कोशी किनारमा खसेको थियो अमृत I

धरान  चैत्र १२, 

बद्रीविशाल पोखरेल : चैत १७ गतेदेखि १ महिनासम्म कुम्भमेला चल्ने कुम्भमेला सनातन हिन्दु धार्मिक सम्प्रदायको ऐतिहासिक सर्वप्राचीन सांस्कृतिक वृहत्तर महोत्सव हो। यो मेला १२ वर्षमा पूर्ण र छ वर्षमा अद्र्ध भनेर भारतमा मनाउने पुरातन परम्परा छ तर ढिलै भए पनि कुम्भ मेलासम्बन्धी सर्वप्राचीन प्रामाणिक पक्ष नेपालमा नै रहेको अनुसन्धानबाट छर्लङ्ग भएको छ। 

जगत् गुरु बालसन्त मोहनशरण देवाचार्यज्यूले गरेको खोजअनुसार स्कन्ध पुराणमा देवदानव मिलेर समुद्र मन्थन गरे। समुद्र मन्थन गर्दा १२ वटा कुम्भ प्रकट भएका मध्ये ४ वटा कुम्भचाहिँ भारत भूमिमा स्थापित भएका र बाँकी ८ वटा लोकान्तरमा स्थापित भए भनिन्छ। यिनै लोकान्तरमा स्थापित ८ मध्ये पाँचौँ कुम्भ नेपालमा स्थापना भएको मानिन्छ। समुद्रमन्थन गर्दा प्राप्त अमृत कलश धन्वन्तरी स्वरुपमा भगवान् विष्णुले कलश लिएर निस्कनु भएको र त्यो कलशको अमृत पान गर्न दैत्यहरू लुछाचुडी गर्न लागे। बालसन्तको अध्ययनको निष्कर्ष अनुसार भगवान् विष्णुले दैत्यहरुका हातमा अमृत पर्दा सर्वनाश हुने ठानेर मोहिनीका रुप धारण गरेर भगवान्ले अमृत बाँड्ने क्रममा कलशको घाँटीमा बाक्लो भई जमेको तर निकालेर भुईँमा राखिदिनु भएको देखिन्छ। 

उक्त पिण्डबाट देवताहरूले शिवलिङ्ग बनाएर रुद्राक्षारण्यको बीच भागमा लगी पिण्डेश्वर महादेव नामकरण गरी धार्मिक स्थलको स्थापना गरे। यसलाई स्कन्ध पुराणमा उल्लेख निम्न श्लोकबाट समेत पुष्टि गर्ने प्रामाणिक पक्ष रहेको बालसन्तले उल्लेख गर्नुभएको छ। सुधा पिण्डिकृते यस्मात् पिण्डेश्वर इति स्मृतः अर्थात् अमृतको पिण्डबाट निर्मित सुप्रसिद्ध पिण्डेश्वर नै कुम्भमेला आयोजना गर्ने बलियो आधार देखिन्छ। नेपालको पुण्य र पवित्र तथा प्रख्यात रुद्राक्षारण्य हाल धरान नगरपालिका अन्तर्गत विजयपुरमा पर्दछ र यहाँ प्राचीन कालदेखि पिण्डेश्वर महादेव मन्दिर स्थापित छ। अमृतको थोपा मात्र खसेको शास्त्रीय प्रमाणका आधारमा भारतका नासिक, उज्जैन, प्रयाग र हरिद्वारमा लाग्ने कुम्भ मेलाहरूका तुलनामा अमृत कलश वा घडा माथि नै ढपक्क जमेको बाक्लो तरबाट स्थापित शिवलिङ्ग स्थापना भएको स्थान कुम्भ मेलाको सर्वाधिक प्राचीन तथा ऐतिहासिक महत्वपूर्ण धार्मिक सांस्कृतिक स्थल सिद्ध भएको देखिन्छ। 

