सर्लाही चैत्र ७,
चूडामणि वाग्ले : मलंगवास्थित जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएकी सुत्केरीलाई कोठामा थुनिएको छ।
अस्पतालमा नै रहेको लैगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको कार्यालयलाई दुई साताकी सुत्केरीलाई थुन्न जेलको रूपमा प्रयोग गरिएको हो।
दुई साता पहिले सडकमा नै छोरी जन्माएकी करिब २८ वर्षकी उनी मानसिक समस्याले ग्रस्त छिन्।‘उनी मानसिक रोगी हुन्, त्यसैले अस्पताललाई व्यवस्थापन गर्न समस्या भएको छ’, अस्पतालका स्वास्थ्यकर्मी किशोर खनाल भन्नुहुन्छ– ‘उनको उपचार मानसिक अस्पतालमा मात्र हुनसक्छ, यहाँ सामान्य औषधी दिएर हेरचाह गरिएको छ।’
गत फागुन १९ गते लालबन्दीस्थित डुमडुमे मन्दिर परिसरमा एक्लै सुत्केरी भएपछि उनले छोरीलाई भने राम्ररी स्याहार गरेकी थिइन्।
सडकमा नै अलपत्र सुत्केरीलाई उद्धार गर्न दबाब आएपछि महिला तथा बालबालिका कार्यालयले केही दिन आफ्नो सेवा केन्द्रमा राखेर जिल्ला अस्पतालमा उनलाई भर्ना गरेको हो। ती महिलाले आफ्नो नाम तथा ठेगाना नबताउने भएकाले यथार्थ परिचय खुल्न सकेको छैन। उनले आफ्नो माइती हेटौंडाको मैनाली परिवार भएको र दिदीको नाम रीता भएको बताउने गरेकी छिन्। स्टाफ नर्स पढ्दै गर्दा अन्तरजातीय प्रेम विवाह गरेकाले माइतीले उनको बेवास्ता गरेको अनुमान छ। महिला तथा बालबालिका कार्यालयकी परामर्शदाता वनिता कार्कीका अनुसार शिशुलाई महिलाको जेठाजु राजन विकको जिम्मा लिइएको हो।
राजनले शिशुलाई आफ्नो घर सिन्धुलीको भिमानमा लगेको कार्कीले जानकारी दिनुभयो। उनका श्रीमान् भनिएका राजनका भाइ टुकुनी विकको गत मंसिरमा गाडीको ठक्करले मृत्यु भएपछि उनी बेसहारा छिन्। अहिले उचित हेरचाहको वातावरण नमिल्दा आमा र शिशु दुवै जोखिममा परेका छन्। मानसिक अस्पतालमा उपचार गर्नुपर्ने महिलालाई जिल्ला अस्पतालमा थुनेर राखेपछि झन् समस्या बढ्ने अस्पतालकी एक नर्सले बताइन्। मानसिक रोगी भए पनि कडा रोग नदेखिएकाले फकाउन सक्दा महिलाले औषधीे, खानेकुरा खाने र कुराकानी पनि गर्ने गरेकी छन्।
महिला तथा बालबालिका कार्यालयकी प्रमुख निरुलक्ष्मी श्रेष्ठले आफूहरूले उद्धार गरेर पुनस्र्थापना केन्द्रमा बुझाएकाले महिला र शिशुको बारेमा थप जिम्मेवारी लिन नसक्ने जानकारी दिनुभयो।
‘अस्पतालमा जनावर जस्तै गरी थुनेर राख्न व्यवस्थापन केन्द्रमा पठाइएको हैन’, परामर्शदाता कार्की भन्नुहुन्छ– ‘उहाँहरू गैरजिम्मेवार बन्नुभयो तर हामी उहाँको उद्धार र उपचार गर्न सकिन्छ कि भनेर प्रयास भने गरिरहेका छौं।’