नेपालीले नबुझेर भारतको कुम्भलाई महत्त्व दिए I

सुनसरी चैत्र ६, 

चैत १७ गतदेखि सुनसरीस्थित चताराधामको पिण्डेश्वर धाममा दोस्रो १२ वर्षे पूर्ण महाकुम्भ मेला लाग्दैछ। वैशाख १९ गतेसम्म सञ्चालन हुने महाकुम्भमा पहिलोपटक सरकारसमेत सहभागी भएको छ।

भारतका हरिद्धार, प्रयाग, उज्जयन र नासिकमा अमृतको एक एक थोपा झरेको तर नेपालको प्राचीन वराहक्षेत्र मानिने चताराधाममा अमृतको तरलाई पिण्ड बनाएर स्थापना गरिएकाले महाकुम्भको सबैभन्दा उपयुक्त स्थल नेपालको चताराधाम भएको पुष्टि गरेर बालसन्त मोहनशरण देवाचार्यले २०५९ साल चैत ६ गतेदेखि पहिलो पूर्ण महाकुम्भ लगाएका थिए।

उनको यही विद्धतालाई भारतको काशी विद्धत सभाले 'जगद्गुरू' को उपाधि दिएको थियो। स्वदेश र विदेशका करिब एक करोड भक्तजनले चताराधामको कौशिकी नदीमा नुहाउने अनुमानसहित मेलाको नेतृत्व गरिरहेका नेपालका एकमात्र उनै जगद्गुरू बालसन्त मोहनशरण देवाचार्यसँग अन्नपूर्णले कुम्भबारे गरेको कुराकानी :

दोस्रो पूर्ण महाकुम्भको तयारी कस्तो छ?
लगभग पुरा भएको छ। सरकारको तर्फबाट कुम्भपरिसरमा सो अवधिभर २४ सै घण्टा निशुल्क बिजुली र दैनिक आठ लाख लिटर पानीको व्यवस्था हुने भएको छ। धरान चतारा, झुम्का चतारा र पकली चतारा सडक निर्माण कार्य भइरहेको छ।

टेलिफोन र इन्टरनेटका लागि टावरको स्थापना, कौशिकी नदीमा दुईवटा अस्थायी पुल, पाँच सयजति अस्थायी शौचालय र दैनिक फोहोर उठाउनेजस्ता थुप्रै तयारी भएका छन्। प्रधानमन्त्रीको कार्यालयका सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा एक समिति बनेको छ।

कुम्भमा स्नानको महत्त्व के हो?
कुम्भको महत्त्व भनेको स्नान हो। कुम्भमा पुगेर स्नान गर्दा हजार अश्वमेध यज्ञ गर्दा जुन फल प्राप्त हुन्छ, सय बाजप्पेय यज्ञ गर्दा जुन पुण्य प्राप्त हुन्छ, लाख पटक पृथ्वीको परिक्रमा गर्दा जुन पुण्य प्राप्ति हुन्छ ती सबै पुण्य कौशिकीमा गएर स्नान गर्दा मनुष्यलाई प्राप्त हुन्छ। नेपालीले पनि नबुझेर भारतको कुम्भलाई महत्त्व दिएका छन्। तर नेपालमै हुने कुम्भको महिमा बुझेपछि थाहा हुनेछ कति फरक रहेछ भनेर।

भारत र नेपालको कुम्भमा के फरक छ?
भारत पुगेर कुम्भ नुहाउनेहरू पनि छन्। जब भारतका नासिक, उज्जयन, हरिद्धार र प्रयागमा अमृतको एक एक थोपोमात्र झरेको हो। त्यहाँ सरकारले त्यतिको पनि महत्त्व बुझेर वर्षौंदेखि भव्य लगानी गरेर करोडौं भक्तजन उतार्छ। तर नेपालको चताराधाम अमृतको तर नै पिण्ड बनाएर स्थापना गरिएको स्थापना गरिएको हो। यो यथार्थ धेरैलाई थाहा छैन।

कति भक्तजन आउने अपेक्षा गर्नुभएको छ?
स्वदेश र विदेशका गरी करिब एक करोड भक्तजन स्नानका लागि कुम्भ आउने छन्। यस महापर्वबाट नेपालको प्रमुख धार्मिक गन्तव्य स्थलका रूपमा चताराधाम अर्थात् बराह क्षेत्र स्थापित हुनेछ। आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हुने, राष्ट्रलाई करोडौं विदेशी मुद्रा प्राप्त हुने, सयौंलाई रोजगारी प्राप्त हुने, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको छुट्टै पहिचान कायम हुनेछ।

