फागुन २७,
जय कार्की र निमकान्त पाण्डे : महिला मुक्ति र आमूलपरिर्वतनको महान उदेश्यका साथ मनाउंदै आएको र समय सापेक्ष समश्याहरुलाई समाधान गर्नका लागि संधै जुरमुराई रहने र आश्चर्र्यचकित काम गरेर देखाउने नेपाली क्रान्तिकारी महिलाहरुले यसपटकको मार्च आठमा कुनै गहकिलो कार्यक्रम पस्कन सकेनन् । १०४ औं मार्च आठको कार्यक्रमको विश्लेषण गर्ने हो भने केवल औपचारिकतामा सीमित रह्यो, महिलाको जीवनमा नयाँ उत्साह र कार्यक्रम पस्कन सकेन ।
उत्पीडित श्रमिक तथा श्रमजीवी महिलाहरुमा कुनै जीवन भर्न सकेन । केवल कार्यक्रमका लागि कार्यक्रम गरी भारी विसायो ।
संसारभरिको ध्यान आकृष्ट गर्न सफल रहेको र सवैको अपेक्षा अनुकूल नेपाली क्रान्तिकारी महिलाहरुले केही न नयाँ आयाम थप्तै आएका थिए । तर, पार्टी फुटपछि शक्ति विभाजित भएका कारण ति क्रान्तिकारी महिलाहरुले आ—आफ्नो डम्फु वजाईरहेपनि यिनीहरुले सारमा केही पनि गर्न सकेनन् । कुनै पनि नयाँ कार्यक्रम, योजना तथा विगतको सफलता र असफलताको मूल्यांकन गर्दै क्यालेण्डरमा आधारित योजना प्रस्तुत गर्न सकेनन् ।
केवल मार्च आठको श्राद्ध गरेर विगतलाई अलिकति कोट्याए अनि संविधानसभामा पराजय भएकोमा तिक्तता व्यक्त गर्दै आफैमा झन खुम्चिए । मार्च आठले महिला मुक्तिका खातिर यस अघि गरेका कामको कुनै विंडो थाम्ने आँट गरेन । संविधानसभामा महिला र आदिबासीको विषयमा हेर्ने ककस कमिटी नै गठन नगर्ने षडयन्त्रका विरुद्धमा दह«ो कार्यक्रम ल्याएर हलचल मच्चाउँदै आफ्नो अधिकारको रक्षाको लागि आन्दोलन गर्नु पर्ने अवस्थामा आईपुगेको अवस्थामा पनि क्रान्तिकारी महिला के मा जेलिए के मा ?
कुनै वेलामा मन्चमा आसिन यि महिला नेतृहरुको बोलि र प्रतिज्ञालाई मरिमेटेर लाग्ने कार्यकर्ताहरु आज उनीहरुका भाषणलाई मनोरन्जनकारुपमा लिईरहेका छन् ।
सुन्नुको सट्टा हल्ला गरेर अवरोध पु¥याई रहेका छन् । उनीहरुलाई मार्च आठको अवसरमा औपचारिक तथा देखावटीरुपमा बोलिरहेको भान भैरहेको छ । यसतो किन भैरहेछ कारण के हो खोजी गरि उपचार गर्नु जरुरी छ । वेलैमा उपचार गरिएन भने क्रान्तिकारी महिला आन्दोलन धराशायी हुने निश्चित छ । महिला नेतृहरुलाई कार्यकर्ताहरुले धारे हात लगाएर सरापेका मात्र छैनन् । नेता र नेतृहरुलाई राक्षसीकरण गर्ने काम समेत यतिखेर कार्यकर्ताहरुवाटै भैरहेको छ । मतलव उनीहरु रुष्ठ छन् । किन यसरी रुष्ठ भैरहेका छन् भन्ने विषयमा गहन ढंगले खोजी गर्नुको सट्टामा गुट उपगुटको विल्ला भिराएर हल खोज्ने गरिएको छ । यो त कदापि दीर्घकालीन समाधान हुनै सक्तैन ।
