काठमान्डू चैत्र ७,
प्रधानमन्त्री सुशील कोइरालासहित चार जना पूर्व प्रधानमन्त्रीहरु आज दिउँसो आमरण अनसनरत अधिकारी दम्पतीलाई भेट्न वीर अस्पताल पुगेका छन् ।
पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई संयुक्त रुपमा अस्पताल पुगेर अधिकारी दम्पतीलाई अनसन फिर्ता लिन आग्रह गरेका थिए ।
तर, नन्दप्रसाद अधिकारीले पूर्व प्रधानमन्त्रीद्वय दाहाल र भट्टराईलाई आफूहरुलाई यस्तो अवस्थामा पुर्याएपछि ‘के को दशा हेर्न आएको’ भन्दै प्रश्न गरेका थिए । ‘मेरो छोराको हत्याको जिम्मा लिन्छु भन्ने मान्छे मेरा अगाडि के गर्न आएको ?’ भन्दै उनले पूर्व प्रधानमन्त्री भट्टराईप्रति रोष प्रकट गरेका भेटमा संलग्न मानवअधिकारकर्मीले जानकारी दिएका छन् ।
पूर्व प्रधानमन्त्री देउवाले ‘म्याडमको अवस्था साह्रै दयनीय भएकाले कम्तिमा उनलाई भनेपनि खाना खान दिनुपर्यो’ भन्दा अधिकारीले ‘मेरी श्रीमतीका बारेमा निर्णय गर्ने तपाई को हो’ भन्दै प्रश्न गरेका थिए । पूर्व प्रधानमन्त्रीहरु पुग्नुभन्दा अगाडि पुगेका मानवअधिकारवादीहरुलाई पनि अधिकारीले आफूलाई पटक–पटक सरकारले झुक्याएकाले अब कसैको आश्वासनका भरमा अनसन नतोड्ने जवाफ दिएका थिए । NB: