कविता : By, शशी थापा सुब्बा ' रुनु दिल तिमीले बेस्सरी रुनु '



कविता - रुनु दिल तिमीले बेस्सरी रुनु 

तिम्रो आँशुले 
हरियो डलरले किनेको 
आइलाइनर बग्दैन आखिर !
निर्धक्क झारिदेउ ति आँशुहरु 
निरीह र अनाथको मायामा 
तिम्रो गालामा विदेशी फाउन्डेशन
दलिएको भए पो बग्छ ?
हो नपुछ हत्केलाले बरु 
मुठ्ठी कसेर उभिनु र 
झारिदेऊ भुइभरी 
धुलो मर्ने गरी 
गन्ध बग्ने गरी 
रुनु दिल तिमीले बेस्सरी रुनु !

हजारौं मनका भित्ताहरु 
चिसिएको छ 
तिम्रो आँशुसँगै
करोडौ मुटुहरु दुखेकोछ 
तिम्रो बिलौना सँगै 
त्यसैले बगाइदेउ 
आँशुमा भएका कम्जोडीहरु सबै !खललल .......

अब तिम्रो आँखाबाट 
आगो झर्नु पर्छ ,
मनको भित्ताहरु सेकिनु पर्छ 
र तात्तिनु पर्छ 
दुखेका मुटुहरु ,
किन कि तिमीलाई 
आरोपहरु अझै बाकिनै छ 

न हातमा ल्यापटप छ ? 
न फेसबूकमा हल्ला गर्छौ ? 
खै त अङ्रेजी शब्दहरु 
बिचबिचमा प्रयोग गरेको? 
न त मेकअप गर्नु जानेको छौ! 
न त गेटअप नै सुहाउदो छ !
हो यहीनेर  
उजुरी पर्न सक्छ फेरी 
यसै माथी 
छनबिन गर्न सक्छ 
र सनसनीपूर्ण समाचार बनाइदेला 
कि दिल तिमीमा 
समाजसेवा गर्ने मापदण्ड 
पुग्दै पुग्दैन !
समाजसेवी भन्नु सुहाउदै सुहाउदैन !! 

रुनु दिल तिमी दिल खोलेर रुनु 
तर अब तिम्रो आँशुले 
नियम पुर्याएर झर्नु पर्छ ,
तिम्रो बिरहले 
कानून बनाएर बग्नु पर्छ ,
ताकी तिम्रो आँशुले 
बालुवाको क्याक्टसहरु 
बाँच्नु पर्छ 
भिरको सुनगाभाहरु 
हाँस्नु पर्छ 
र तिम्रो बेदनाको लहरो समाएर 
फुल्नुपर्छ बनफुलहरु 
आफ्नै स्वेच्छाले जहाँ तही 
जहिलेतहिले , निस्फिक्री 
अनी निर्धक्क निर्धक्क !! 

( नारीदिवसको उपल्यक्षमा महान नारी दिलशोभा श्रेष्ठमा समर्प्रीत )

शशी थापा सुब्बा
लण्डन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com