेको थियो ।
ग्रीस (युनान) बाट बसाइँ सरेर आएकाहरुले यहाँ नगर–राज्यहरुको स्थापना गरेका थिए । ईशाको प्रथम शताब्दीदेखि यहाँ रोमको सैन्य राखिएको थियो । चौथो शताब्दीदेखि कृष्णसागरीय तटवर्ती क्षेत्रमा दोस्रो रोम भनिने भिजान्टियाको प्रभाव जमेको थियो र यहाँ आलुस्ता, गुर्जुफ, सुदाक, बालाक्लाभा र हेर्सोनेसमा अर्थाडक्स चर्चका आधारस्थलहरू रहेका थिए । यसको विपरीत सनातन शाश्वत धर्म मान्ने रूसले पनि यस क्षेत्रमा आफ्नो प्रभाव कायम राख्ने अथक प्रयास गरेको थियो । सातौ शताब्दीमा क्रिमियाको स्तपी क्षेत्रमा हाजारहरूको आधिपत्य कायम भयो, तर कीभ (प्राचीन कालमा सम्पूर्ण रूसको राजधानी) का राजा स्भ्यातोस्लाभले सन् ८६५ मा विजय हासिल गरे भने उनका पुत्र भ्लादिमिरले सन् ६८१–९८८ मा क्रिमियालाई कीभेली रूसमा सम्मिलित गरे ।
क्रिमियाको भूमिमा पहिलो शताब्दीमै आपोस्तोल आन्द्रेइले सर्वप्रथम क्रिश्चियन धर्मको प्रवेश गराएका थिए भनिन्छ । सन् ८६० मा स्लाभ अक्षरका आविष्कारक सन्त किरिल्ल र मेफोदिइ पनि यहाँ पुगेका थिए ।
दशौ शताब्दीमा क्रिमियाको खेर्सोनेस (हाल सेभास्तोपोल रहेको ठाउँ) मा कीभेली रूसका राजा भ्लादिमिरले क्रिश्चियन धर्मको दीक्षा प्राप्त गरेका थिए । रूसलाई अर्थाडक्स क्रिश्चियन धर्ममा दीक्षित गराउने यी प्रतापी राजाले क्रिश्चियन धर्म अपनाएपछि भिजन्तियासंग रूसको मैत्री सम्बन्ध कायम भयो । तेह्रौं शताब्दीतिर रूसमा बातिइको धावापश्चात् तातारहरुले यस प्रायःद्वीपमा आधिपत्य जमाए ।
पहिले सोल्हात (हाल स्तारी क्रीम) यस प्रदेशको राजधानी थियो भने ईशाको चौद्धौं–अठारौ शताब्दीमा बाख्चीसाराय क्रिमिया राज्य (तत्कालीन खान्स्तभो) को राजधानी बन्यो । सत्रौं शताब्दीमा क्रिमियामा आधिपत्य जमाउनका लागि रुस र टर्कीका बीच युद्ध छिडेको थियो र अन्ततोगत्वा सन् १७८३ को ८ अप्रिलका दिन रूसी सम्राज्ञी एकातेरिना द्वितीयाले क्रिमियालाई रूसमा समावेश गर्ने घोषणा जारी गरिन् । त्यसपछि कृष्णसागरीय जहाजीबेडाको आधारशिविर निर्माण गरिनुका साथै सिम्फेरोपोल, सेभास्तोपोल आदि नयाँ नगरहरू अस्तित्वमा आए । यसरी यो प्रायःद्वीप रूस साम्राज्यमा समावेश गरिएको २२० वर्ष पूरा भयो ।
