तिम्रो हार भएको छैन : नारी !

पौष ९,

उषा थपलिया : हुन त हजुरआमा, आमाहरू अहिलेको तिम्रो जीवन एकदमै सुखी र आनन्दित रहेको ठहर गर्दै उतिबेला आफूले काटेका कहरको वर्णन गर्नुहुन्छ। सतही रूपबाट हेर्दा उहाँहरूको बुझाइ गलत नठहरिए पनि अहिलेको तिम्रो अवस्था राम्रोसँग विश्लेषण गर्ने हो भने उहाँहरूको ठम्याइ सत्यताभन्दा धेरै टाढा छ। 

उहाँहरूका पालामा कामका हिसाबले शारीरिक कष्ट धेरै थियो, भौतिक सुख-सुविधाका कुरा कल्पनामा पनि आउँदैनथे तर त्यतिबेला कुनै पनि आमाले आफूभित्र हुर्किरहेको भ्रूण स्त्रीलिंगी भएका आधारमा नाश गर्नुपर्ने दबाब एवं चोट खप्नुभएन, विवाह गर्दा प्रशस्त दाइजो नल्याएको आरोपमा जिउँदै जल्नुपर्ने अवस्था थिएन अनि अहिलेको जस्तो बाहिरी दुनियाँसँग पौंठेजोरी खेल्दै आर्थिक उपार्जनका साथै घरभित्रका सम्पूर्ण व्यवहारको दोहोरो-तेहेरो मार खेप्दा पनि दोस्रो दर्जाकै जिन्दगी स्वीकार गरिरहेको सत्यबोधको पीडाले आक्रान्त हुनुपर्ने थिएन। 

शिक्षा एवं चेतनाको अभावका कारण उहाँहरूले स्त्रीधर्मका रूपमा खुसीका साथ स्वीकार गर्नुभएका उतिबेलाका कतिपय कर्म पितृसत्तात्मक माखेसाङ्लाका उपज हुन् भन्ने कुरा बुझेर पनि तिमी चुपचाप अवलम्वन गर्न बाध्य छौ अझैसम्म। मान्छेको अस्तित्वधारणसँगै हुर्कने मानवीय गरिमा, स्वतन्त्रता र स्वाभिमानबाट तिमी सधै विमुख छ्यौ, त्यसैले मान्छेको स्वरूप ग्रहण गरेर पनि खास अर्थमा मान्छे भएर बाँच्न नपाएको छटपटीबाट तिमीले कहिल्यै उन्मुक्ति पाएकी छैनौ, तर पनि तिमी आमा, हजुरआमाका अगाडि आफ्नो जीवन भोगाइको आर्तनाद छर्नुभन्दा उहाँहरूको दाँजोमा आफू सुखी र भाग्यमानी भएसरह प्रस्तुत भइदिन्छ्यौ, के यो तिम्रो महानता होइन र ? तिमीप्रति आधुनिक समाजको अपेक्षा पनि गजवकै छ। 

चुरा र पाउजुको आवाजसँगै लतारिएको साडी र बिरालाको चालको सतर्कतामा घरभित्रको अभिभारा पूरा होस् भन्ने आकांक्षा अनि घोडाको वेगमा बाहिरी काम फत्ते गरोस् भन्ने चाहनाको उचित समायोजनको जिम्मा केवल तिमीमाथि नै थोपरिएको हुन्छ। बाहिरी कामका दौरान तिमीले बेहोर्ने हैरानी र तिम्रा बाध्यता बुझ्ने चेष्टा कसैको हँुदैन। त्यसैले एकाध घन्टा ढिला घर र्फकनुपर्दा तिम्रै प्रतीक्षा गर्दै चुलिएका कामका शृंखलाको सम्झनाले त्यसै पनि तिमी हतासिएकी हुन्छ्यौ नै, त्यसबाहेक ढिलो र्फकनुको स्पष्टीकरण समुदायदेखि घरसम्म प्रस्तुत गर्दा पनि तिम्रो यथार्थ अवस्था कसैले बुझ्दैन। त्यसैले तिमीले लाञ्छनाका वाणहरू सहने हिम्मत नजुटाई धरै पाउँदिनौ। 

गज्जव त के छ भने, बाहिरी रामरमितामा भुलेर नशाले लठि्ठदै मध्यरातमा घर छिरेर तिमीमाथि नै वितण्डा मच्चाउने तिम्रो पुरुषको ज्यादतीका विरुद्धमा न तिम्रो घरले न त समुदायले नै प्रश्न सोध्ने हिम्मत जुटाउँछ। सुसूचित हुन पाउने अधिकार तिम्रो पनि हो तर बिस्तरामा बसेर तिमीले नै तयार गरिदिएको चियाको चुस्की लिँदै रेडियो, टेलिभिजन, पत्रपत्रिका सबैमा तिम्रै पुरुषले नियन्त्रण जमाइरहँदा तिमी भने एकाबिहानैदेखि कुचो, डाडु, पन्यु, पोतो, मस्को आदिसँग अटुट नाता गाँसिरहेकी हुन्छ्यौ। कहिल्यै अन्त्य नहुने लुसे धन्दाभित्र आफूले पढेका अक्षरहरू नियाल्छ्यौ अनि सन्तानप्रतिको कर्तव्य र ठूलाबडाको मानमनितोभित्रै रुमलिएर पनि बाहिरी दुनियाँका हरेक प्रतिस्पर्धामा तिमीले कुनै पुरुषभन्दा पछाडि हुनबाट आफूलाई जोगाएकै हुन्छ्यौ। के यो तिम्रो विलक्षण प्रतिभाको परिचायक होइन र ? शारीरिक रूपबाट पनि तिमी उत्तिकै सशक्त छ्यौ। 

