कुबेत कमाउन गएकी छोरी पाँच वर्षदेखि बन्धक I

गुटु (सुर्खेत) चैत्र १७ ,

गुटु ६ की खगीसरा रिमालको दिनचर्या विदेशमा बन्धक छोरी देवीसराको सम्झनामै बित्ने गरेको छ । गाउँका युवती विदेश गएर पैसा कमाएको थाहा पाएपछि खगीसराले पनि १९ वर्षे छोरीलाई पठाउने निधो गरेकी थिइन् । 

विपन्न परिवारको जीविका चल्ने आशामा परिवारकी जेठी छोरीलाई खगीसराले पाँच वर्षअघि विदेश पठाएकी थिइन् । खगीसरा अहिले भने रुँदै बस्न बाध्य छिन् । 'छोरी गएको आउँदो जेठमा ५ वर्ष पुग्छ,' उनले भनिन्, 'कमाइको आशामा विदेश पठाइयो । अहिले कसरी घर फर्काउने चिन्ता छ ।' कोहलपुरका मणि गौतममार्फत भारतको दिल्ली हुँदै छोरी कुवेत पठाएको उनले बताइन् । विदेश पठाउने दलाल गौतमले ल्याउन र सम्पर्क गर्न पहल नगरेको उनको गुनासो छ । 

विदेश गएदेखि एक पैसा पनि घरमा नपठाएको बताउँदै खगीसराले भनिन्, 'न त पैसा आयो, न त छोरीसँग सम्पर्क हुन्छ, खोज्न पहल गरिदिने पनि कोही छैन, छोरीलाई फोन गरे पनि सम्पर्क हुँदैन ।' अपाङ्ग भएकाले आफ्नै जीउ पाल्न समस्या भएको उनले सुनाइन् । कुवेतस्थित एक घरमा बन्धक अवस्थामा छोरी रहेको खगीसराले बताइन् । उनले भनिन्, 'फोन सम्पर्क गर्न मालिकले दिएको छैन, उसलाई मालिकले बन्धक बनाएर राखेजस्तो छ ।' 

वर्षमा एकपटक छोरीले फोन गर्ने गरेको तर कुरा हुन नसकेको उनले बताइन् । बन्धक छोरीलाई उद्धार गरिदिने संस्थाको पर्खाइमा रहेकी उनले सहयोगका लागि आग्रह गरिन् । भनिन्, 'मलाई केही थाहा छैन, छोरीको उद्धार गरिदिनुपर्‍यो ।' छोरीले दिएको फोन नम्बरमा सम्पर्क भए पनि फोन नउठ्ने गरेको उनले बताइन् । छोरीलाई विदेश पठाएकी खगीसरा अहिले छिमेकीको सहायतामा जीवनयापन गरिरहेकी छन् । पतिले भारतमा दोस्रो विवाह गरेर बसेपछि पतिबाटसमेत पीडित भएको उनले गुनासो गरिन् । 

छिमेकी देवीराम उपाध्यायले कुवेतमा बन्धक रहेकी देवीसराको उद्धारका लागि पहल गरे पनि आफ्नो तहबाट सम्भव नभएको बताए । उनले देवीसरालाई विदेश पठाउने दलाल मणि गौतमलाई फोन गरेर उद्धार गर्न आग्रह गरेको बताए । (मोतिला पौडेल-इकान्तिपुर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com