सन् १९१७ को अक्टोबर क्रान्तिपश्चात् क्रिमिया रूस महासंघको मातहतमा रहने भयो र ४ वर्षपछि सन् १९२१ मा यो प्रायःद्वीप स्वायत्व गणराज्य घोषित गरियो । सन् १९४१ मा क्रिमिया हिटलरी फाशीवादी फौजको कब्जामा परेको थिया,े तर सन् १९४४ को १३ अप्रिलका दिन सेभियत सेनाले यो प्रायःद्वीप मुक्त गरेके थियो । त्यसपछि १८ मेईदेखि २४ जूनसम्म राजकीय सुरक्षा समितिको निर्णयअनुसार त्यहाँ बसोवास गरिरहेका क्रिमियाका तातार लगायत ग्रीक, अर्मेनियन, बोल्गार र जर्मन जातिका मानिसहरूको स्थानान्तरण गरियो (यसरी क्रिमियाबाट स्थानान्तरण गरिएका खास गरी तातार जातिका मानिसहरूले सन् १९८०–१९९० मा मात्रै आफ्नै थलोमा फर्कने मौका पाएका थिए) ।
सन् १९४५ मा क्रिमियाले स्वायत्व गणराज्यको स्तर गुमायो र एक अञ्चलमा परिणत गरियो । कृष्णसागरको किनारामा अवस्थित क्रिमिया प्रायःद्वीप सोभियत कालमा देशको प्रमुख स्वास्थागारको रुपमा प्रसिद्ध थियो ।
स्मरणीय के पनि छ भने क्रिमियास्थित रूसी जारहरूको ग्रीष्मकालीन ‘लिभादिया’ दर्वारमा नै द्वितीय विश्वयुद्धपश्चात् संसारमा शान्ति कायम राख्ने विषयमा हिटलरविरोधी मोर्चाका तत्कालीन विश्वका नेतात्रय रुज्वेल्ट (अमेरिका), चर्चिल (ग्रेटब्रिटेन) र स्टालिन (सोभियत संघ) को ऐतिहासिक भेटवार्ता भएको थियो र संयुक्त राष्ट्रसंंघको स्थापनाको खाका तैयार पारिएको थियो । अद्यापि मेचमा विश्वनेतात्रय बसेको शालीक त्यस दरवारको आँगनमा रहेको छ । त्यसै दर्वारबाट बीबीचमा विश्राम गर्ने मण्डपहरूसहित को रमणीय बाटो बनेको छ । पहिले त्यहाँ जार घुम्न निस्कने गरेको आधारमा त्यसले ‘जारको गोरेटो’ भन्ने नाउँ पाएको छ । मैले पनि दर्वारको अवलोकनपश्चात् त्यस बाटोमा हिंडेर माथिबाट तल समुद्री किनारको मनोरम दृश्य हेर्ने मौका पाएको थिएँ ।
क्रिमिया १४ प्रशासकीय क्षेत्रहरूमा विभाजित छ । यहाँ नगरहरूको संख्या १६, नगरीय बस्ती ७२ र ग्रामीण बस्तीहरु ९४९ गरी जम्मा १०२१ बस्तीहरु रहेका छन् ।
सन् १९९१ को २० जनवरीमा सम्पन्न गरिएको जनमतसंग्रहको परिणामस्वरूप क्रिमिया स्वाधीन युक्रेनअन्तर्गत स्वायत्त गणराज्य बनेको थियो र सन् १९९८ को २१ अक्टोबरदेखि लागू गरिएको आफ्नै संविधान क्रियाशील छ । सिम्फोरोपोलले राजधानीको भूमिका निर्वाह गर्दछ भने याल्टा कृष्णसागरीय तटवर्ती बन्दरगाह हो । सिम्फोरोपोलदेखि याल्टासम्म ट्रलीबस संचालन गरिएको थियो र त्यसमा नागबेली बाटोमा लामो सयर गर्नु निकै रमाइलो लागेको थियो । मिस्खोरमा रहेको आरामगृहबाट मास्को फर्कने क्रममा एकपल्ट सिम्फेरोपोल अवलोकन गर्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको छात्रावासमा पाहुना बन्न पुगेको अहिले सम्झना भएर आयो ।