सामान्य रुघाखोकीले नै तिम्रा पुरुष सिकिस्त बिरामी भएर ओछ्यान पर्छन्। हरेक चटारो सहेर खानपान, स्याहारसुसार, औषधिसहित सान्त्वनाले थप्थपाउन तिमी उनको बिस्तरामा पुग्नैपर्छ तर यसको विपरीत असाध्यै बिरामीको अवस्थामा पनि तिमी उत्तिकै कर्मशील हुन्छ्यौ, तिमीले सम्हाल्ने तिम्रा हातका औजारहरू बिरामी परेको कारणले अन्यत्र सरेको बिरलै देख्न सकिन्छ। तिमीलाई कहिल्यै थकाइ पनि लाग्दैन, जतिसुकै कठिन विसञ्चोलाई पनि पैतालामुनि दबाएर अरूकै खुसीका लागि हरबखत सक्रिय रहन सकिरहेकै हुन्छ्यौ तिमी। तिमीमा बेग्लै खाले शारीरिक सामथ्र्य र शक्ति नभैदिएको भए के यो सम्भव थियो र ? हरेक दिन आफ्नो व्यक्तित्व झल्काउन जब तिम्रा स्वामी दार्‍हीजुँगा काटछाँट गर्न थाल्छन् त्यतिबेला उनले सहनुपरेको झिन्झ्याहटको बाछिटा तिमीले थाप्नै परेको हुन्छ। 

'तिमीहरूलाई के गार्‍हो छ र ? हरेक दिन हामीले जस्तै दार्‍हीजुँगा मिलाउनु/काट्नुको झन्झट सहनुपरेको भए यी आईमाईहरू के गर्थे होलान् ?' भन्ने उनीहरूको घोचपेचप्रति कुनै आपत्ति नभएसरह हाँसेर टारिदिन्छ्यौ तिमी। तिमी किशोरावस्थादेखि हरेक महिना भोग्नुपर्ने महिनावारीको कष्ट, त्यसमाथि खेप्नुपर्ने अछुतो व्यवहार, नौ महिने गर्भावस्थाको असजिलोपन, गर्भको सन्तानलाई धरतीमा अवतरण गराउँदाको पीडा र जोखिमलगायत महिला भएकै कारणले निर्वाह गर्नुपर्ने यी र यस्ता विविध चुनौतीपूर्ण अवस्थाको फेहरिस्त लगाएर उनीसँग वादविवादमा कहिल्यै उत्रन्नौ। के यो तिम्रो सहनशीलताको पराकाष्ठा होइन र ? सबैको अनुहारमा खुसी र आनन्द भर्न तिमीले गर्ने प्रयत्न वर्णन गर्न सकिने तहभन्दा निकै माथि छ। आफ्ना रहर, स्वतन्त्रता र लक्ष्य साँघुरो बनाउँदा-बनाउँदा अन्ततोगत्वा तिमीले आफ्नो जिन्दगीको एक मात्र ध्येय अरुकै खुसीमा रम्नुलाई बनाएकी हुन्छ्यौ तर तिम्रो त्यत्रो फराकिलो व्यवहारको बदला साँघुरो प्रशंसा पाउने अन्तरमनको अभिलाशा पनि कहिल्यै पूरा हुँदैन। 

तिमी नारी हौ, त्यसैले माया-ममता, सम्मान पाउने तिम्रो हक होइन, तिमीले त्यति कुरा अरूलाई खन्याउन मात्र जान्नुपर्छ र गरिरहेकी पनि त्यही हुन्छ्यौ तर तिम्रो त्याग, अथक प्रयत्न र योगदानको जस तिमीले कहिल्यै पाउँदिनौ। यसका विपरीत बिगि्रए-भत्किए जति सबै कुराको अपजसको मुस्लो तिमीतिर नै सोझिएको हुन्छ। हुँदा-हुँदा तिमीमा निर्भर नै नरहेको कतिपय कर्मको दोषबाट पनि तिमी उत्तिकै प्रताडित भएकै हुन्छ्यौ। तिम्रै श्रीमान् र परिवार छोरा पाउन नसकेको रोष तिमीमाथि थोपर्छन्, जसका कारण तिमीले खेप्ने दैनन्दिनको प्रताडना शब्दद्वारा सायदै व्यक्त हुनसक्ला। अझ यसैका कारण एक महिलाका लागि अति नै अप्रिय र नरुचाइएको नाता (सौता) लाई पनि चुपचाप स्वीकार गर्न बाध्य बनाइन्छ तैपनि आफूप्रति कुनै अन्याय नै नभएसरह पतिदेवकै चाहनालाई सर्वस्व मान्ने तिम्रो जस्तै उदार मनको एक अंश मात्रै पनि के तिम्रो पतिदेवमा कल्पना गर्न सकिएला त ? 

