दाङ, चैत्र ५ -,
शान्तलाल पुन मगर हरेक बिहान हि्वलचियरमा गुड्दै घोराही बजार पुग्छन् अनि त्यसैगरी बेलुकीपख घर र्फकन्छन् । मागेर परिवार पाल्दै आएका ६० वर्षीय पुन अशक्त भएकाले आफैं हि्वलचियर चलाउन सक्दैनन् । मागेर पाए केही खान्छन् नपाए भोकभोकै सडकमा गुडिरहन्छन् ।
पाँच वर्षीय छोरा किरण पछाडि झुन्डिन्छन् र श्रीमती विष्णु दुई वर्षीया छोरी पार्वतीलाई बोकेर हि्वलचियर धकेल्दै बजार पुर्याउँछिन् । बिहान भोकै घरबाट निस्केका पुन परिवार दिनभर बजारमा माग्दै हिँड्छन् ।
'खानाको केही ठेगान हुँदैन । माग्दा पैसा या खानेकुरा पाए भोक मेट्न पाइन्छ नपाए अरू ठाउँ पाइन्छ कि भन्दै गुडिरहने हो,' पुनले भने, 'कति दिन खाली पेट बसेका छौं । भोकै पनि बाँचिने रहेछ । अब त बानी पर्न थाल्यो ।'
जग्गाजमिन केही छैन, खुला आकाशमा बस्ने अवस्था भएपछि गाउँले मिलेर घोराही १ सर्रामा एउटा सानो घर बनाइदिएका छन् । साँझपख त्यहीं बास बस्न पुग्छन् । हातमुख जोर्नकै लागि दिनहुँ १० किलोमिटर हि्वलचियरमा गुड्नुपर्छ । 'मागेर बेलुका खान पुग्ने जति हुँदैन,' पुनले भने, 'धेरैजसो भोकभोकै बस्नुपर्छ, छोराछोरीलाई अलिअलि खुवाउँछौं ।'
'जो होचो उसको मुखमा घोचो' भने झैं सानोमा घोडाले टेकेर अपांग भएका पुनलाई पाँच वर्षअघि मोटरसाइकलले ठक्कर दिएर खुट्टा नचल्ने भयो । 'पहिले लठ्ठी टेकेर हिँड्थें, अहिले खुट्टा नै चल्दैन,' उनले भने, 'अहिले हिँड्न सकिँदैन ।
आफ्नो जग्गाजमिन छैन, छोराछोरी साना छन् । बाँच्न धेरै गाह्रो रहेछ ।'
खानबस्न समस्या भएपछि उनले साना छोरालाई पनि काममा लगाएका छन् । जेठो छोरा दिगेन्द्र नेपालगन्ज र माइलो दीपक बुटवलमा काम गर्छन् । जेठी छोरी रीताको बिहे भइसकेको छ । 'छोराहरूले काम गरेर आफूले खान मात्र पाउँछन्, घरमा अरू केही आउँदैन,' विष्णुले भनिन्, 'बूढा एक्लै हि्वलचियर चलाउन सक्दैनन् । म नहिँडी हुँदैन । सबै परिवार माग्ने भएका छौं तर खान पाएका छैनौं ।' (दुर्गालाल केसी-इकान्तिपुर)