महिलाहरुको जिम्मेवारी र सामाजिक मनोबिज्ञान I

काठमान्डू पुष १३,

महिलाहरु शिक्षित हुन वा अशिक्षित , शहरीया हुन वा गाउले जुन सुकै परिवेस र परीस्थितीमा पनि प्राय आफ्नो क्षमताले भ्याउने र आफुले बहन गर्नु पर्ने जिम्मेवारी बाट पन्छिएको पाइदैन । तितो सत्य यही नै हो कि जुन ब्यक्ती जुन स्थानमा छ त्यो उसको आफ्नो क्षमता मा निर्भर रहन्छ । बिगतमा छोरा र छोरीमा गरिने लैंगिक बिभेदका कारण खुम्चियर बस्नु परेको तितो यथार्थ अहिलेका युवा महिलाहरुमा प्रतिबिम्बित भयको छ । 

शिक्षा आर्जन गर्न जतिले अवसर पाए उनिहरुले आफ्नो जिम्मेवारी र कार्य क्षमतालाई अलिक फराकिलो बनाउन सकेको र जसले अवसर बाट बन्चित हुनु पर्‍यो उनिहरुको कार्य क्षमता अलिक खुम्चिन पुगेको कटु यथार्थ बर्तमानमा देख्न र भोग्न पाइन्छ । महिलाहरु जहाँ जसरी खटेर आफ्नो कर्तब्य निभ्यारहेका छन हेर्दा सामन्य लागे पनि महसुस गर्नेलाई भने निकै महत्वपुर्ण छ । फरक यत्ती मात्र हो , जब जब महिला बिभेद र अन्यायको कुरा गरिन्छ हाम्रो पुर्बिय समाज 'यत्र पुज्यन्ते नारी तत्र रमन्ते देवता ' भन्ने सास्त्रोक्ती फलाकेर महिलाहरु माथी सम्मानको ढोङ रची अपमान गरिरहन्छ ।

कुनै पनि महिलाको पहिलो प्राथमिकतामा पर्ने जिम्मेवारी उसको आफ्नो घर परिवारको राम्रो ब्यबस्थापन हो । यदी आफ्नो घर परिवारको ब्यबस्थापन लथालिङ र भाताभुङ छ भने त्यो ब्यक्तीको बाहिरी क्षेत्रमा काम गर्न सक्ने मनस्थिती नै हुन सक्दैन । जव घर शान्त हुन्छ तव मात्र मन पनि शान्त रहन सक्छ , शान्त मनले गर्ने हरेक कार्यमा जिम्मेवारी बोध र कार्य सम्पादन पनि प्रभावकारी हुन सक्छ । पुरुषहरुले आफ्नो कार्य क्षेत्रमा खट्न पाउने समय र लगनशिलताका साथ भूमिका निर्वाह गर्न सक्नु पनि आफ्नो घर ब्यबस्थापनमा महिलाहरुले पुर्यायको महत्वपुर्ण सहयोग हो । तर महिलाहरुको हकमा भने आफु स्वयम नै खटनु पर्ने बाध्यता छ । 

घर ब्यबस्थापन बाट बचेको समय लाई नै महिलाहरुले आफ्नो प्रगती र उन्नतिको लागी समय मिलाउने गर्दछन जुन प्रयाप्त भने किमार्थ होईन । । हामी ब्यबहार मै देख्न अनि अनुभव गर्न सक्छौ कि कुनै पनि सार्वजनिक समारोह , भेटघाट जस्ता कार्यक्रम हरुमा पुरुषहरुको तुलनामा महिला सहभागिता कमै हुने गर्छ । त्यस्ता ठाउहरुमा महिलाहरु जान नचाहेको भने होईन । घर परिवार प्रतिको जिम्मेवारी र आफ्नो उपस्थिति बिना घरमा क्षणिक समयको लागी पनि सहज नहुने हुँदा घरमै बस्न बाध्य हुन्छन । जसमा उनिहरुको त्याग छ, समर्पण छ र जिम्मेवारी बोध छ ।

आफ्नो क्षमता अनुसार आफ्नो घर बाहिर खटिने महिलाहरु पनि त्यती नै आफ्नो काम प्रती समर्पित छ्न जती पुरुषहरु रहन्छ्न । एकातिर आफ्नो घर ब्यबस्थापनको जिम्मेवारी र अर्को तिर कार्यक्षेत्रको जिम्मेवारी दुबै तिर उत्तिकै खट्नु पर्दा पनि महिलाहरु आफ्नो ब्यस्तताको कुनै प्रवाह नगरी जुटेका छन । तर बिडम्वनाको कुरा घर भित्र र बाहिर हुने महिलाहरुको जिम्मेवारीको मुल्यांकन भने नेपाली समाजमा नगन्य नै भेटिन्छ । रात दिन आफ्ना रहर , खुशी र चाहना लाई तिलान्जली दिदै आफ्नो पारिवारिक र सामाजिक दायित्व बोध गर्दा गर्दै पनि हाम्रो समाजले तिनै महिलाहरुको महत्वपुर्ण भूमिकाको अबमुल्यन गर्दै महिलाहरु प्राय केहि गर्दैनन भन्ने झुटो आलोचना गरी उपहास गर्दछ ।

हाम्रो समाजमा जती समय महिलाहरु खट्ने गर्छन त्यसको तुलनामा पुरुषहरु कमै खटेका हुन्छन भन्नु अतियुक्ती नहोला । तर स्मरण रहोस प्राय जसो प्रत्येक घरमा महिला नै छिटो उठ्ने र ढिला सुत्ने गरेका हुन्छन । घरकै काम किन नहोस उनिहरुको लागी फुर्सद भने कमै हुन्छ । एकसरो तोकिएको कुनै काम गर्नु र निरन्तर झिना मसिना काम गरिरहनुमा धेरै फरक हुन्छ । साना कामले झन् धेरै झन्झट र दिक्क लाग्ने बनाउछन त्यो हामी सबैले महसुस गरेका छौ , जसमा धैर्यताका साथ महिलाहरुको नै सहभागिता हुने गर्छ । 

महिलाहरु सदाबहार कहिल्यै नसकिने आफ्नो घर परिवारको आफ्नो जिम्मेवारीमा के कहिल्यै थकान को मह्ससु गर्दैनन होला ? के अरु पनि आफ्नो जिम्मेवारीको हिस्सा बनोस भन्ने चाहाना राख्दैनन होला ? थोरै मात्रामा भए पनि आफुले निभाएको दायित्वको अरु बाट कदर गरी थप उर्जा मिल्ने खालको प्रशंशित ब्यबहार होस भन्ने चाहादैनन होला ? यस्तै खाले कुराहरुको सम्बोधन हुन् सक्यो भने महिलाहरुको पनि थप हौसला बढ्न सक्छ , जसबाट हुने फाइदाले नै समता मुलक समाजको निर्माण र अग्रगामी सामाजिक रुपान्तरण हुन सक्ने बलियो आधार निर्माण हुन्छ । अन्त्यमा , महिला बिनाको घर उजाड बस्ती जस्तै हुन्छ भनि आफ्ना शब्दहरुलाई लय मात्र दिनु भन्दा अब हाम्रो समाजले ब्यबहारमै महिलाहरुले निभाएका जिम्मेवारीको पनि उचित मुल्यांकन गर्न सके मात्र लोक कल्याणकारी राज्य निर्माण हुन सक्छ । 

लक्ष्मी ज्ञवाली 
काठमाण्डौ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com