अनुसन्धानबाट प्राप्त तथ्यमा आधारित रहेर कौशिकी तटस्थित बराह क्षेत्र चतरा धाममा २०५९ सालमा पूर्णकुम्भ मेलाको आयोजना गरियो। २०६३ सालमा अर्धकुम्भ मेलाको समेत आयोजना गरेको अनुभवका आधारमा २०७० साल चैत्र १७ गते तदनुसार २०१४ मार्च ३१ देखि २०७१ साल बैशाख १९ गते तदनुसार २०१४ मे २ सम्म दोस्रो पूर्ण कुम्भ मेलाको भव्य तयारी गरिएको मूल आयोजक समितिका सदस्य कवि प्रल्हाद पहरेदार बताउँछन्। कुम्भ मेलासम्बन्धी अरु अनुसन्धान गर्ने सिद्धबाबा श्री कृष्णदास महाराजले यससम्बन्धी विशेष तथ्य सत्य पक्ष उजागर गरेको मेलासम्बन्धी प्रचार सामग्रीबाट अवगत हुन्छ। राष्ट्रिय गहन चिन्तनका साथ नेपालको सर्वप्राचीन धार्मिक, सांस्कृतिक, योग तथा आयुर्वैदिक चिकित्सा पद्धतिका विषयमा जागरण अभियान प्रारम्भ गरिएको कृष्णदास महाराजले बताउनु भयो। यस क्षेत्रका तमाम सांस्कृतिक, धार्मिक, पर्यटनप्रेमी तथा राष्ट्रवादी जनसमुदाय विश्व सामु कुम्भमेलाका माध्यमबाट अझ चिनिने बताउँछन्। नेपालको धार्मिक सांस्कृतिक प्राचीनता सिद्ध गर्ने अनेक तथ्य छन्। 

सृष्टिको प्रारम्भमा जगत् जलामय थियो। यस अवस्थामा मानव सभ्यताको आरम्भ र विकास उच्च उन्नत हिमाली र शैलशिखरमा भएको देखिन्छ। सनातन वा हिन्दु धर्म अनुसार धार्मिक आस्थाका देवी देवता कैलाशमा शिव, हिमालयमा पार्वतीको प्रसङ्गले पुष्टि गर्दछ। सृष्टिको उषाकालमा संसारका मुलकहरू मध्ये नेपाल एक उच्च हिम र शैल श्रृङ्खलाश्रेणी भएको मुलुक हो। यही देश मानव र उसको संस्कृति निर्माणको एउटा मूल जग हो। यहीँबाट धर्म, धार्मिक कृत्य, कृति, कृतिकार, निर्मातृको उत्थान भएको मान्ने धेरै आधार रहेका देखिन्छन्। समयक्रममा भौगोलिक अनुकूलताले सम्म, फाँटिला र सुगम स्थानमा बसेर धर्म सम्बन्धी यावत् पक्षहरूको निर्माण, प्रबद्र्धन, परिष्कार तथा पुनरुत्पादन गर्न सजिलो भएको हुनुपर्छ। पानी जस्तै जीवन पनि सुगम स्थानमा सञ्चित, समाहित र सङ्ग्रृहित हुन्छ, त्यसैकारण उच्च हिमाली श्रृङ्खलाहरूबाट तराई र मधेसका वा भारतवर्षका स्थानमा धर्म र संस्कृति थुरिएको मान्ने आधार छन्। 

नेपाली स्रष्टाले उहिल्यै धार्मिक, सांस्कृतिक स्वत्वको पहिचान र पक्षपोषण गरेर सिर्जना गरेका थिए। बाँचुन्जेल पवित्र मान्ने अनि जीवनका आखिरी दिनमा नेपाली माटोलाई उपेक्षा गर्दै स्वर्गको खोजीमा वनारसमा आश्रय लिने प्रवृत्तिलाई भाषा साहित्यका शिरोमणि प्राज्ञ बालकृष्ण पोखरेलले धर्म कमाउन जाने बाबुसित गन्थन निबन्ध उहिल्यै लेखेका थिए। यसमा उच्च, उन्नत चेतनाको राष्ट्रिय राजनैतिक व्यक्तित्व र यस सम्बन्धी प्रभावशाली, क्रियाशील तथा सिर्जनशील व्यक्तित्वका अभावमा यथार्थ कार्यान्वयन हुन नसकेको हो। तर केही वर्ष अघिदेखि पूर्व मेचीदेखि महाकालीसम्म धार्मिक राष्ट्रवादका अनेकन कार्यात्मक उदाहरण छन्। तिनले यहाँका तीर्थस्थल अनेकन नेपाली तथा छिमेकी धार्मिक सांस्कृतिक श्रद्धालु जनहरूको आकर्षण बनेका छन्, धार्मिक सांस्कृतिक पर्यटनको सम्भावना पनि बढ्दै गएको देखिन्छ। 