सन् १९५४ मा तत्कालीन सोभियत नेता निकिता ख्रुश्चेभको अग्रसरतामा क्रिमिया प्रायःद्वीपलाई आर्थिक कारोबारद्वारा सम्बद्ध र प्रशासनको दृष्टिले पनि सजिलो पर्ने तर्कअन्तर्गन युक्रेनमा गाभिएको थियो । यस घटनाको ७–८ वर्षपछि म हिउदे बिदामा आप्mना सहपाठीको साथमा युक्रेनको स्ताराया ओजिृत्सा भन्ने गाउँमा पुगेको थिएँ ।
त्यतिखेर त्यहाँको प्रशासनिक भवनमा टाँगिएको फ्रेमदार फोटोमा ख्रुश्चेभको नाम निकिता लेखिनुपर्ने मा मिकिता लेखिएको देखेर मैले गल्ती छापिएको टिप्पणी गर्दा युक्रेनी भाषामा निकितालाई मिकिता भनिने स्पष्टीकरण पाएको थिएँ । युक्रेनवासीहरूले सोभियत नेताप्रति अपार सम्मान गर्नेगरेको अनुबोध भएको थियो । नीपर नदीको पानी नहरद्वारा क्रिमियामा पु¥याउने योजना सन् १९६३ मा पूरा गरिएको थियो ।
सोभियत कालमा विशाल देशका विभिन्न भागका मानिसहरु ग्रीष्मयाममा आराम गर्न देशको दक्षिणी भेकमा अवस्थित कृष्णसागर तटवर्ती सोची वा क्रिमियामा जाने गर्दथे । त्यहाँ स्वास्थ्यनिवास, विश्रामगृह, स्वास्थ्यशिविरमा आचार गर्ने टिकट प्राप्न नभएको खण्डमा स्वयं होटल वा कसैको घरमा कोठा लिएर समेत आराम गर्ने चलन थियो । रेडियो मास्को नेपाली सेवामा कार्यरत हुँदा मैले हरेक वर्ष सपरिवार ग्रीष्ममा क्रिमियाको दक्षिणी तटमा रहेको कुनै स्वास्थ्यनिवास वा आरामगृहमा २४ दिन सशुल्क आराम लिन जाने गरेको थिएँ ।
पहिलोपल्ट म त्यहाँको ‘पारुस’ भनिने स्वास्थ्यनिवासमा पुगेको थिएँ । त्यसको आसपास ‘जेम्चुजिना’, ‘उक्राइना’ आदि अन्य स्वास्थ्यनिवासहरु पनि थिए । साँझपख नजिकै रहेको ‘लास्तोच्किनो ग्नेज्दो’ भनिने चट्टानमाथि बनेको मनोरम हवेलीस्थित क्याफेमा चियापान गर्दै समुद्रको दृश्य हेर्न निकै रमाइलो हुन्थ्यो । कैयौंपल्ट ‘उक्राइना’ स्वस्थ्यनिवासमा पनि आराम लिइएको थियो । एकपल्ट त्यहाँ विश्राम लिइरहेकाहरुका लागि सेभास्तोपोल नगरको यात्रावलोकन गराउने कार्यक्रम थियो, तर मैले विदेशी भएको कारणले त्यसमा भाग लिने सम्भावना पाइनँ । मेरी पत्नीले त्या आराम लिइरहेका एक दम्पतिसंग सेभास्तोपोल हेर्न नपाइएको गुनासो गर्दा ‘यो कति ठूलो कुरो हो र’ भन्दै भोलिपल्ट नै उनले आफ्नै कारमा हामीलाई सेभास्तोपोल देखाउन लगेका थिए । उनी मास्कोमा ठूलै पदमा कार्यरत व्यक्ति रहेछन् भन्ने कुरैकुरामा थाहा पाइएको थियो ।
