काठमाडौ, पुस ९ ,
कुनै बेला सफलताले वाहवाही कमाएको कलाकार एकाएक फ्लपका फ्लप फिल्म दिन थाल्यो भने हालत के होला ? चकलेटी हिरोको रूपमा बलिउड छिरेका शाहिद कपुरलाई त्यस्तै भयो, 'कमिने' पछि । सन् २००९ को उक्त फिल्म चलेपछि उनले आफ्ना फिल्मबाट निर्माताका गोजी कहिल्यै भर्न सकेनन् ।
अभिनयमा अब्बल रहँदारहँदै पनि उनलाई आफ्नै करिअरको संकट आइपर्यो पछिल्ला दिन । झन् बढी नै अपेक्षा गरिएको 'मौसम' पनि नचलेपछि उनका फ्यान पनि निराश बने । न त निर्देशक राजकुमार सन्तोषीले नै 'फटा पोस्टर निकला हिरो' भनेर सन्तोष लिन पाए । झन्डै अनलक्की हिरोको ट्याग लाग्न ठिक्क शाहिदको करिअरमा 'आर राजकुमार' फिल्म सञ्जीवनी बुटी बनेर आएको यतिबेला खुद उनैले मानेका छन् ।
अहिले उनले पछिल्लो फिल्मको सफलताले राहत मिलेको बताएका छन् ।
''आर राजकुमार' को सफलताले मलाई एकदमै राहत दिएको छ । दर्शकको प्रतिक्रियाले उत्साह थपेको छ । यो क्षण म अत्यन्तै खुसी छु,' खुसी हुनुपर्ने कारण अर्को पनि भएको छ । डेब्यु फिल्म 'इश्क विश्क' बाट चकलेटी लभरब्वाईका रूपमा सम्भावना देखाएका शाहिदले 'आर राजकुमार' को सफलतापछि एक्सन नायकमा पनि आफू जबरदस्त रहेको प्रमाणित गरिदिए । यतिबेला शाहिद र उनका फ्यान मात्रै होइन, पिता पंकज पनि पुत्रको भविष्य धराप हुन जोगिएकोमा खुसी देखिएका छन् ।
शाहिदले पिताले आफ्नो फिल्मसमेत रुचाएको प्रतिक्रिया दिँदै भने, 'उहाँले अझै अलगअलग खालको भूमिकावाला फिल्म खेल्न टिप्स दिनुभएको छ ।' त्यसो त शाहिद यस्ता नायक पनि हुन् जसको सोनाम कपुरसँगको मेगा प्रोजेक्ट 'मौसम' फ्लप भएपछि डेढ दर्जन नयाँ फिल्ममा कामका लागि अफर पाएका थिए । आखिर फिल्म फ्लप भए पनि उनी फुर्सदिला भने भएनन् ।
बरु प्रेमिका करिना कपुरले सम्बन्धमा ब्रेक मारेपछि उनले करिअरमै असर आउने गरी केही समय विचलित जीवन बिताएका थिए । यतिबेला शाहिद विशाल भारद्वाज निर्देशित, निर्मित फिल्म 'हैदर' मा व्यस्त छन् । अब राहत मिलेको करिअरलाई नयाँ फिल्मले थप उचाइ दिनेमा उनी आशावादी देखिए ।