डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण काण्डका नाइके पक्राउ I

काठमाडौं चैत्र ५, 

डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण तथा दर्जनौँ डकैतीमा रेडकर्नर नोटिस समेत जारी भएका मोस्ट वान्टेड गोकुल गिरी पक्राउ : - 

मोस्ट वान्टेड अपराधीलाई खोजेको पाँच वर्षपछि महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ । डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरण तथा एक दर्जनभन्दा धेरै हाई प्रोफाइल डकैतीमा संलग्न गोकुल गिरी मंगलबार राजधानीमा पक्राउ परेका हुन् । प्रहरी उच्च स्रोतका अनुसार एसएसपी रमेश खरेलको विशेष टोलीले राजेश क्षेत्री उपनाम भएका गिरीलाई पक्राउ गरेको हो । 

डा. देवकोटाकी छोरीलाई अपहरण गरी ललितपुरको एक घरमा बन्धक बनाएर फिरौती लिन गिरीको समूह सफल भएको थियो । घटनामा संलग्न केही व्यक्ति पक्राउ परे पनि नाइके थापा भने प्रहरीलाई छल्न सफल भएका थिए । मोस्ट वान्टेड सूचीमै रहेका वेला उनले राजधानीका विभिन्न ठाउँमा करोडौँको डकैती गरिसकेका छन् । काभ्रे सुब्बागाउँ घर भएका गिरीलाई पक्राउ गर्न महानगरीय प्रहरी अपराध महाशाखाको टोली पनि लामो समयदेखि सक्रिय थियो । गिरीको समूहले ०६५ को भदौमा डा. देवकोटाकै घरबाट उनको छोरी मेघालाई अपहरण गरी घरमा डकैतीसमेत गरेको थियो । त्यतिवेला देवकोटाको घरबाट डेढ करोडबराबरको डकैती गरेका उनीहरूले एक करोड ३० लाख रुपैयाँ लिएर मुक्त गरेका थिए । 

महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरी घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको थियो । तर, अपहरणका नाइकेहरू गिरीसहित, केशव दर्लामी, राजु थापालगायत भने फरार हुन सफल भएका थिए । दुई वर्षअघि भेष बदलेर मिनिरल वाटरको व्यवसायमा संलग्न भएको वेला थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । स्रोतका अनुसार करिब डेढ वर्षअघि ललितपुरमा पूर्वराजा ज्ञानेन्द्रका आफन्त जोधा परिवारमा पनि गिरीको समूहले एक करोडभन्दा धेरै डकैती गरेको थियो । सो घटनाको अनुसन्धान गर्न प्रहरीले विभिन्न टोली गठन गरे पनि सफल हुन सकेको थिएन । पछि ललितपुरमै भएको अर्काे एक डकैतीमा दुईजना अभियुक्त पक्राउ परेपछि सो डकैतीमा मोस्ट वान्टेड गिरी संलग्न भएको खुलेको थियो । 

 प्रहरीलाई अनुसन्धानका लागि कुनै पनि गल्ती नछोडी गिरीको समूहले डकैती गर्दै आएको थियो । मेघाको अपहरणपछि भारत गएका गिरीले पछि नेपालमै आई डकैतीको धन्दा सुरु गरेका थिए । कहिले भारत र कहिले नेपाल बस्ने भएकाले उनलाई पक्राउ गर्न निकै मुस्किल परेको प्रहरीले जनाएको छ । गिरीलाई काठमाडौं प्रहरीले बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेको खबर छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com