प्रेस विज्ञप्ती I

नवराज पोखरेल : एथेन्सको रेडिसन होटलमा आज एक समारोहको बिच एथेन्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत श्री इमाननोयल काराभेलाकीसको पद स्थापना  गरिएको छ । 

सो अवसरमा ग्रीस परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु, ग्रिसका लागि भारतीय राजदुत, सान मारिनोका कन्सुलर, प्राध्यापकहरु, बिभिन्न कम्पनीका अधक्ष्यज्युहरु, ट्राभल एजेन्सीका प्रेसिडेन्टहरु तथा ग्रिसका अन्य गन्यमान्य ब्यक्तिहरु,पत्रकार, ब्यापारी तथा नेपाल सम्बन्धित बिभिन्न क्षेत्रका ग्रीक महानुभावहरुको उपस्थिति थियो । साथै एन.आर.एन.ए ग्रीसका पदाधिकारीहरु, आई. सि.सि का सदस्यज्यु, र ग्रिसमा अध्ययनरत नेपाली विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

सो अवसरमा ग्रीसका लागि नेपालका गैर आवासीय राजदूत श्री मोहन कृष्ण श्रेष्ठले श्री काराभेलाकिसलाई नेपालको झण्डा तथा अवैतनिक वाणिज्य दूतावासको छाप र नियुक्ति पत्र हस्तान्रतण गर्नु भयो । पाहुनाहरुलाई स्वागत गर्नु हुदै अवैतनिक वाणिज्यदूत श्री काराभेलाकिसले नेपाल एक प्राकृतिक सौन्दर्यले भरिएको तथा न्यानो सत्कारको परीबेस रहेका जनताको एक राम्रो मुलुक भएको वताउनुभयो । साथै वहांले यस पदमा नियुक्ति पाएकोमा आफू गौरवान्वित भएको र वहांले नेपाल सरकार, फ्रान्स स्थित नेपाली राजदूतावास तथा ग्रीस सरकारलाई पनि धन्यवाद दिनु भयो ।नेपाल तथा ग्रीस वीच रहेको सम्बन्धलाई सुदृढ तुल्याउन आफू सदा प्रतिवद्ध रहि प्रयास गर्ने तथा ग्रीसमा नेपालको हित प्रवर्दन गर्ने कार्य आफ्नो प्रमुख लक्ष्य रहने छ भनि आफ्नो उद्गार ब्यक्त गर्नुभयो।

सोही अवसरमा आफ्नो मन्तब्य राख्नु हुदै राजदूत श्रेष्ठले श्री काराभेलाकिस जस्तो प्रतिष्ठित ब्यक्तिलाई नेपालको वाणिज्यदूत पदमा नियुक्ति गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो । साथै वहांले लामो समय सम्म अवैतनिक महावाणिज्यदूत पदमा कार्यरत रही सन २०१२ को सेप्टेम्बरमा दिवंगत हुनु भएका स्वर्गीय थियोडोर सारानतोपुलोसको बारेमा ढिला जानकारी प्राप्त भएकोले उहाँको आत्माकोशान्तीको कामना गरी उहाँको परिवारजनलाई नेपाल सरकार राजदुतावास तथा स्वयम को तर्फ बाट हार्दिक समबेदना प्रकट गर्नु भयो ।

आफ्नो मन्तब्य जारी गर्नु हुँदै राजदूत श्रेष्ठले आगन्तुक पाहुनाहरुलाई नेपालको छोटो चिनारी प्रस्तुत गरी नेपाल हिमाल, पहाड नदी नाला हरियाली जंगल, तालको संगम भई बिभिन्न संस्कृति भेषभुषा भई बिबिधताले भरीएको एक अती उत्तम मुलुक भएको कुरा बताउनुभयो । शान्तिका अग्रदूत भगवान बुद्धको जन्म आज भन्दा २६०० बर्ष अगाडी लुम्बिनिमा भएको तथा उहाँले दिनुभएका ज्ञानगुणका कुराहरु मानबताको लागि अती उपयोगी भएकोले सबैले मनन गर्नुपर्ने तर्फ औँल्याउनुभयो । साथै नेपाल जीवित देवी कुमारीको घर भई बिभिन्न धार्मिक तथा संस्कृतिक मठ मन्दिर कला कौशल तथा रिती रिवाज भएकोले सिंगो देश नै एउटा जीवित सङ्ग्रहालय कहलाइएको भनि वहांले वताउनु भयो। 

नेपालमा हाल राजनैतीक, आर्थिक तथा समाजिक विकाशको क्रम द्रुत गतिमा सकारात्मक तवरले अगी बढीराखेको र सन् १९९६ देखी सरकारले कार्यान्वयन गर्दै आएको आर्थिक कुटनितीलाई प्रभाबकारी रुपमा अघी बढाउँदै लगिएको छ भनी बताउनु भयो । साथै आर्थिक कुटनितीका प्रमुख लक्ष्यहरु पर्यटन, निकासी प्रबर्धन, बैदेसिक लगानी प्रबर्धन तथा जलस्रोतको बिकास रहेकाले पाहुनाबर्गको ध्यान आकर्षण गर्नु हुँदै पर्यटक वा ब्यापारिको रुपमा भ्रमणमा जान हुन आग्रह गर्नु भयो ।आर्थिक कुटनितीका माध्यमबाट देशमा बिकासका आयामहरु खुल्दै गएको र यसमा बैदेशिक लगानीको प्रत्यक्ष तथा महत्वपूर्ण भूमिका रहेको छ भनि उहाँले वताउनु भयो । नेपालमा बैदेशिक लगानी प्रवर्धनको लागि उपयुक्त वातावरण तथा परिस्थिति रहि आएकोले आगामी दिनमा नेपालको भ्रमण गर्नु भई पर्यटनको साथ साथै अन्य विषहरुमा पनि जानकारी लिन वहांले उपस्थितहरु सवै पाहुनालाई आग्रह गर्नुभयो ।

सन १९६० देखि नेपाल र ग्रीस बिच दौत्य सम्बन्ध स्थापना भई दुई देश बिच सुमधुर सम्बन्ध रहिआएकोमा अव आउने दिनहरुमा पर्यटन,ब्यापार तथा लगानी प्रवद्र्धनमा नयां आयामहरु पहिल्याउंदैदुई देश बिचको सम्बन्धलाई थप उचाईमा पुर्याउनु पर्ने आवश्यकता रहेकाले सम्बन्धित सवैले आ-आफ्नो भूमिका निभाएर योगदान गरौं भनि राजदूत श्रेष्ठले भन्नु भयो । उल्लासमय बातावरणमा सम्पन्न सो कार्यक्रममा उपस्थित पाहुनाहरुले नेपालको बारेमा बिभिन्न जानकारी प्राप्त गरी नेपालको भ्रमणमा जान चाहेको कुरा बताएका थिए ।

१५ मार्च २०१४
नेपाली राजदूतावास
पेरिस,फ्रान्स

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com