मैले सेभास्तोपोल नपुग्दै एउटा मैदानमा गुम्बजाकार केही संरचनाबाहेक त्यस्तो गोप्य कुरा केही देखिनँ । सेभास्तोपोल नगरको अवलोकन गरेर हामी स्वास्थ्यनिवासमा फर्कियौं । विश्रामगृहमा आराम लिने क्रममा क्रिमियाका अन्य कतिपय दर्शनीय स्थलहरुको यात्रावलोकन गर्ने पनि सम्भावना पाइन्थ्यो । आलुस्ता भन्ने ठाउँको पत्थरबाट बनेको भव्य दर्वार देखेर निकै प्रभावित भएको थिएँ । क्रिमियामा एकपटक रूसी कवि भोलोशिनको घर–संग्रहालयनेरै रहेको विश्रामगृहमा आराम गर्दा कैयौंपल्ट त्यस संग्रहालयमा पसेर हेरिएको थियो भने याल्टा नगरमा रहेको रुसी लेखक आन्तोन चेखोभको घर पनि अवलोकन गरिएको थियो । याल्टामा रज्जुमार्ग (रोपवे) मा सयर गरेको, मिस्खोरबाट पनि रज्जुमार्गद्वारा आइपेट्रो पर्वतको टाकुरामा पुगेर दृश्यावलोकन गरेको अनुभव अविस्मरणीय रहेको छ । यसरी नै एकपल्ट कुनै समयमा क्रिमिया राज्यको राजधानी बाख्चीसरायको अवलोकन गर्न गइएको थियो ।
रुसी महाकवि अलेक्सान्द्र पुश्किनको काव्यमा वर्णित ‘बाख्चीसरायको फोहरा’ र पुश्किनको सम्mनामा त्यहाँ नित्य राखिने दुई थुँगा गुलाफको पूmल आफ्नै आँखाले देख्न पाउँदा विशेष भावना जाग्दछ । मेरो निम्ति कुनै समयमा क्रिमियाको राजधानी रहेको बाख्चीसरायको दर्वार अवलोकन गरेर फोटो खिंच्न पाइएको यो यात्रा अविस्मरणीय रहेको छ ।
क्रिमियाको फेओदोसिया र अन्यत्र पनि आरामगृहमा मैले घरबिदा मनाउने सम्भावना पाएको थिएँ । पछिल्लो पल्ट सन् १९९० मा क्रिमियामा सपरिवार आराम लिन गएको थिएँ ।एकएक मास्कोमा उपराष्ट्रपति यानाएभको नेतृत्वमा गेकाचेपे (राजकीय असाधारण स्थिति समिति) ले राष्ट्रपति मिखइल गोर्बाच्योभ अशक्त बिरामी भएको सूचना प्रवाहित गरेर सत्ता हत्याउँदा कृष्णसागरमा जंगीजहाजहरुको सक्रियता बढेको देख्न पाइएको थियो ।
नजिकै फारोस भन्ने स्थानमा आराम लिइरहेका सोभियत संघका प्रथम (र अन्तिम पनि) राष्ट्रपति मिखाइ गोर्बाच्योभ सम्पर्कविहीन त’ल्याइएका रहेछन् । यसरी क्रिमिया नै सोभियत संघमा युगान्तकारी घटनाको एक महत्वपूर्ण थलो बनेको थियो । त्यसपछि क्रिमिया प्रायःद्वीप युक्रेन गणराज्यअन्तर्गत परेपछि रसियालीहरू प्रायशः अन्य मुलुकहरूको यात्रावलोकनमा जान थाले भने मेरो निम्ति पनि त्यो रमणीय स्थलमा आराम लिने सम्भावनाको बाटो बन्द भएको थियो…
यो आलेख तयार पारिरहँदा क्रिमियामा चाहिं रूस महासंघमा सम्मिलित हुने कि स्वायत्वताको बढी अधिकारसहित युक्रेन गणतन्त्र अन्तर्गत नै रहने भन्ने प्रश्नमा जनमत संग्रह सम्पन्न भइरहेको छ । गतः ११ मार्चमा दिन क्रिमियाको सर्वोच्च सोभियतले स्वाधीनताको घोषणा गरेर जनमत संग्रहका लागि तैयारी गरेको थियो । यस प्रायःद्वीपका रुसी, युक्रेनी र तातार भाषाभाषी वासिन्दाहरूले आफ्नो भविष्यको निर्णय आपैmले लिनचाहेका छन्…
कृष्णप्रकाश श्रेष्ठ
दिनांक : १५ मार्च २०१४ (शनिश्चरवार),
मस्को, रूस महासंघ ।