लिटिल एन्जल स्कुलबाट एसएलसीसम्मको अध्ययन पूरा गरेकी प्रशंसा थापा विश्वभरिकै १ सय २० वैज्ञानिकमध्येबाट छानिएका १३ जनामा पर्न सफल भएकी छिन्। माई कम्युनिटी आवर अर्थ सर्भे हिमालयको ग्लोबल इनिसियटिभ कार्यक्रमअन्तर्गत गरिएको रिसर्चमा उनले उक्त स्थान सुरक्षित गरेकी हुन्।
२३ वर्षीया थापा वातावरणप्रति पहिलेदेखि नै सचेत थिइन्। त्यसैले नेपालको च्छोरोल्पा तालको शोध उनको चयनमा परेको हो। नेपालकी एक छोरीले नासामा प्रत्यक्ष रूपले आफ्नो रिसर्च प्रस्तुत गर्ने मौका पाउनु देशकै लागि गौरवको कुरा हो।
अहिले उनी आफूले दिने प्रस्तुति दमदार बनाउन प्रयासरत छिन्। यो कुराले निकै उत्साहित काठमाडौं युनिभर्सिटीबाट वातावरण संकायमा स्नातक प्रशंसा भन्छिन्, 'वातावरण परिवर्तन भन्ने कुरा तुरुन्तै भैहाल्ने होइन। यो लामो समयपछिको परिणाम हो। प्रकृतिले दिएको जुनसुकै उपहारलाई बढी प्रयोग गर्दा त्यसले विनाश निम्त्याउँछ। त्यसैले वैकल्पिक मार्ग पनि पहिल्याउनुपर्छ।' (नारी)