कबिता



कबि: हेमन यात्री
साभार : काब्य संग्रह "पहाड म सितै यात्रा गर्छ"

\\आमाको गीत//
असार खसिरहेको छ आकाशबाट
आमा मानेको पात ओढेर
गाईबस्तु चराईरहेछिन् आँखामा ।

मानेको पातमाथि कुदिरहेको छ अल्लारे झरी
आमा त्यहि अल्लारे झरीमा जोगिएर
सम्झिरहेछिन्-
तीन दशकअघि यस्तै एउटा झरीमा
मानेको पातले
कोखमा हुर्कदै गरेको छोरालाई
भिज्नबाट जोगाएको दिन।

तीन दशकपछि
अहिले कुन दु:खको झरीले लखेटिरहेको होला उसलाई?

आमालाई यति थाहा छ
अन्तिमपटक छोराले छोड्नुअघि
अँध्यारोमा आँगन घर छोडेको बाटो
र सातसय पचास हातमा राखिदिएको धमिलो याद।

झरीले-
छियाछ्या भएको छ मानेको पात
लफरक्क भिजेकी आमा
तल मिकलुक खोलाबाट
आकाश उक्लिरहेको कुहिरो हेर्दै
फत्फताईरहेछिन-

त्यो बज्जीया!
यहिं बारीडिलमा जन्मेको हो
त्यो जन्मनुअघि
मैले खाँदै आएको माटो पनि
यी! यहीं बारीको हो।

तीन दशकअघि
मैले खुवाएको माटाको कसम
सबै-सबै बिर्सेछ त्यसले।

आफू जन्मेको माटो नबिर्सिउन भनेर
हरेक सन्तान जन्मनुअघि
आमा पोल्टाभरि माटो बोकेर खाईरहेकी हुन्छिन।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com