यसअघि जुन उत्साह र उमङ्गका साथ आठ मार्चको कार्यक्रमको आयोजना हुन्थ्यो । यसपटक सर्लक्कै घटेको देखियो ।
क्रान्तिकारी महिलाहरुको आवाज कम्जोर पर्दै गएको र एन्जिओ र आईएन्जिओले संचचालन गर्दै आएको महिलाहरुको आवाज विस्तारै तिखारिदै गएको भान हुन्थ्यो । उनीहरुमा उत्साह देखिन्थ्यो यता क्रान्तिकारी कित्तामा निराशा र कुण्ठा । यसरी टिप्पणी गर्दा क्रान्तिकारी महिलाहरुले हामीमाथि पूर्वाग्रहीको आरोप लगाउँदै सत्तो सराप पनि गर्लान । तर सत्य त्यहि हो त्यो भन्दा फरक हामीले भेटेनौ । क्रान्तिकारी तथा आमूल परिवर्तनका एजेण्डाहरु धुमिल भएको महशुस श्रमिक महिलाहरुले यसपटक गरेका छन् ।
यसको क्षतिपूर्ति आगामी दिनमा हेपिएका, थिचिएका, शोषणमा परेका पक्षपातको चरम हालत भोगीरहेका र हरेक किसिमका हिंसाहरुवाट प्रताडित भैरहेका महिलाहरुका विषयमा क्रान्तिकारी महिलाहरुले मेहनत गरेर नयाँ कार्यक्रम ल्याउने छन् र कार्यान्वयन गरि छाड्ने छन् भन्ने अपेक्षागर्न सकिन्छ ।
यसका लागि सवैलाई समेटेर हिड्ने क्षमताको विकास हुनु जरुरी छ । नेपालको राजनीतिमा अचेल सवैलाई समेटेर हिड्ने र हिडाउने चलनले विराम लिएको छ । उछिन्छ कि र भाग खोस्छ कि भन्ने आतंकले गर्दा सीमान्तवर्गलाई उत्थान गर्न छाडिएको छ ।
ती कुरा त भाषणमा मात्र सीमित हुन थालेका छन् व्यवहारमा भने ठीक उल्टो । अवसरवादको आहालमा यति नराम्ररी डुबिसक्यो कि अरु कसैलाई उत्थान गर्नुको ठाउँमा दमन गर्न थालिएको छ । न्यायका लागि उठिरहेका आवाजहरुलाई अनुशासनहीन र अराजकताका विल्ला भिराई वहिस्कार गर्न थालिएको छ उछित्तो काढ्न थालिएको छ शत्रुकारुपमा चित्रण गर्दै पाखा लगाउन थालिएको छ । पाखा लाग्नेको संख्यामा निकै ठूलो बढोत्तरी भैरहेको छ ।
त्यतिमात्र होईन क्रान्तिकारीहरु पनि विस्तारै विस्तारै एन्जिओ र आईएन्जिओको कल्चर र प्रभावमा परेर डलरको खेतिमा मस्तराम हुन थालेका छन् । त्यो खेतिमा धेरै समूह र महिलाको आवश्यकता पर्दैन केवल सानो टिमको आवश्यकता पर्दछ ।
अनि सवैलाई किन समेट्ने सवैको लागि एजेण्डा तय गर्ने र सानो टिमलाई परिचालन गरी डलरको खेति गरिरहने ।अनि कसरी पुरा हुन्छ त क्रान्तिकारी महिलाहरुको ठोस अपेक्षाको क्षतिपूर्ति ?
अमिबाको सन्तानोत्पति प्रकृयाको आधारमा एकवाट अनेक हुंदै टुक्रै टुक्रामा टुक्रिदै जाने क्रमलाई रोक्न नसके क्रान्तिकारी महिला आन्दोलनले केही पनि गर्न सक्तैन । केवल माउ नेतृहरु पनि खिइदै जाने प्रकृया जारी रहिरने छ । १०४ औं मार्च आठको अवसरमा यत्ति नै खवरदारी गर्न सकिन्छ ।