राष्ट्रवादी चिन्तनलाई बहुआयामिक रूपमा उजागर गर्न सकियो भने देशको उत्थानमा विशेष अभिप्रेरणा उत्पन्न हुन्छ। यस विषयमा अन्य क्षेत्रमा भन्दा संस्कृतिको क्षेत्रमा बढी ध्यान दिनु उपयुक्त हुन्छ। दुवै गुरु महाराजको समन्वयात्मक कार्ययोजनामा कुम्भमेलाको गरिमा र गौरव बढ्नेछ। कुम्भमेलाका माध्यमबाट धार्मिक सांस्कृतिक पर्यटनको प्रबर्धनका साथै यस क्षेत्रको व्यापारिक तथा व्यावसायिक बृद्धिमा सघाउ पुग्ने देखिन्छ। कुम्भमेलामा एक महिनासम्म विविध धार्मिक, सांस्कृतिक, विद्वत् सभा, योगाभ्यास, महायोग साधना दीक्षा तथा शक्तिपातद्वारा कुण्डलिनी शक्ति जागरण शिविर, नेपाल भारतका सिद्ध महात्मा, मनीषी तथा विदूषीद्वारा विशिष्ट प्रवचन, आयुर्वैदिक पद्धतिबाट नाडी परीक्षण, वेदपुराणलगायत धार्मिक सांस्कृतिक पाठ, सन्ध्या आरती, अखण्ड भजनकीर्तन, नेपालमा पाइने जडीबुटीको प्रदर्शन र महिमा ज्ञान, रामनवमी विशेष महोत्सव, विभिन्न पूजा पाठ, वृहत् विद्वत् महासभा गरिने छ। 

यस अन्तर्गत वृहत् बालकवि गोष्ठी, ज्येष्ठ जननी तथा जनक नागरिक लोककविता गोष्ठी, बहुभाषी तथा हिन्दी कविता गोष्ठी, नेपाली साहित्यमा सांस्कृतिक प्रतिबिम्बन विषयक कार्यपत्र प्रस्तुति, धर्म महासभा र यस अन्तर्गत धार्मिक राष्ट्रवाद, मानवीय नैतिक उत्थानमा धर्मसंस्कृतिको भूमिका विषयक कार्यपत्र र विचारगोष्ठी आदि समारोहका साथ सम्पन्न हुने आयोजकले बताएका छन्। दैनिक एकलाखको उपस्थितिका लागि उपयुक्त तयारीमा यस क्षेत्रका धार्मिक श्रद्धालु जनहरू लागि परेका छन्। आबास,भोजन लगायत आवश्यक कार्यको तयारी तीव्रतासाथ भइरहेको छ। यस विषयमा विगतको रेग्मी सरकार सकारात्मक रहेको र अहिले सरकारले गहकिला आर्थिक लगायतको सहयोग गरेको छ। 

आम जनसमुदायको आर्थिक,नैतिक तथा भावनात्मक सहयोगमा मात्र यो पवित्र कार्य सफल हुने देखिन्छ। उक्त अवसरमा ६४ फिटको हनुमानको मूर्ति स्थापना गरिने जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठले जानकारी दिएको छ। सिद्ध महायोग ध्यान शिविरको प्रत्यक्ष अनुभव यस लेखकलाई पनि भएको छ। वास्तवमा यो ध्यान महायोगले मानिसको आन्तरिक स्वस्थता तथा सबलीकरणमा ठूलो प्रभाव पार्दोरहेछ। ध्यान गरेर बस्दाबस्दै शरीर आफैँ अचम्म र उदेकका साथ रुने, हाँस्ने, चिच्याउने, काम्ने, शरीरका विभिन्न भाग क्रमश विभिन्न रूपबाट स्वतस्फूर्त क्रियाशील हुने जस्ता गतिविधि हुँदा रहेछन्। 

आफूलाई थाहा हुने तर नियन्त्रण गर्दा नियन्त्रित हुने तर योग साधनापछि जिउ फूलजस्तो चङ्गा हुने तथा फूर्ति बढ्ने हुँदोरहेछ। तसर्थ यो राष्ट्रवादी चेतको, आत्मिक तथा भौतिक उत्थानसित सम्बन्धित पूर्णकुम्भ मेलामा देश र विदेशमा रहेका समस्त नेपालीले साथ सहयोग सक्रिय रूपमा गर्नु देशको भलो गर्नु हो। भारत लगायत कतिपय देशमा धर्म र संस्कृतिले त्यस सहरलाई आयआर्जन, रोजगारी दिएको देखिन्छ। भारतमा मात्र हामीले यसको प्रचार राम्ररी गर्न सक्यौँ र हामी पनि सक्रिय सहभागी भयौँ भने हाम्रो देश नेपाललाई सबल बनाउने काममा अरु सहयोग पुग्ने देखिन्छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com