कविता : ' माया अन्जुलोको गाउँमा '
लगभग पैतालिस प्रतिशत
महिला साक्षरता दरबाट
उछिटिएर आइपुगेको छु -
'माया एञ्जुलो'को गाउँमा
गुफामा झुण्डिएको चमेरा झैँ
अक्षरको खेतीमा झुण्डिएर पनि
हुन सकेको छुइन -'त्यस्तो उपन्यास'
जो कुसंस्कारसंग
बिद्रोह गर्ने 'तसलिमा नसरिन'ले
लेखेकी छिन 'आईमाईको हकमा'
अक्षरसंग खेलेर पनि
आफू किन हुन सकेकी छैन ? त्यस्तो शक्ति'
जो अव्यवस्थित राज्य व्यबस्थासंग
हुंकार दिएर लड्ने आङ्साङ सुकी....
र आई पुगेँ 'माया एन्जुलो'को गाउँमा
हो थाहा छ - संसारमा सबै कुरा
चाहनाबाटै शुरु हुने हो,
सायद, ममा लेख्ने चाहना छैन,
र त लेख्न सकेकी छुईन
पिजडाभित्रको 'आवाज'
बोल्न सकेकी छुइन
काव्यभित्र सबाल्टर्न
तर पनि म आई पुगेँ -
'माया एन्जुलो गाउँमा'
नारी आफै प्राकृतिको
एक अनुपम सिर्जना हो
उ आफैमा शक्ति हो
तर शक्ति र सिर्जनासंग
रंग र सुवासहरुको समीकरण
मिलाउन नसकेर
लेख्न सकी रहेकी छुईन '
वन्दी चराहरुको 'खुल्ला आवाज'
व्यबस्थाले थिचिएका 'फूलको रंग'
सायद,
आफ्नै अस्तित्व खोज्न नसकेर
उही दन्त्य कथाको ठेली बोक्दै
आई पुगेको छु
'माया एन्जुलोको गाउँमा'
आफ्नो भूगोल र
आफ्नो आकाशको
आयतन नागेर
मैयाँ साहेब,
आइसियो 'राजा'
खाइ सियोस 'भूजा' राज होस्,
हजूरको चरणमा,,,
सेवामा हाजिर छु |
यस्तै थुप्रै हजूरीया संस्कार बोकेर
जस्ताको तस्तै आई पुगेको छु
'माया एन्जुलो गाउँमा'
सायद म आफ्नै मनले साँगुरीएको छु
संस्कारले बाँधिएको खुट्टा निकाल्ने
उन्मुक्तको पखेटा फिजाउने
आकांक्षा नभएरै आइ पुगेको छु
'माया एन्जुलोको गाउँमा'
चरा उडेको देखेर मलाई
केही फरक पारेको छैन
बादल फाटेर घाम झुल्किन लागेकोले
केही फरक पारेको छैन
पानीको बहावले केही फरक पारेको छैन
सिर्फ यी सबै प्रकृति त हुन्
एलिक मुनरो र एलिजा फ्रान्जेजको
नामले केही फरक परेको छैन
तर पनि आइ पुगेको छु
माया एन्जुलोको गाउँमा !!!
( २०१४ मार्च १-२ मा भएको अन्तराष्ट्रिय नेपाली नारी साहित्य सम्मेलन,न्यूयोर्कमा बाचन गरिएको कविता )
मनु लोहोरुङ राई
सितलपाटी -६,संखुवा सभा
हाल: अमेरिका