नारी ! तिमीमा विचित्रको खुवी छ, जहाँ तिम्रो आत्मसम्मानको ख्याल हुन्छ, त्यहाँ तिमी स्वर्गीय आनन्दको बहार भित्र्याइदिन्छ्यौ। अरूबाट जति भावनात्मक माया र ममता पाउँछ्यौ उनीहरूका लागि मैनझैं आफै पग्लिएर उज्यालो छर्न तिमीमा कुनै पनि हिच्किचाहट हुँदैन। यसबाहेक प्रतिकूल स्थितिमा समेत तिमीले धैर्य गुमाएकी हुन्नौ, आफूले ढुंगाको चोट खपेर पनि अरूलाई फूल बर्साएर मन जित्ने तिम्रो प्रयास अनवरत चलिरहन्छ। नारीमा भएको कोमल मन र मायालु शील-स्वभाव खन्याएर पारिवारिक वातावरणलाई उल्लास र रोमाञ्चक बनाउन तिमीले कुनै कसर बाँकी राखेकी हुन्नौ तर तिम्रो सहनशीलता र कर्तव्यपरायणतालाई बेवास्ता गर्दै जब तिमीमाथि हदैसम्मको प्रहार हुन्छ, सहनसक्ने तिम्रा सबै सीमा समाप्त हुन्छन्, त्यसपछि तिमी आफ्नो अस्तित्वरक्षाका लागि निडर भएर उभिने र बोल्ने तहमा नआई सुखै पाउँदिनौ तर पितृसत्ताको कट्टर उपासकका लागि तिम्रो त्यो रूप सह्य हुँदैन। 

त्यसैले तिमी पैतालाको धूलोसरह टक्टकिन्छ्यौ वा भनौं 'खुट्टा भए जुत्ता हजार' भन्ने उक्तिसरह फ्याँकिन्छ्यौ। कोमल भावमा मात्र प्रस्तुत हुन जानेकी तिमीलाई जस्तोसुकै कठिन परिस्थितिको सामना गर्नका लागि तिमीभित्रै रहेको सुषुप्त आत्मबल त्यतिबेला तिमीसँगै जागिसकेको हुन्छ अनि कठोर भन्दा कठोर यात्राका लागि एक्लै पाइला अघि बढाउने हिम्मत पनि तिमी सजिलै जुटाउन सक्छ्यौ, तर विडम्वना ! तिम्रो अस्तित्वलाई झुम्राको पुतली वा खुट्टाको जुत्तासरह आँकेर तिमीलाई घृणा र परित्यक्त गर्ने तिम्रो पुरुष भने अर्की नारीको साथबिना एक पाइला पनि अघि बढ्ने साहस जुटाउन सक्दैन। 

तिमीले उनलाई यति परनिर्भर बनाइदिएकी हुन्छ्यौ कि जतिन्जेल ती नारीबिना रहन्छन् त्यतिबेलासम्म अधमरो बाँचेका हुन्छन्, पुरुषत्व प्रदर्शनका लागि बाहिर हाँसे पनि भित्र भने रुँदारुँदै थाकेका हुन्छन्। 
त्यसैले पूर्णरूपमा बाँचेको अनुभूतिका लागि पनि अर्की नारीको साथ उनलाई अपरिहार्य बन्नपुग्छ। त्यतिबेला तिम्रो पुरुषको मानसिकतामा तिमीलाई हराएर आफूले विजयश्री हासिल गरेको दम्भ पलाउन सक्छ तर यथार्थमा हार उनैले स्वीकार गरिरहेका हुन्छन् किनभने फेरि तिनलाई नारी, केवल नारी नै चाहिन्छ। त्यो नारी तिमी नै हुनु वा अरु कोही हुनुमा तात्विक भिन्नता के हुन्छ र पुरुषका लागि ? आफ्नो जिन्दगीको पूर्णताका लागि आखिर नारीकै अस्तित्व स्वीकार नगरी धर नपाउने अवस्थामा तिमीले उनलाई पुर्‍याइदिएकी हुन्छ्यौ। 

अझ अचम्म के भने नारी भन्नेबित्तिकै रोष र द्वेषरूपी विष वमन गर्ने पुरुषलाई सबैभन्दा धेरै उनै नारीको साथ एवं भरोसा चाहिन्छ। त्यसैले सदियौंदेखि 'हारेको कर्म' भनेर तिमीमाथि सहानुभूतिको जलप लिप्ने हिसाबको व्याख्या-विश्लेषण हुँदै आए पनि नारी ! यथार्थमा तिमीले जिन्दगीको कुनै मोडमा पनि हारेकी छैनौ। अनुकूल वा प्रतिकूल जस्तोसुकै परिस्थितिमा पनि तिमी भित्र रहेको शक्तिले तिमीलाई हार्नबाट सधै बचाइरहेकै छ, बचाइरहनेछ।  (नारीबाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com