चारै पीठका शंकराचार्य, विश्व हिन्दु परिषद्का संरक्षक अशोक सिंगल, रामदेव स्वामी, बालकृष्ण आचार्य, पाइलट बाबा, रामानुजाचार्य, रामानन्दाचार्य, रामानुजाचार्य, निम्बाकाचार्य, मध्वाचार्य लगायत आउँदै हुनुहुन्छ।

के कस्ता कार्यक्रमको आयोजना हुँदैछ?
शंकराचार्य, वैष्णवाचार्य, जगद्गुरू, साधुसन्त, महन्त, धर्माचार्य एवं विद्धानहरूले धार्मिक प्रवचन गर्नेछन्। जसमा कौशिकी, गण्डकी एवं कर्णाली सभ्यता र महत्त्व, बागमती, विष्णुमति, इन्द्रवती, रूद्रमति सभ्यता र महत्त्व, सबै दर्शनहरूमा समन्वयात्मक दृष्टि, सनातन दर्शन र तन्त्रको विशेषताजस्ता दर्जन बढी विषयमा शास्त्र चर्चा हुनेछ।

वेद, पुराणादि ग्रन्थहरूको पारायण, कोटि दीपप्रज्ज्वलन, अखण्ड हरिनाम संकीर्तन, रूद्री, चण्डी, गायत्री आदि मन्त्रहरुको अनुष्ठान, जन्मकुण्डली अध्ययन, ग्रहशान्ति तथा हवन गोपाल, विष्णु, राम सहस्रनाम पाठ र योगसाधना आदि हुनेछन्।

कुम्भ महास्नानको विशेष कार्यक्रम पनि छन्?
छन्। कुम्भ प्रारम्भ महास्नान चैत १७ गते चैतशुक्ल प्रतिपदा, प्रथम कुम्भ महास्नान चैत २१ गते चैतशुक्ल पञ्चमी, द्वितीय महास्नान वैशाख २ गते चैत पूर्णिमा, तृतीय महास्नान वैशाख १६ गते मातातीर्थ औंसी र चतुर्थ महास्नान जेठ १९ गते अक्षय तृतीयाका दिन हुनेछन्। तृतीयाका दिन महाकुम्भ समापन हुनेछ। कुम्भमा क ल्पवासको व्यवस्था छ। जसमा एक महिनासम्म साधना, तपस्या र यज्ञ गर्ने भक्तजनको सबै दुष्कर्म नाश भई पुण्य आर्जन हुने शास्त्रीय प्रमाण छ।

यतिबेला कुम्भघडा यात्रा गरिरहनु भएको हो?
चैत २ गते सुरू भएको यो यात्रा महाकाली पुगेपछि फर्कनेक्रममा चैत १३ गते काठमाडौं आइपुग्नेछ। १४ गते पशुपतिनाथको अभिषेक गरेपछि उपत्यका परिक्रमा गर्नेछ। अमृतरूपी यस घडा यात्रामा पशुपतिनाथको घडा पनि रहने छ। त्यसपछि काभ्रे सिन्धुलीहुँदै पुन: १७ गते बिहान कुम्भनगरी चताराधाम प्रवेश गर्नेछ।

कुम्भमा घडा यात्राको महत्त्व के छ ?
सुनसरीस्थित पिण्डेश्वर महादेवको घडा रहेको छ। समुन्द्र मन्थनबाट उत्पन्न अमृतको घडामा लागेको तर (छाली) महादेव भगवानलाई देवताहरूले चढाउँदा सो छालीलाई रूद्रआरण्य (रूद्राक्ष) जंगलमा स्थापित गरिदिन महादेवले अह्राएअनुसार देवताहरूले धरानको विजयपुरस्थित रूद्रआरण्यको जंगलमा स्थापित गरिदिए। महादेवको नाममा सो स्थानमा स्थापित पिण्ड नै 'पिण्डेश्वर महादेव' को रूपमा सबैबाट पूजाअर्चना गरिँदै आएको हो।

देवताहरूले पनि यसै पिण्डेश्वरको नामबाट कौशिकी नदीमा कुम्भ लगाउने गरेको भएता पनि समयको अन्तरालमा सो क्रम भंग भएको थियो। त्यसपछि २०५९ सालमा मैले खोजअनुसन्धान गरी सोका आधारमा कौशिकी नदीमा कुम्भ प्रारम्भ गरेको हुँ।

कौशिकीमा स्नान गरी पिण्डेश्वरको दर्शन गर्नाले पुण्य प्राप्त हुन्छ। यसकै महत्त्व दर्शाउन केदारको शीर रहेको भक्तपुरको डोलेश्वर, पशुपति, अछाम जिल्लाको वैधनाथ, कालेश्वर खोटाङको हलेसी महादेवको घडा लिएर यो पूर्वपश्चिम यात्रा गर्दैछौं। (गोपीकृष्ण ढुंगाना-अन्नपूर्ण)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com